• १४ असार २०८१, शुक्रबार

घेराबन्दी र प्रचण्ड प्रयास

blog

पछिल्लो समय नेपाली समाजमा जता पनि भ्वाङ परेको, फाटेको, बिग्रिएको अनि भत्किएको मात्रै देख्ने दृष्टिदोष बढिरहेको छ । सृजनशील कोणबाट यस्तो दृष्टिकोणलाई सही नै मान्नुपर्ने हुन्छ । किनभने यसले जो कसैलाई पनि बिग्रिनु, भत्किनु अनि गलत कामबाट जोगाउने गर्छ । निषेधको कोणबाट मूल्याङ्कन गर्दा वा नेपाली समाजमा यस्तो नकरात्मकताले बनाएको भाष्यलाई अध्ययन गर्दा यस्तो प्रवृत्तिले गलत संस्कार–संस्कृति निर्माण गरिरहेको छ ।

सृजनशील सुझाव र आलोचनाले कुनै पनि वस्तु वा व्यक्तिलाई रूपान्तरण गर्ने हैसियत राख्छ भने निषेधजन्य विरोध र आलोचनाले काममा अनिर्णय, द्विविधा, आलस्य पैदा गर्छ । उत्साह मार्ने काम गर्छ । नेपाली राष्ट्रिय राजनीतिमा सरकारी कामकारबाहीको सन्दर्भमा सृजनशीलभन्दा पनि निषेध, प्रतिशोध र निहित स्वार्थजन्य तरिकाबाट विषयवस्तु उठान भइरहेको देखिन्छ । यसलाई चुनावी स्वार्थको गुरुत्वकेन्द्र वरिपरिबाट नाप्ने प्रचलन नराम्ररी मौलाएको छ । अर्थात् एउटा पक्षले समाजमा राम्रो प्रभाव पा¥यो भने अर्को पक्षलाई कमजोर महसुस हुने आत्मकेन्द्रित स्वार्थगत मनोविज्ञान उत्कर्षमा पुगेको छ । 

चुनाव जित्ने भयो भनेर तीव्र ईष्र्या र डाहा पलाउने गर्छ । यस्तो स्वार्थी रवैयाले उसको प्रतिस्पर्धी शक्ति वा व्यक्तिलाई चुनावमा हराउने वस्तुगत वातावरण त बन्ला, उसले चुनाव पनि जित्ला तर सकारात्मक र उत्पादनशील काम संस्थागत हुँदैन । सकारात्मक र सृजनशील कामले प्रश्रय नपाउनु भनेको विकासले योजनाबद्ध चरित्र ग्रहण गर्न नसक्नु हो । मूल्य र पद्धति मर्दै जानु हो । यस्तो गलत रवैयाले सम्भावना र सृजनशीलताका ढोका बन्द हुँदै छ भने आकाश खस्ने र धरती भासिने मनगढन्ते अनावश्यक परिकल्पना तीव्र रूपमा बढिरहेको छ ।

प्रचण्ड प्रयास

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भएको पनि एक वर्ष पुगिसकेको छ । यो एक वर्षको अवधि भनेको सर्वाङ्गीण विकासका लागि पर्याप्त समय पक्कै पनि होइन । त्यसमा पनि हाम्रो जस्तो वैदेशिक उपभोगवादी संस्कृतिले गाँजेको समाजमा मतदाताको बनिबनाउ चाहना र उपभोगवादी वासनाको लयमा रातारात विकासले तीव्र लय समात्ने कुरा सम्भव हुँदैन । सदियौँ वर्षदेखिको विकृति र विसङ्गतिको संस्कारमा मौलाएको मनोविज्ञान एकै रातमा परिवर्तन हुँदैन । अर्थात् मतदाताको उपभोगवादी चाहना असीमित हुन्छन् । त्यसमा पनि चुनावकेन्द्रित विभिन्न दलीय स्वार्थको दलदलमा समाज नराम्ररी फसेको छ । 

