• १२ मंसिर २०८१, बुधबार

खेल मैदानमा मेला-महोत्सव नगर्न आग्रह

blog

अर्जुन काफ्ले

स्याङ्जा, पुस २२ गते । प्रदेश खेलकुद परिषद् गण्डकीले वालिङ नगरपालिका खेल मैदानमा कुनै पनि मेला-महोत्सव नगर्न आग्रह गरेको छ । वालिङ उद्योग वाणिज्य सङ्घले आगामी माघ १८ देखि २८ गतेसम्म वालिङ खेल मैदानमा महोत्सव आयोजना गर्ने घोषणासँगै परिषद् गण्डकीले जिल्ला प्रशासन कार्यालय स्याङ्जा र वालिङ नगरपालिकालाई ध्यनाकषर्ण पत्र पठाएको हो । 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत महिला फुटबल आयोजना गरिएको खेल मैदानमा राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, वालिङ नगर पालिका र स्याङ्जाका विभिन्न पालिकाहरूको सहयोगमा करिब एक करोड रुपियाँ खर्च गरेर दुबो रोप्ने र मैदान बनाउने काम गरिएको थियो । 

परिषद्का सदस्य सचिव श्रीधर शर्माद्वारा हस्ताक्षरित पत्रमा प्रदेश खेलकुद विकास ऐन २०७७ को दफा ९ (ज) र प्रदेश खेलकुद विकास नियमावली २०७८ को नियम १२ (च) बमोजिम पूर्वाधारको निर्माण, व्यवस्थापन तथा मर्मत गर्ने गराउने काम, कर्तव्य र अधिकार क्रमशः यस परिषद् तथा जिल्ला खेलकुद विकास समितिलाई तोकेको हुनाले महोत्सवका कारण खेल मैदानमा हुन सक्ने क्षति तथा  मर्मत सम्भारको यकिन र जिल्ला खेलकुद विकास समितिको अनुमति नहुँदासम्म मेला-महोत्सवको अनुमति नदिन र सार्वजनिक सम्पतिको संरक्षणका लागि अनुरोध गर्नु भएको छ । 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नै खेल मैदान मर्मत सम्भार गर्दा दुवो बापतको १२ लाख रुपियाँ व्यवसायीहरूले अझै सम्म पाउन सकेका छैनन् भने आवास तथा साउण्ड सिस्टम गरी करिब चार लाख ५० हजार रुपियाँ  व्यवसायीले पाएका छैनन् । 

गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारले खेल मैदानमा प्याराफिट निर्माणका लागि संयुक्त रूपमा २५ लाख खर्च गरेको थियो । मेला-महोत्सव र सभाका लागि वालिङ नगरपालिका भित्र पर्ने अन्य मैदान खोज्नु पर्ने र सरकारी बजेटको दुरुपयोग गर्न नहुने भन्दै स्थानीयले विरोध समेत गरेका छन् ।