• १२ मंसिर २०८१, बुधबार

सशस्त्र प्रहरी बलकाे 'त्रिपुरा गण' भवन उद्धाटन

blog

जुम्लामा नं ३३ सशस्त्र प्रहरी त्रिपुरा गणको नयाँ कार्यालय भवन उद्घाटन । तस्बिर : नेत्र शाही जुम्ला

नेत्र शाही 

जुम्ला, पुस २२ गते । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जुम्लामाको ३३ नं त्रिपुरा गण कार्यालय भवन उद्घाटन गर्नुभएको छ । उहाँले एक कार्यक्रमका बिच जुम्लाको तातोपानी गाउँपालिका ५ स्थित लाम्रामा नवनिर्मित कार्यालय भवन, गणपति निवास, क्वाटर गार्ड, बिल्लादार जवान ब्यारेक उद्घाटन गर्नुभएको हो । 

सशस्त्र प्रहरी ३३ नम्बर गणका नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरीलाई बढ्दो परिवर्तित सुरक्षा चुनौतिको सामाधान गर्ने हिसाबले तयारी भई लाग्न निर्देशन दिनुभयो । उहाँले आफ्नो कार्यकालमा कर्णालीको जुम्लामा नं ३३ गणको उद्घाटन गर्न पाउँदा भाग्मानी र खुशी भएको बताउँदै यस गणको स्रोत साधन भरिपूर्ण गर्न हेडक्वाटर लागि पर्ने बताउनुभयो । ३३ नम्बर गणलाई सिञ्जा सभ्यता र संस्कृति जोगाउने प्रकारका क्रियाकलाप गर्ने हिसाबले पनि कार्ययोजना बनाएर विकास गरिने समेत प्रतिबद्धता जनाउनुभयो । 

उहाँले आफू पूर्व समयमा यस गणको निरीक्षण गर्न आउँदा यसरी निर्माण होला भन्ने कल्पना नगरेको समयमा अहिले भौतिक संरचना निर्माण गरेर पाहुनाको रुपमा अन्य स्थानमा रहेको गणको स्थानान्तरण गर्न सफल भएकोमा जुम्लाको शशस्त्र प्रहरीको सकल दर्जाको सम्पूर्ण टिम सहित, जग्गादाता, स्थानीय सरकार र सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले जग्गादातालाई विशेष धन्यवाद दिंदै उहाँहरुको लगानीको सदुपयोग गर्न गणलाई निर्देशन गर्नुभयो । 

नवनिर्मित भवन तथा संरचना उद्घाटन कार्यक्रममा नं ३३ गण जुम्लाका गणपति चेतराज जोशीले भवन निर्माणको प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार २०७९ माघ ७ गते गणपतिको जिम्मा पाएपछि १६ कित्ता स्थानीयबाट २० हजार ४५ जग्गा प्राप्त भएपछि २०७९/०७/२७ गते प्रकाशित सूचना अनुसार  निर्माण व्यवसायी हरिओम बज्रजेभी स्वयम्भू काठमाडौंसँग ०७९ माघ १७ गते सम्झौता भएको थियो । सो निर्माण कम्पनी सँग रु ४ करोड ५२ लाख ३८ हजार १३९ रुपियाँ ८७ पैसा बजेट सम्झौता भएकोमा २०७९/११/२५ मा शिलान्यास भएको र ०८० असोज २५ गते निर्माणाधीन संरचनाहरु हस्तान्तरण भएको छ । गणपति जोशीका अनुसार हाल रु. एक करोड ११ लाख ५८ हजार २९३ रुपियाँ निर्माण व्यवसायीलाई दिन बाँकी छ। 

स्थानीय तहबाट पनि साझेदारी  

नयाँ निर्माण भइरहेको गणको निर्माणमा स्थानीय तहको पनि विभिन्न काममा साझेदारी भएको पाइएको छ । जिल्लाको तातोपानी गाउँपालिकाले रु. ४२ लाखको लगानीमा १.७ किमी सड्कको नाला निर्माण सम्पन्न भएको गणले जानकारी दिएको छ । यसका साथै अहिले थप बाटोका लागि रु. ४२ लाख बजेट कर्णाली प्रदेशले बजेट विनियोजन भई ठेक्का लागेको छ । 

कार्यालय परिसरमा राष्ट्रिय ग्रिड विद्युत थ्रिपेस लाइन जोडिएको छ । चन्दननाथ नगरपालिका रु. ५ लाख, तातोपानी गाउँपालिकाबाट रु. ५ लाख, तिला गाउँपालिकाबाट रु. ५ लाख, पातारासी गाउँपालिकाबाट रु. २ लाख ५० हजार, सिँजा गाउँपालिकाबाट रु. २ लाख सहयोग भई गणको ट्रष्ट व्यारेक र ट्रष्टमेस निर्माण गरिएको गणपति जोशीले जानकारी दिनुभयो । प्रतिवेदन अनुसार अन्य कार्यालय, स्थानीय व्यापारी र सहयोगी निकायबाट विभिन्न काम गरिएको छ । उक्त गणको परिसरमा अहिले एक हजार ६४५ स्याउ, ओखर, धुपीका विरुवा रोपिएको गणले जनाएको छ।  

कार्यालय तथा भवन उद्घाटन कार्यक्रममा सहभागी सशस्त्र प्रहरी कर्णालीका डिआईजी प्रदीपकुमार पालले कर्णालीको जुम्लामा गणको नयाँ कार्यालय स्थापना गर्न सफल भएकोमा सशस्त्र प्रहरी परिवारसहित जुम्लावासीलाई धन्यवाद ज्ञापन गर्नुभयो । 

गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्रीय उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले जुम्लामा सशस्त्र प्रहरीको आफ्नै संरचना निर्माण गर्न खटिने सम्पूर्णलाई धन्यवाद दिनुभयो । उहाँले नेपाली भाषाको उद्गमस्थल सिञ्जा क्षेत्रमा पनि सुरक्षा र विपत व्यवस्थापनका लागि सशस्त्र प्रहरीको बेसक्याम्प आवश्यक रहेको भन्दै स्थापनाका लागि सशस्त्र प्रहरी महानिरीक्षकलाई अनुरोध गर्नुभयो । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले गणको नयाँ कार्यालय र संरचनाका लागि निरन्तर सहकार्य गरी काम सम्पन्न गर्ने निकायलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले अझ आधा प्रतिशत संरचना र अन्य काम बाँकी रहेकाले सशस्त्र प्रहरी हेडक्वाटर र नेपाल सरकारलाई अनुरोध गर्नुभयो । 

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले सशस्त्र प्रहरीको स्थायी संरचना तयार भएपछि शान्ति सुरक्षा थप मजबुत हुने बताउनुभयो । कार्यालय उद्घाटन कार्यक्रममा जग्गादाता र सहयोगी निकायलाई सम्मान गरिएको छ ।