• १५ कात्तिक २०८१, बिहिबार

ऐतिहासिक कुर्लेगढी

blog

धनकुटाको चौबिसे गाउँपालिकाभित्र विभिन्न ऐतिहासिक स्थल छन् । तीमध्ये कुर्लेगढीको ऐतिहासिक महत्व ठुलो छ । हुन त हाल यो ऐतिहासिक गढीको भग्नावशेषको कुनै निशान भने छैन । यो गढी रहेको थुम्कोलाई अहिले पनि ‘गढीगाउँ’ भनिन्छ । यस ठाउँमा कुरुले तेनुपा माध्यमिक विद्यालयको भवन बनेको निकै वर्ष भयो । साविकको कुरुले तेनुवा गाविस र हाल चौबिसे गाउँपालिकाको वडा नम्बर ३ मा स्थित यो गढी रहेको स्थानमा विद्यालय भवन निर्माणका क्रममा यसका सबै भग्नावशेष नामेट हुन पुग्यो । 

धनकुटाको बोधेस्थित हङ्शमोरङ नामको ठाउँमा एउटा ढुङ्गा गाडिएको छ । लिम्बूहरुले स्तम्भका रुपमा रहेको यो ढुङ्गालाई ‘हाङसेमलुङ’ भन्छन् । यहीँबाट १० लिम्बू छुट्टिएर विभिन्न भागमा बाँडिएका हुन् र त्यसैको चिनोस्वरुप यो ढुङ्गा त्यहाँ गाडिएको हो भन्ने मान्यता रहँदै आएको इतिहासकार शिवकुमार श्रेष्ठले आफ्नो पुस्तक ‘लिम्बूवानको ऐतिहासिक अध्ययन’ (२०६८ः३०) मा उल्लेख गरेका छन् । उहाँको दावीअनुसार ‘हाङसेमलुङ’बाटै अप्रभंश भएर उक्त ठाउँको नाम हङ्शमोरङ रहन पुगेको हो ।

यसरी विभिन्न दश ठाउँमा छुटिएर आआफ्नो गढी किल्लाहरु (माङगेना यक) बनाएर शासन चलाउने क्रममा चौबिसे क्षेत्रमा पनि लिम्बू हाङ (राजा)हरुले गढी किल्ला बनाएका थिए भन्ने ऐतिहासिक प्रसङ्गहरु विभिन्न इतिहासकारले उल्लेख गरेका छन् । यस्तो ऐतिहासिक प्रसङ्गहरुमा चौबिसे गाउँपालिकामा रहेको कुर्लेगढीको नाम पनि उल्लेख छ ।

यस्तो उल्लेख गर्नेमध्ये इतिहासकार इडेन भ्यान्सिटार्ट एक हुन् । उहाँले आफ्नो पुस्तक ‘गुर्खाज्’ (सन् १९१५ः१०४) उल्लेख गरेअनुसार चौबिसे इलाकामा साइयोक लादोहाङले शासन गरेको र उनले सानगढी अर्थात् साँगुरीगढी बनाएका थिए । इतिहासकार इमानसिंह चेम्जोङले ‘किरातकालिन विजयपुरको सङ्क्षिप्त इतिहास’मा भ्यान्सिटार्टलाई नै समर्थन गरेर साइयोक लादोहाङले आफ्नो किल्लाको रुपमा साँगुरीगढी बनाएको भन्ने उल्लेख गरेका छन् । उता प्रेमबहादुर माबोहाङ र भूपेन्द्रनाथ ढुङ्गेलले भने आफ्नो पुस्तक ‘सङ्क्षिप्त नेपाल इतिहास’ चौबिसे इलाकामा मावोहाङ रायले शासन गरेको र उहाँले कुर्लेगढी बनाएको उल्लेख गरेकोलाई इतिहासकार शिवकुमार श्रेष्ठ (२०६८ः३४)ले गलत ठहर गर्दै कुर्लेगढीमा रहेर साइयोकहाङले चौकिसे क्षेत्रमा शासन गरेका थिए भन्ने उल्लेख गर्नुभएको छ । 

