• ११ मंसिर २०८१, मङ्गलबार

सिकाइको आधार साना कक्षा

blog

सार्वजनिक शिक्षा गुणस्तरीय भएन भनेर चर्चा र बहस हुनुलाई शुभ सङ्केत नै मान्न सकिन्छ । यसले समुदायभित्र रहेका विद्यालयलाई उत्तरदायी बन्न अग्रसर गराउँछ । विद्यालय तहको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । यसरी विद्यालयहरू पालिकाको पोल्टामा हाल्दैमा सुधार भइहाल्छ भन्ने ठान्नु हुँदैन । विद्यालय शिक्षाको उपलब्धि सानो कक्षाबाटै कमजोर बन्दै गएको छ । माध्यमिक तहमा पढाउने शिक्षकले तलैबाट कमजोर विद्यार्थी आए, अनि सिकाइमा उपलब्धि हुन सकेन भनेर जिम्मेवारीबाट पन्छिन पनि मिल्दैन । 

गुणस्तरीय शिक्षाको मूलमर्म भनेकै व्यक्तिको क्षमता अभिवृद्धि गर्नु हो । हाम्रा विद्यालयमा गुणस्तरीय शिक्षाको बुझाइ सैद्धान्तिक र व्यावहारिक पक्ष नै अस्पष्ट छ । परीक्षामा बढी अङ्क ल्याउनु र सामान्य अङ्ग्रेजी बोल्न सक्नु नै गुणस्तर मान्ने गरेका छौँ  । वास्तविक सिकाइतर्फ ध्यान पुग्न सकेको छैन । माथिल्ला कक्षामा बढी ध्यान दिने तल्ला कक्षालाई कम महत्व दिने परम्पराले अझै मान्यता पाइरहेको छ ।

सिकाइको आधार भनेको साना कक्षा हुन् तर त्यहाँ पढ्ने बालबालिकाको बस्ने व्यवस्था अवैज्ञानिक छ । त्यहाँका बालबालिकाले के बुझे, के पढे भन्नेतर्फ ध्यान दिएको पाइँदैन । शिक्षकको क्षमता अभिवृद्धिमा सरकारले खासै चासो राखेको पनि देखिँदैन । प्रारम्भिक बालविकास कक्षाका शिक्षकको सुविधा अत्यन्त न्यून छ । फेरि साना कक्षामा सिकाइ उपलब्धिबिना नै कक्षा चढाउने गरिन्छ । माध्यामिक तहमा जे जति भौतिक पूर्वाधारमा लगानी गरिन्छ, त्यसको सानो अंश पनि तल्ला कक्षाका लागि खर्च गरिँदैन । शिक्षाको आधार भनेको साना कक्षादेखि नै हुनुपर्नेमा हाम्रो शिक्षा प्रणालीले त्यसतर्फ ध्यान दिएको देखिँदैन । जग बलियो नभई घर बलियो हुँदैन भने झै हाम्रो बालशिक्षा नै बलियो र स्तरीय बनाउँदै लग्न सकेमा मात्र समग्र शिक्षा गुणस्तरीय बन्न सक्छ ।

गुणस्तरीय शिक्षाको कुरा विद्यालयले मात्र होइन, स्थानीय समुदाय, राजनीतिक दल र सरकारले पनि उठाउँदै आएको छ । राजनीतिक दलले निर्वाचनको समयमा आफ्ना घोषणा पत्रमा शिक्षाको गुणस्तर सुधार्नेबारे जोडतोडका साथ महत्व दिँदै आएको पाइन्छ तर चुनाव जितेर गएपछि घोषणामा लेखिएका नीति कार्यक्रमलाई बिर्सने गरेका छन् । फेरि परीक्षामा उत्तीर्र्ण हुँदा र बढी अङ्क ल्याउँदा अभिभावक पनि सन्तानले स्तरीय शिक्षा पाएको ठान्छन् । शिक्षकहरू विद्यालयमा विद्यार्थी सङ्ख्या धेरै देखाउन पाउँदा गुणस्तर बढेको भन्न मन पराउँछन् ।

