काठमाडौँ, पुस २२ गते । छैटौँ तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता सोमबारदेखि ललितपुरमा सुरु हुँदैछ । नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव स्वर्गीय तुल्सिलाल अमात्यको स्मृतिमा ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासङ्घले संयुक्त रूपमा योजना गरेको प्रतियोगिता च्यासल स्थित तुल्सिलाल प्रतिष्ठान हलमा पुस २८ गतेसम्म चल्नेछ ।
लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेता टिमले २ लाख, उपविजेताले एक लाख २० हजार, तेस्रो स्थान प्राप्त गर्ने टिमले ६० हजार र चौथो हुने टिमले ४० हजार रुपियाँ पुरस्कार पाउनेछन् ।
यस्तै प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरूलाई जनही १०/१० हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका संयोजक राजु ताम्राकारले जानकारी दिनुभयो । प्रतियोगिताको कूल पुरस्कार राशि ४ लाख ७० हजार रुपियाँ रहेको छ ।
विगतभन्दा फरक शैलीमा खेलाइने प्रतियोगिताका प्रत्येक टिममा वैकल्पिक सहित ५ जना खेलाडीको सहभागिता रहनेछ । जस अनुसार प्रतियोगिता संरचनामा खेलाडीलाई ए, बी, सी र डी गरी चार समूहमा वर्गीकरण गरिएको छ ।
समूह ए मा टाइटल प्राप्त खेलाडी, पूर्व नेपाल च्याम्पियन, राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट दश स्थान प्राप्त खेलाडी तथा १९०० रेटिङ माथिका खेलाडी रहने छन् । समूह बी मा १९०० रेटिङ मुनिका खेलाडी, समूह सी मा यु–२० र मूह डी मा यु–१६ वा महिला खेलाडी रहने छन् । वैकल्पिक खेलाडीमा जुन समूहको खेलाडी हो त्यही ठाउँमा प्रतिस्पर्धा गर्न पाउने छन्।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन थापाथली चेस पार्क क्लब, ललितपुर स्पोर्ट्स क्लब, गोल्डेन गेट क्लब, लुम्बिनी इभेन्ट मेनेज्मेन्ट टिम, सुदूरपश्चिम खेलकुद विकास परिषद्, दोलखा चेस होम, दोलखा बुद्धिचाल सङ्घ, गण्डकी प्रदेश बुद्धिचाल सङ्घ, कास्की जिल्ला बुद्धिचाल सङ्घ, ललितपुर महानगरपालिका , गोदावरी नगरपालिका, पुल्चोक क्याम्पस, ललितपुर जिल्ला बुद्धिचाल सङ्घ गरी २० टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले गर्नु हुनेछ । फाइनल चरणपछि पुरस्कार वितरण प्रमुख प्रतिपक्ष दलका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गर्नुहुनेछ ।