सामान्यतः लिम्बूहरुको प्रथाजन्य संस्कारअनुसार आफूहरुले जुन थातथलोमा रहेर शासन गरेको वा सोसँग सम्बन्धित थरगत समूहले त्यस्ता गढीलाई ‘माङ्गेना यक’ भन्ने गरेका छन् । तर पछिल्लो एक अध्ययन अनुसार कुर्लेगढीलाई कुनै पनि थरगत लिम्बू समूहले माङ्गेना यक मानेको देखिदैन । आफ्नो विद्यावारिधिको शोधका क्रममा ‘माङ्गेना यक’ सम्बन्धी विस्तृत अध्ययन गर्नुभएका डा. कमल तिगेलाले कुर्लेगढीलाई ‘माङ्गेना यक’ मान्नुभएको छैन । माथि श्रेष्ठले उल्लेख गर्नुभएको साइयोकहाङ (संयोक्पा)हरुले पधे यक (बोधे गढी) लाई माङ्गेना यक मान्छन् भने मावोहाङ र ढुङ्गेलले उल्लेख गर्नुभएको लादोहाङ वा मावोहाङ अर्थात् चेम्जोङहरुको माङ्गेना यक इलामको हालः माङ्सेबुङ (साविकको इभाङ)मा रहेको चेम्फोजङ गढी हो । भ्यान्सिटार्टले उल्लेख गर्नुभएको साँगुरीगढी पनि लादोहाङ अर्थात् चेम्जोङहरुले मात्र नभई कुनै लिम्बू थरगत समूहले आफ्नो माङ्गेना यक को रुपमा दावी गरेका छैनन् ।

त्यसैले कुर्लेगढी र साँगुरीगढी दश लिम्बूको आगमनको समयमा निर्माण नभएकोले कुनै पनि लिम्बूहरुको ‘माङ्गेना यक’ होइन भन्ने स्पष्ट हुन पुगेको छ । बरु यी दुई गढी प्रशासनिक र सामरिक सुरक्षाको दृष्टिकोणले बनेका हुन् । यी दुई गढी सेनकालमा विजयपुर राज्यबाट प्रशासनिक कामकारवाही चल्ने गढीका रुपमा निर्माण गरिएको हो (डा. कमल तिगेला, ‘एक्जामिनिङ एन्सेस्ट्रल ल्याण्ड्स एण्ड कस्टोमरी इन्स्टिच्यूसन अफ् द याक्थुङ (लिम्बू) इण्डिजिनियस पिपल्स’–सन् २०१९ः८६–८७ ) ।

कुर्लेगढीको ऐतिहासिकता

कुर्लेगढीको निर्माण कहिले भयो, यसबारेमा कुनै ऐतिहासिक प्रमाण भने हालसम्म भेटिएको   छैन । तर यो गढी सेनकालदेखि नै चलन चल्तीमा थियो भन्ने ऐतिहासिक प्रमाण चाहिँ प्रशस्तै पाइएको छ । 

पृथ्वीनारायण शाहले आफ्नो राज्यविस्तार अभियानका क्रममा पूर्वतर्फ उत्तरी पहाडी खण्डबाट सरदार रामकृष्ण कुँवर र अमरसिंह थापाको नेतृत्त्वमा सैन्य परिचालन गरेका थिए । यसैगरी दक्षिण तराई खण्डबाट बख्सी अभिमानसिंह बस्न्यात र पारथ भण्डारीको नेतृत्वमा गोर्खाली सेनालाई खटाएका थिए । वि.सं. १८३१ को सुरुमै रामकृष्ण कुँवर सभाखोला चैनपुर क्षेत्र आइपुगेर त्यहाँका लिम्बू सेनासँग घमासान युद्ध गरिरहेको बेला अभिमानसिंह बस्नेतको समूह कोशी पार भई विजयपुरतिर बढिरहेको थियो । यस्तो अवस्थामा त्यहाँका हर्ताकर्ता दिवान बुद्धिकर्ण राय गोर्खालीविरुद्ध आवश्यक सहयोग माग्न पूर्णिया पुगेका थिए भने केहीपछि त्यहाँका थपना राजा कर्ण सेन पनि सुन राय र कुम रायलगायतका लिम्बू मन्त्रीहरुलाई विजयपुरको जिम्मा लगाएर आफ्ना जहान परिवारसहित पूर्णियातिर लागेका थिए । यस्तो अवस्थामा कोसी नदी तरेर गोर्खाली सेना वि.सं. १८३१ साउन ५ गते विजयपुर आइपुग्यो । (बाबुराम आचार्य, ‘पूर्णिमा’ पूर्णाङ्क २७–असोज २०२९ः१६७) ।