यस्तो समाजमा प्रथमतः राम्रो कामको थालनी हुँदैन । दोस्रो, कुनै सरकार, पार्टी र नेताले राम्रो काम गर्न चाह्यो भने पनि उसलाई चुनावकेन्द्रित स्वार्थको रागमा शिथिल पार्ने दुष्प्रयास गरिन्छ । आज हाम्रो मुलुकमा ठिक यस्तै र यही दुष्प्रयास भइरहेको छर्लङ्गै देख्न सकिन्छ । यसको मतलब प्रचण्ड सरकारले छेउकुना सबैतिर सम्याइसक्यो भन्ने होइन । तत्काल गर्नुपर्ने कैयौँ काम थाती छन् । सदियौँ लामो कमजोरीले जन्माएका समस्या कसैले मनोगत वा चुनावी मसलाका रूपमा भावोत्तेजनामा आएर बोलेको वा लेखेको भरमा समाधान हुँदैन तर तुलनात्मक रूपमा प्रचण्ड सरकारले नयाँ केही गर्ने हुट्हुटी लिएको स्पष्टै देखिन्छ । यद्यपि यो पर्याप्त नभएको सन्दर्भमा बहस गर्न सकिन्छ । 

वस्तुतः प्रचण्ड सरकारले सुशासनलाई पहिलो प्राथमिकतामा राखेको छ । यस अन्तर्गत भुटानी शरणार्थी, ललिता निवास र सुन काण्डलगायतका ठुला माछा काण्डलाई अघि बढाउने हिम्मत ग¥यो । प्रधानमन्त्री प्रचण्डले आफू, आफन्त र आफ्नो पार्टी नभनी दोषीलाई कानुनी कठघरामा उभ्याउने प्रयास गर्नुभयो । यही मेसोमा थुप्रै गह्रौँ तौलधारीसमेत जेल चलान भए । यो सुशासन कायम गर्ने पहिलो प्रस्थान बिन्दु थियो । छानबिनमा काखा पाखा गरिएको छैन । 

यद्यपि कतिपय काण्डमा संलग्न भनेर प्रचारमा आएकालाई प्रहरीले आवश्यक कारबाही अघि बढाएको छैन; जसको कुनै प्रमाण फेला परेको छैन । अन्यथा सबैलाई कानुनी प्रक्रियामा लगिएको छ । यता राष्ट्रिय गौरवलगायतका विभिन्न विकासे परियोजना अघि बढाइएको छ । आर्थिक वृद्धिदर उल्लेख्य बढेको छ । विदेशी मुद्रा सञ्चिति बढेको छ । अर्थात् सम्पूर्ण आर्थिक सूचकाङ्क सकारात्मक दिशातर्पm उकालो लागिरहेको छ । इतिहासमै सबैभन्दा अनुकूल आर्थिक अवस्था पैदा भएको छ । यो प्रचण्ड सरकारको एक वर्षे अवधिका सकारात्मक काम हुन् । 

योसँगै गठबन्धनको सीमा कमजोरीलाई सन्तुलित गरिएको छ । कठोर र लचकताको द्वन्द्वात्मक प्रयोग अत्यधिक गरिएको छ । सत्ता पक्ष र प्रतिपक्षलाई मिलाएर लाने अधिकतम पहल र प्रयास गरिएको छ । यद्यपि जन्मजातै चुनावी स्वार्थको रतन्धो लागेका पार्टी वा नेताहरूले यसलाई कमजोरी भनेर टिप्पणी गरिरहेका छन् । मनोगत नकारात्मक छिद्र खोजिरहेका छन् । शान्ति प्रक्रिया अन्तर्गतका सङ्क्रमणकालीन न्यायसम्बन्धी मुद्दा लगभग टुङ्गिने अवस्थामा पुगेको छ । अर्थात् तुलनात्मक रूपमा यस पटक प्रचण्डको प्रयास ऐतिहासिक देखिन्छ । चुनावी, दलीय र व्यक्तिगत स्वार्थका कारण प्रचण्डका प्रयासलाई बेवास्ता गरिँदै छ । बरु उल्टै विभिन्न भ्रम र अफवाह फैल्याइएको छ; जसले सरासर गलत परिणाम दिने छ । यस्तो परिणाम वा उपलब्धि हाम्रो आमचाहना होइन । 