सिकाइ कमजोर भएको तर्फ कसैको ध्यान गएको देखिँदैन । विद्यार्थीको क्षमता बढाउन विद्यार्थी केन्द्रित सिकाइ नभई हुँदैन तर अहिलेसम्मको शिक्षा भनेको शिक्षक केन्द्रित नै छ । शिक्षक नै शिक्षाको मियो हो, उनै ज्ञानको सम्पूर्ण स्रोत हो भन्ने धारणाले हाम्रो शिक्षा निर्देशित छ । गुणस्तरीय शिक्षाका कमजोरीमा निरन्तर विद्यार्थी मूल्याङ्कन नहुनु, कक्षा चढाउन उदार हुनु, अक्षराङ्कन विधि, भौगोलिक विकटता, अभिभावकको आर्थिक कमजोर र उपयुक्त शैक्षिक सामग्रीका अभाव साथै विषयगत र दक्ष शिक्षकको कमी आदि हुन् । राज्यले दिने पाठ्यपुस्तक, आर्थिक लगानी, अन्य स्रोतसाधनले मात्र पनि सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा भइहाल्ने होइन । विद्यार्थीको क्षमता अभिवृद्धिका लागि विद्यार्थी केन्द्रित सिकाइ नै हुनु पर्छ । 

कुशल शिक्षण विधि र प्रक्रियाबाट खारिएको विद्यार्थी नै शिक्षित नागरिक बन्न सक्छ । उसले समाजलाई समृद्ध, सुसंस्कृत र विकसित तुल्याउन सक्छ । असल शिक्षाबिना कुनै पनि राष्ट्र विकसित हुन सक्दैन । यसर्थ राज्यले शिक्षालाई गुणस्तरीय बनाउन जोड दिनु पर्छ । शिक्षालाई स्तरीय बनाउन प्राज्ञिक मात्र नभएर राजनीतिक, सामाजिक, आर्थिक पक्ष पनि हेर्नु पर्छ । यसको जम्मेवारी विद्यालयको मात्र नभएर अभिभावक र समुदायको पनि हो । हाम्रा नीति र अभ्यासमार्फत अभिभावकलाई पनि सहभागी बनाई शैक्षिक गतिविधिमा सक्रिय गराउनु जरुरी छ ।

हाम्रो सामुदायिक शिक्षा खस्कँदै जान थालेको छ । अहिलेको व्यवस्थामा शिक्षाको अभिभारा पालिकाहरूको काँधमा सुम्पिएको छ । यो स्थितिमा स्थानीय सरकारले शिक्षाको जिम्मेवारीबाट पन्छिन मिल्दैन । पालिकाहरू आफ्नो उत्तरदायित्वबाट उम्कन शिक्षक तथा विद्यालयलाई मात्र दोष दिएर बस्न मिल्दैन । शिक्षा राम्रो हुनका लागि शिक्षक, अभिभावक र सरकारी संयन्त्रको उचित समन्वय बिना सम्भव छैन । विद्यालयमा अझै अभिभावकको भूमिका स्पष्ट कोरिएको छैन । विद्यालय स्तरोन्नतिका लागि स्थानीय समुदाय र अभिभावकको भूमिकाको खोजी हुनु जरुरी छ । अभिभावकलाई अपठित ठानी विद्यालयको भूमिका बाहिर राख्नु उचित होइन । सामुदायिक विद्यालयको स्तर उकास्न कर्मचारी र शिक्षकबाट मात्र सम्भव हुँदैन । 