विजयपुरमा लिम्बू सेना र गोर्खाली सेनाबिच भिडन्त हुँदा ८५ जना लिम्बू सेना मारिएको एक पत्र योगी नरहरिनाथले ‘इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह भाग १’(२०५५ः६–७) मा  प्रकाशमा ल्याउनुभएको छ । यो पत्र विजयपुर हात लागिसकेपछि पृथ्वीनारायण शाहले योगी भगवन्तनाथलाई लेखेको देखिन्छ । पत्रमा “...किरातको अम्वल मदेश पहाड भोट जति थियो आफ्ना आशीर्वादले सबै फत्य भयो. मध्येश महाँ कनकाइ नदी पहाडमाहा साभा खोलो तमोर नदी को साध लाग्यो. मानिस काट्न पाइयेने. भाग्यो कति मोगलाना तिर गयो. कति सुखिमतिर गयो. अरु झार जङ्गलमाँहा जना ८५ वेसि काटिया” भन्ने परेको छ । 

यसपछि लिम्बू प्रमुखहरु र गोर्खाली सैन्य अधिकारी अभिमानसिंह बस्न्यातबिच विजयपुरमा एक सन्धि सम्झौता भएको थियो । यसको नेतृत्त्व लिम्बू प्रमुखहरु सुन राय, कुम राय र जङ्ग रायले गर्नुभएको थियो । लिम्बूहरुले नूनपानी छुवाएर गोर्खाली सैन्य अधिकारीलाई हिजो सेनहरुले लिम्बूहरुलाई जुन अधिकारी दिएका थिए ती सबै थामिदिने प्रतिज्ञा गरेपछि केही लिम्बू प्रमुखहरु गोर्खालीसँग मिल्न पुगेका थिए (इमानसिंह चेम्जोङ, ‘किरातकालिन विजयपुरको सङ्क्षिप्त इतिहास’, २०५९ः९५–९६) । 

इतिहासमा यो सन्धि ‘नुनपानीको थिति’को रुपमा चर्चित छ । यसपछि अभिमानसिंह बस्न्यात नेतृत्वमा गोर्खाली सेनाहरु पहाडी भेग इसिलिम्बा र च्याङ्थापुतिर अगाडि बढेको थियो । उनीहरु त्यसबेला सिमानामा रहेको सिक्किमसित सकेसम्म सन्धि गर्ने र परिआए युद्ध गर्ने तयारी गरेका थिए ।

पृथ्वीनारायण शाहले विजयपुर हात लिइसकेपछि पहाडतर्फ बढेको गोर्खाली सैन्य अधिकारीहरु अभिमानसिंह बस्न्यात, पारथ भण्डारी, बलि बानिया र कीर्तिसिंह खवासलाई सम्बोधन गरी लेखेको पत्रमा कुर्लेगढीको पनि प्रसङ्ग परेको छ । यसअनुसार गोर्खाली सेना केही समय कुर्लेगढीमा तैनाथ भई त्यहाँको प्रशासनिक बन्दोबस्त मिलाई उत्तरतिर बढेका थिए भन्ने स्पष्ट हुन्छ । पृथ्वीनारायण शाहले कुर्लेगढीलाई ‘कुहि«ल्या’ भनेका छन् । वि.सं. १८३१ आश्विन बदी ३० बुधबार लेखिएको पत्रमा “...चौदंडमहा गढि तुल्याउनका विस्तार औ कुहि«ल्याबाट फौज हिड्याको. तिनै मुषले गन्र्या काज जाँजो. लिम्बु श्रृंग्याका सुब्बाले मान्न आयाको सबै विस्तार बिन्ती गरी पठाया छौ विधि विस्ता सुन्यौ इस् लिम्बा च्यांथापुसम्म जति हाम्रो फौज पुग्यो त अब त्यो जगा छोड्नु छैन. बलिया गरि गढि तांहि बनाउना छन्. बनाव. वांकि इस् लिम्वा चांथापुसम्म हाम्रो अम्व भयापछि कनकापूर्व टिस्टा पश्चिम पनि अम्वल गरिहाल्न्या हो...इस्लिम्वा चांथापु सांध गरिकन पनि सुषिमले हामिसंग घायै गर्न पस्यो भन्या कटक् गन्र्या महा पसेन् त कनका हेरी बुझि तर्नु...” भनी उल्लेख गरिएको पत्र इतिहास शिरोमणि बाबुराम आचार्यको पुस्तक ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’ (२०६१ः४३१)मा पढ्न पाइन्छ । यो पत्रबाट उत्तरी पहाडी क्षेत्रतिर गोर्खाली सेनाहरु कुर्लेगढीबाट अगाडि बढेका थिए भन्ने स्पष्ट हुन्छ । यसबाट पनि यो गढीको ऐतिहासिक महत्व छर्लङ्ग हुन पुग्छ ।