विरोधीको घेराबन्दी

प्रचण्ड सरकारका राम्रो कामको अनदेखा र नराम्रो साना छिद्रको बढाइचढाई हुनु भनेको प्रचण्डविरुद्धको घेराबन्दी नै हो । यस्तो घेराबन्दी पनि मुलुक र मतदाताको हित वा स्वार्थमा हुँदैन । यो केवल आफू, आफ्नो पार्टी, नेता, कार्यकर्ता र आफन्तजनमा सीमित हुन्छ । अर्थात् योजनाबद्ध रूपमै चुनावी स्वार्थको चक्रव्युहमा अनावश्यक प्रचारबाजी र अफवाह फैल्याउने गरिन्छ; जसले मतदातामा नकारात्मक भाष्य निर्माण गर्न सहयोग गरोस् र आगामी चुनावमा हावा खुवाइदियोस् । यही स्वार्थको फेरो समातेर समाज र राष्ट्रको हितमा केही गर्छु भन्ने हुटहुटीलाई दबाइरहेको छ । मारिरहेको छ । योजनाबद्ध रूपमै खुट्टा तान्ने र खाल्डा खन्ने काम भइरहेको छ । परिणामतः प्रचण्ड सरकारको तुलनात्मक रूपमा गरिएको कतिपय राम्रो काम पनि ओझेलमा पारिएको देखिन्छ ।  

मतदाताको बनिबनाउ चाहना

नेपाली समाजमा वैदेशिक अर्थराजनीतिक संस्कृति व्यापक रूपमा गडेको छ । आजको पुँजीवादी संस्कृति भनेको उपभोगवादी संस्कृति नै हो । यसले हरेक नागरिकलाई सृजनशील, उत्पादनशील, वस्तुवादी र सकारात्मकभन्दा पनि भाते, स्वादे र भोगविलासे मात्र बनाउँछ । यस्तो सांस्कृतिक मनोविज्ञान हावी भएको समाजमा चाहना र भावना बनिबनाउ, मनगढन्ते, उडन्ते, अव्यावहारिक र अवस्तुवादी हुने गर्छ । शीघ्र उपयोग र उपभोगको पारो उत्कर्षमा पुग्ने गर्छ । तातै खाउँ जली मरौँ भन्ने उक्ति चरितार्थ हुन्छ । यस्तो समाजमा इच्छा–आकाङ्क्षा अत्यधिक हुन्छ; जुन एकैचोटि पूरा गर्न सकिँदैन । 

यसरी चाहना एकैचोटि पूरा गर्न नसक्नु भनेको निरपेक्ष आलोचना र निषेधको सामना गर्न तयार हुनु हो । पछिल्लो समय प्रचण्ड सरकारले काममा गति लिँदालिँदै पनि तीव्र विरोध हुनु भनेको उपभोगवादी संस्कृतिद्वारा निर्देशित लम्पट उपभोग वासना जिम्मेवार दोखिन्छ । यता प्रचण्ड सरकारप्रतिको प्रतिशोध र चुनावी स्वार्थले पनि नराम्ररी घर गरेको छ । योसँगै प्रचण्ड सरकारलाई बदनाम गराउन सकियो भने आगामी चुनावी चिट्ठा आफ्नै नाममा पर्ने सुनिश्चितता खोज्ने क्रममा यस्तो विरोधको स्वर बढिरहेको छ । 

यस्तो स्वार्थी समाजमा मतदाता र मुलुकको राष्ट्रिय हित निर्णायक हुँदैन । खाली निजी र निहित स्वार्थमा सिङ्गो समाजको सामाजिकी र भाष्य निर्देशित हुन्छ । अलिकति मात्रै कोल्टे, बाङ्गो, अपुरो अनि ढिलो भयो भने मनोगत रूपमा सारा संसार प्रलय भए झैँ गर्ने गरिन्छ । नराम्रो र गल्तीको सानो छिद्र खोज्दै जाँदा राम्रो र सहीको सिङ्गो पाटा नै भुल्ने गरिन्छ । 

