• ११ मंसिर २०८१, मङ्गलबार

सक्षम र योग्य पात्रको प्रवेश

blog

राष्ट्रिय सभा सदस्यको निर्वाचन संवत् २०८० साल माघ ११ गते हुँदै छ । नयाँ संविधान जारी भएपछि २०७४ सालमा राष्ट्रिय सभाको प्रथम पटक छ वर्षे कार्यकालका लागि निर्वाचित भएका कोशी प्रदेशमा महिला एक र अन्य समूहबाट एक गरी दुई जना, मधेश प्रदेशमा महिला एक र अन्य एक गरी दुई जना निर्वाचित भए । बागमती प्रदेशमा महिला एक, दलित समुदायबाट एक सदस्य, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक र अन्य समूहबाट एक गरी चार जना विजयी भएका थिए । गण्डकी प्रदेशमा महिला एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक र अन्य समूहबाट एक गरी तीन जनाले जितेका थिए । लुम्बिनी प्रदेशबाट महिला एक र अन्य एक गरी दुई जना, कर्णाली प्रदेशबाट महिला एक, दलित एक र अन्य एक गरी तीन जना निर्वाचित भएका थिए । सुदूरपश्चिम प्रदेशमा महिला एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक र अन्य समूहबाट एकसहित तीन जना गरी जम्मा सङ्ख्या महिला समूह सात, दलित समुदायबाट दुई, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट तीन, अन्य समूह अर्थात् खुलाबाट सात गरी जम्मा १९ सदस्य निर्वाचित भएका थिए । ती १९ पद रिक्त भएकाले त्यसको पूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो । 

राष्ट्रिय सभाको सदस्य पदमा १९ जना जनप्रतिनिधिलाई प्रदेश सभा सदस्य ५४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुख १४९८ जना गरी जम्मा २०४७ जना मतदाताले निर्वाचित गरी पठाउने छन् । एक जना सदस्य राष्ट्रपतिबाट मनोनित हुने छन् । त्यसै गरी प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाअध्यक्ष तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम गरिएको छ ।

निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी गरी १२ वटा दल दर्ता भएका छन् । आयोगले दलहरूलाई निर्वाचन चिह्नसमेत प्रदान गरिसकिएको अवस्था छ । साथै उम्मेदवारको मनोनयन दर्ता पुस २३ गते भई उम्मेदवारको अन्तिम नामावली प्रकाशन पुस २७ गते हुँदै छ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा राजनीतिक दलको तर्फबाट र स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्दै उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिने गर्छन् । मतदाता सार्वजनिक पदमा रहेका निश्चित व्यक्ति हुने भएको हुँदा स्वतन्त्र उम्मेदवार उठ्ने अभ्यास कम रहेको हुन्छ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले गोप्य मतदान प्रक्रियाद्वारा प्रत्येक प्रदेशबाट महिला समूह, दलित समुदाय, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय वा अन्य समूहबाट प्रतिनिधित्व गर्ने सदस्यका लागि दिइने एक मतको आधारमा सबैभन्दा बढी मत ल्याउने सदस्य निर्वाचित हुन्छन् । अर्थात् पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अपनाइन्छ  ।

जनप्रतिनिधि योग्य सक्षम र निष्ठावान् भएको हुनु पर्छ । निर्वाचित जनप्रतिनिधि सार्वजनिक पद धारण गरेका सार्वजनिक पदाधिकारी हुन्छन् । सार्वजनिक पद धारण गरेका व्यक्तिको हकमा गोपनीयता हकको प्रयोग एवं उपभोगमा केही फरक हुन सक्छ । सार्वजनिक पदवाहक व्यक्तिको गोपनीयता कायम गर्नुपर्ने सूची अन्य व्यक्तिको भन्दा साँघुरो हुन्छ । सार्वजनिक पदाधिकारीले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने हुन्छ र पारदर्शी हुनु पर्छ । त्यसै गरी निजहरूको चरित्र पनि सार्वजनिक हुने गर्छ किनकि निजहरू चरित्रवान्, नैतिकवान् र इमानदार तथा रोलमोडल हुनु पर्छ भन्ने मान्यता रहेको हुन्छ । सार्वजनिक पदाधिकारीको आम्दानीको स्रोत के हो र उनीहरूको आम्दानीको तुलनामा खर्चको अवस्था कस्तो छ, जीवनशैली कस्तो छ भन्ने कुरामा समाजले सरोकार राख्छ  । यसर्थ जनप्रतिनिधि हुन खोज्ने व्यक्ति पारदर्शी हुनै पर्छ । राजनीतिक दलले कस्तो योग्यता, क्षमता भएको व्यक्तिलाई उम्मेदवारमा छनोट गर्ने भन्ने कुरा सम्बन्धित दलको निर्णयमा भर पर्छ भने कस्तो योग्यता, क्षमता भएको उम्मेदवारलाई मतदान गरी निर्वाचित गराउने भन्ने मतदाताको विवेकमा निर्भर रहन्छ । निर्वाचनमा मतदाताले जस्तो उम्मेदवारलाई मतदान गरी निर्वाचित गर्छौं त्यस्तै शासन पाउँछौँ । असल उम्मेदवार छनोट गरे असल शासन पाइन्छ भने खराब उम्मेदवार छनोट गरे खराब शासन पाइन्छ । तसर्थ मतदाताले पछि पछुताउनुभन्दा समयमै उचित र विवेकसम्मत निर्णय गर्नु आवश्यक हुन्छ । 