सुविधा सम्पन्न भौतिक पूर्वाधारले विद्यार्थीको पठनपाठनमा अनुकूल प्रभाव पार्दछ । समय सन्दर्भ पाठ्यक्रम, पाठयपुस्तक अनुसार पढाउन सक्ने शिक्षक, अन्तर्राष्ट्रिय स्तरका शैक्षिक परिवेशसँग जोडिएको शैक्षिक क्रियाकलाप आबद्ध सिकाइ हुन जरुरी छ । सिकाइ सुधारका लागि साना कक्षाबाटै आरम्भ गरिनु पर्छ । हाम्रो प्रचलनमा साना कक्षा, साना विद्यालय, साना कक्षा शिक्षक कम प्राथमिकतामा पर्ने गरेका छन् । यिनका लागि दिइने सुविधा, तलबभत्ता, कक्षा कोठा, त्यहाँको व्यवस्थापन, सिकाइ, शिक्षकको क्षमता र बस्ने ठाउँमा बेवास्ता गरिन्छ । अतः बालबालिकाको शिक्षामा राज्यको निगरानी र लगानी बढाउनु जरुरी छ । विश्वको अनुमानित तथ्याङ्क अनुसार आधाभन्दा बढी बालबालिका १० वर्षको उमेरमै साधारण लेखपढ गर्न असमर्थ छन् । कुनै पनि सिप वा ज्ञान हासिबिना नै विद्यालय छाड्छन् । यसरी पढ्न नपाउने अधिकांश बालबालिका न्यून र न्यूनमध्यम आय भएका अभिभावकका छोराछोरी हुने गरेका छन् । यस्ता बालबालिकाले पढ्न पाउने नैसर्गिक अधिकारलाई सुनिश्चितता प्रदान गर्ने दायित्वबाट सरकार पन्छिन मिल्दैन ।

हरेक बालबालिकाले आफ्नो मूल्य, मान्यता, भाषा, संस्कृति, धर्म एवं रीतिरिवाज आदिको पालन गर्न पाउने अधिकारको पनि कदर हुनु जरुरी छ । स्थानीय परम्परागत ज्ञान, सिप र प्रविधिप्रति मोह जगाउनु् पनि आवश्यक हुन्छ । स्थानीय समुदाय र त्यहाँको जनजीवनका निम्ति उपयोगी प्राकृतिक सांस्कृतिक, सामाजिक, आर्थिक, जैविक र व्यावहारिक ज्ञान, सिप र सम्पदाको संरक्षण गर्ने सिप विकासका लागि नै राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रले निर्देशित गरी स्थानीय पाठ्यक्रमको तर्जुमा समेत गरेको छ । स्थानीय पाठ्यक्रमको उद्देश्य हरेक बालबालिकाले आफ्नै गाउँठाउँका पहिचान गरुन् र आफ्नो ठाउँका महत्वपूर्ण सिप, कला र प्रविधिप्रतिको मोह बढोस्, आफ्नो ठाउँ छाडेर अन्य जानुभन्दा आफ्नै गाउँठाउँको सिप, प्रविधि र कलालाई सदुपयोग गरी आय आर्जनतर्फ लागून भनेर नै स्थानीय पाठ्यक्रमको तर्जुमा गरिएको हो । यसका लागि स्थानीय तहमा उपलब्ध सिप सिकाउने प्रबन्ध मिलाइनु पर्छ । यहाँनेर विद्यालय व्यवस्थापनले स्थानीय उद्यमी तथा जानकारसँग सहकार्य गरी परिस्थिति अनुकूल स्थानीय सरोकारवालाको अनुभव, सिप र ज्ञानलाई उपयोगमा ल्याउन बालबालिकालाई छोटो अवधिको व्यावसायिक सिप सिकाउने कार्यतर्फ जोड दिनु पर्छ । 

विद्यालयहरू पालिकाको पोल्टामा त गयो तर सुधार हुन सकेन । अब बहुआयामिक सहयोगबिना सुध्रन सक्ने स्थिति देखिँदैन । सङ्घीय सरकारकै पहलमा व्यवस्थित नीतिगत सोचको खाँचो छ । शिक्षाको उपलब्धि साना कक्षाबाटै हुनु पर्छ । एक पक्षले अर्को पक्षलाई दोषारोपण गर्ने बानी छाड्नु पर्छ । सिकाइको आधार भनेका साना कक्षा हुन् । यिनमा सुधार नआउन्जेल शिक्षाको समग्र सुधार सम्भव हुन सक्दैन । शिक्षाको पूर्वाधारमा जति लगानी हुन्छ, त्योभन्दा बढी सिकाइ सुधारका लागि हुनु जरुरी छ । साना कक्षाका सिकाइ सुधार गरेर नै माथिल्लो कक्षाको सिकाइ राम्रो हुने हो । यसर्थ हरेक विद्यालयका कक्षा कोठा सुधार गरेर सिकाइ प्रक्रियालाई जवाफदेही बनाउने पद्धति अगाडि बढाउनु पर्छ । 

  

Author

रमेशप्रसाद गौतम