बहकिएको/बरालिएको समाज

हाम्रो समाजको राजनीतिक वैचारिकी असाध्यै कमजोर छ । समाजको प्राज्ञिक चरित्रलाई बरालिएको सञ्जालले खाइसकेको छ । बहस छलफलद्वारा सत्य–तथ्य पहिचान गर्ने संस्कृति लगभग मर्दै गएको छ । व्याख्या, विश्लेषण र गन्थन–मन्थन हराउँदै गएको छ । आलोचनात्मक र द्वन्द्वात्मक दृष्टिकोण वा नजर बिलाउँदै गएको छ । यस्तो अर्थराजनीतिक परिवेशमा प्रचार, हल्लाखल्ला र मिडिया स्टन्टबाजी निर्णायक हुने गर्छ । कागले कान लग्यो भन्दै गर्दा कान छाम्न बिर्सेर कागको पछिपछि दगुर्ने गरिन्छ ।

सामाजिक सञ्जालमा भाइरल हुनुलाई सत्य र यथार्थताको कसी मान्ने गरिन्छ । सामाजिक हित, स्वार्थ र वास्तविकताभन्दा पनि सञ्जालमा देखिएको दर्शक, लाइक, कमेन्ट र सेयरको आधारमा सही गलत निर्धारण गर्ने गलत संस्कृति बढिरहेको छ । यस्तो सामाजिक भाष्यले नेतृत्व गरिरहेको समाजमा सत्यतथ्य र सही गलतको खोजी हुँदैन । मिडियामा आएको विषयवस्तु स्वाद लागे वश पुग्छ । चोटिलो, घोचिलो र पेचिलो लागे हुन्छ । अझ विपक्षी वा विरोधीलाई गाली गरेको खुइल्याएको अनि तथानाम गाली गरेको भए सात पुस्ता जीवन गुजारा पुग्ने जस्तो गरिन्छ । यसले अधिकांश राम्रो काम ओझेलमा र थोरै नराम्रो काम सतहमा उतार्ने गर्छ । अहिले प्रचण्ड सरकारको कामकारबाहीबारे पनि ठिक यही भइरहेको छ ।

निष्कर्ष

त्यसैले सरकारले गरेका राम्रो कामलाई राम्रो भन्ने न्यूनतम विवेक प्रयोग गरौँ । नराम्रोलाई नराम्रो भन्ने हिम्मत गरौँ । चुनावी निहित र निजी स्वार्थका लागि राम्रोलाई बेवास्ता नगरौँ । यस्तै आत्मकेन्द्रित व्यक्तिवादी र पार्टीवादी स्वार्थका लागि नराम्रो र गलतलाई राम्रो पनि नभनौँ । स्वार्थको घेरो समातेर सहीलाई गलत र गलतलाई सही भनेर सत्य–तथ्य र यथार्थको अपव्याख्या नगरौँ । आउँदो पुस्तालाई सही, विवेकशील र मूल्यको राजनीतिक संस्कार सिकाउने प्रयास गरौँ । 

निहित स्वार्थमा मुलुक र मतदाताको स्वार्थ सौदाबाजी गरियो भने राजनीतिक संस्कृति मर्ने छ । त्यो भनेको विकृति र विसङ्गति संस्थागत हुनु हो भने संस्कार र सभ्यता गिर्दै जानु हो । असल र खराबलाई सार्वभौम सत्यभन्दा पनि स्वार्थगत दृष्टिकोणबाट नाप्ने तौलने गर्नु गलत हुन्छ । यसले सिङ्गो समाजलाई अराजकता र अनिर्णयको गोलचक्करमा फसाउने छ । तब सबै खाले प्रतिक्रियावादी तत्व सल्बलाउन थाल्ने छ । सबैलाई चेतना भया !

   

Author

राजेन्द्र किराती