लोकतन्त्रमा निर्वाचनको माध्यमबाट जनताका प्रतिनिधि चुनिन्छन् र जनताको नाममा जनप्रतिनिधिले शासन प्रक्रियामा सहभागी भई सेवा प्रवाह तथा समृद्धिका लागि कार्य गर्ने मान्यता छ । मुलुकको शासन सञ्चालन गर्ने जनप्रतिनिधि इमानदार, सक्षम, निष्ठावान्, सेवाको भावना, दूरदृष्टि, न्याय दिन सक्ने तथा विवेक भएका, स्वार्थरहित भावना भएका उद्देश्यवान् र प्रतिबद्ध हुनु पर्छ । त्यस प्रकृतिका गुण भएका व्यक्तिलाई राजनीतिक दलले उम्मेदवार बनाउनु पर्छ । त्यस किसिमका गुण भएका व्यक्तिलाई मतदाताले पनि विवेक प्रयोग गरी छनोट गर्नु पर्छ । जनताका प्रतिनिधि एवं उम्मेदवार र नेतृत्वकर्तामा महìवपूर्ण योग्यता एवं गुण हुनु पर्छ । 

नेपालको संविधान तथा प्रचलित निर्वाचनसम्बन्धी कानुनले कस्तो व्यक्ति उम्मेदवार हुन पाउने र कस्तो व्यक्ति उम्मेदवार हुन नपाउने भनी योग्यता र अयोग्यताको सम्बन्धमा व्यवस्था गरेको छ । त्यसै गरी प्रचलित कानुनमा व्यवस्था नगरिएको र तत्काल ऐन बनाएर सम्बोधन गर्न पनि सम्भावना नभएका विषयलाई निर्वाचन आयोगले आदेश जारी गरेर, आचारसंहिता बनाएर तथा अन्य नीतिगत निर्णयद्वारा सम्बोधन गर्नुपर्ने हुन्छ । उम्मेदवारलाई दलले मनोनयन गर्दा कानुनी तथा नैतिक दुवै रूपमा योग्य भएको व्यक्तिलाई छनोट गर्नु पर्छ ।

उम्मेदवार हुने व्यक्ति विगतका निर्वाचनमा निर्धारित हदभन्दा बढी खर्च गरेर कारबाही नभएको, कुनै पनि सरकारी निकायलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको, सरकारी बेरुजु पेस्की तिर्न बुझाउन बाँकी नरहेको हुनु पर्छ । साथै न्यायिक–अर्धन्यायिक निकायबाट लागेको कैद, सजाय, जरिवाना तिर्न बुझाउन बाँकी नरहेको साथै प्रचलित कानुनबमोजिम सरकारी निकायलाई बुझाउनुपर्ने कर, राजस्व, शुल्क, दस्तुर तिर्न बुझाउन बाँकी नरहेको, भ्रष्टाचारमा मुद्दा दायर भई अदालतमा विचाराधीन अवस्थामा नरहेको, फौजदारी कसुरमा अदालतमा मुद्दा दायर नभएको हुनै पर्छ । निर्वाचित हुनुभन्दा अघि उम्मेदवार दलको प्रतिनिधि हो भने निर्वाचित भएपश्चात् ऊ जनताको प्रतिनिधि हुन्छ । निर्वाचित जनप्रतिनिधिलाई जनताले आफ्नो सार्वभौम अधिकार सार्वजनिक हितका लागि प्रयोग गर्न मतदानमार्फत प्रत्यायोजन गरेका हुन्छन् । यस्तो अधिकारको प्रयोग जनप्रतिनिधिले व्यक्तिगत हित र स्वार्थका लागि प्रयोग नगरोस् भन्ने अपेक्षा आमनागरिकको हुन्छ । अधिकारको दुरुपयोग नहोस् भन्नाका खातिर मतदाताले सक्षम, योग्य र इमानदार उम्मेदवार को छ भनी थाहा पाउनु उसको अधिकार हुन्छ । उम्मेदवारको विगतको पृष्ठभूमि, अनुभव, समाजसेवामा योगदान, उसको आय वैध वा अवैध के हो ? यी धेरै कुराको नागरिकले लेखाजोखा गर्न पाउनु पर्छ । 

समाजको आवश्यकता र नागरिकको अपेक्षालाई बेवास्ता गर्न मिल्दैन । राजनीतिक दलले पनि नागरिकको चाहना र अपेक्षा अनुरूप उम्मेदवारको छनोट गर्नु पर्छ । हाम्रा होइन राम्रा उम्मेदवार चयन गर्नु पर्छ । मतदाताको पनि आफ्ना कर्तव्य र दायित्व छन् । मतदाताले विवेक पु¥याउनुपर्ने विषय पनि छन् । समाजमा सदाचार, निष्ठा, इमानदारिता तथा अनुशासनको पालना गरी समाजमा ख्याति आर्जन गरेका उच्च नैतिक चरित्रवान् व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने र त्यस्ता जनप्रतिनिधि छनोट गर्ने वातावरण सिर्जना हुनु पर्छ ।

प्रजातन्त्रको अवयव राजनीतिक दल भएको हुँदा दलले उपयुक्त उम्मेदवार छनोट गर्नु पर्छ । उम्मेदवार मात्र थुपार्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु आवश्यक छ । राम्रो व्यक्ति उम्मेदवार छनोट भई निर्वाचित भएमा जनताको हितमा धेरैभन्दा धेरै काम भई समस्त समाज नै लाभान्वित हुन्छ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा दलाली, ठेकेदारी र स्वार्थ बाझिएका व्यक्तिहरू उम्मेदवार हुन नसक्ने वातावरण सिर्जना हुनु पर्छ र मतदाता पनि यसमा सचेत बन्नु पर्छ । राजनीति सेवा हो व्यापार तथा पेसा होइन । जसले सार्वजनिक हित र जनअपेक्षा अनुरूप काम गर्न सक्ने क्षमता राख्छ, त्यस्तो व्यक्ति जनताको प्रतिनिधि बन्ने वातावरण बनाउनु पर्छ । पैसामा उम्मेदवारको मोलमोलाइ हुने स्थितिको अन्त्य हुनु आवाश्यक छ । जुनसुकै दलको उम्मेदवार भए पनि राम्रो उम्मेदवार, नैतिकवान्, निष्ठा भएको कुशल उम्मेदवार को छ भनी मतदाताले हेर्नु पर्छ । 

सैद्धान्तिक रूपमा राष्ट्रिय सभालाई परिपक्व संस्था मानिन्छ । सिद्धान्ततः राष्ट्रिय सभा अनुभवी, विज्ञ र प्रौढहरूको संस्था हो । अमेरिका, बेलायत र भारत जस्ता देशमा माथिल्लो सभामा अनुभवी तथा ख्यातिप्राप्त व्यक्तिहरू विज्ञ र विशेषज्ञ व्यक्ति देखिन्छन् । राष्ट्रिय सभाको सबैभन्दा महìवपूर्ण काम भनेकै राष्ट्रको आवश्यकता र महìव हेरेर विधि निर्माण गर्ने हो । प्रतिनिधि सभाले कहिलेकाँही हतारमा वा दलीय ह्विपमा वा प्रभावमा परेर अपरिपक्व रूपमा विधेयक पारित गर्न सक्छ । त्यस प्रकारको गल्तीलाई सच्चाउन राष्ट्रिय सभाले आफ्नो रायसुझाव, आफ्ना नीति निर्देशन गर्दा राष्ट्रिय अवस्था, अन्तर्राष्ट्रिय परिस्थिति, विज्ञतालाई हेरेर गर्नुपर्ने हुन्छ । यस किसिमको हैसियत एवं योग्यता र क्षमता राख्ने व्यक्तिलाई दलले उम्मेदवार बनाउनु पर्छ । राष्ट्रिय सभाका मतदाता सार्वजनिक पद धारण गरेका एवं सचेत भएको हुँदा दलीय स्वार्थभन्दा माथि उठेर जुन दलको भए पनि अनुभवी एवं योग्य र सक्षम व्यक्तिलाई मतदात गरी रूपान्तरणकारी भूमिका खेल्नु आवश्यक छ ।

   

Author

यज्ञप्रसाद भट्टराई