ऐतिहासिक पत्रहरु

कुर्लेगढी एक महवपूर्ण ऐतिहासिक स्थल थियो । यहाँबाट प्रशासनिक र सामरिक कामहरु हुने गर्थे । पछि गोर्खालीको अधिनमा आएपछि प्रशासनिक र सैन्य कामहरु विजयपुर र चैनपुरबाट हुन थाल्यो । तर ऐतिहासिक स्थलको रेखदेख र मर्मत सम्भारका लागि स्थानीय प्रमुख वा अगुवाहरुलाई जिम्मा दिने चलन थियो । राजा रणबहादुर शाहको समयमा यो गढीको रेखदेख गर्ने जिम्मा स्थानीय आशिकराम रायलाई दिएको देखिन्छ । 

रणबहादुर शाहले आशिकराम रायलाई वि.सं. १८५१ चैत्र सुदी १५ रोज ७ पठाएको लालमोहरमा उनी कुर्लेगढी रेखदेख गर्ने जिम्मेवार व्यक्ति भएको उल्लेख छ । यसवापत जागिरस्वरुप उनले त्यस वरपरको चार किल्लाको छाप भएको जग्गा जमिन पाएको उल्लेख छ । पत्रमा लेखिएको छ,“...कुहि«ल्यागढि सुधा बसायाका करिया समेत हामिले माया विर्ता पाई आञ्यौ भनि वाभनहरु अम्बल गर्न आया मैले कसो गन्र्या हो भनि विन्ति गरि पठाइछस् तेस कुरामा वाभन्हरुले धोकासित मोहर गरि लैग्याछन् तलाई अघि मोहर गरि छाप बक्स्याको चारै किलाभित्रको जगा थामिबक्याको छ षातिरजामासित चल नगररु छापा भोग्य गर । कुहि«ल्यागढि पनि अघि जस्तो कुहर्«लाउथिस अब पनि तस्तै कुर्ह«ला” भन्ने परेको छ (भगिराज इङ्नाम, ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’–२०७७ः६४–६५) ।

कुर्लेगढी सम्भारको जिम्मेवारीपछि अर्कोतिर सरेको देखिन्छ । यसको जिम्मा चैनपुरका अमालीहरुलाई दिइएको थियो । आशिकराम राई र उनका दाजुभाईहरुले पाएको लालमोहरमा यसबारे उल्लेख छ । वि.सं. १८५३ फागुन सुदि ८ सोमबार लेखिएको लालमोहरमा आशिकरामलाई आफ्नो जिम्माको तिरो तथा करहरु चैनपुरमा दाखिल गर्न र कुर्लेगढीको सम्भार चैनपुरका अमालीहरुले गर्नेछन् भन्ने उल्लेख छ । वि.सं. १८५१ चैत्र सुदी १५ रोज ७ मा लेखिएको पत्रको व्यहोरा यस्तो छ ः “...वोधे छाप हिजो पनि थामि बक्स्याको हो आज द्वा¥या नहालनु साउन्या फागु पंचषत छिपो आफना हातले चइनपुर दाषिल गर्नु. कुह«्ुलाको सम्भार चइनपुरका अमालिहरु गर्नान् यो थिति बाँधि वक्स्यौं (इङ्नाम, २०७७ः७१–७२) ।

कुर्लेगढीको रेखदेख र सम्भारका लागि जिम्मेवारी व्यक्ति आशिकराम रायलाई जिम्मा र जागिर थामिएको अर्कोपत्र पनि प्राप्त छ । यो लालमोहरमा उहाँले उत्तरमा कुर्ले डाँडाबाट दक्षिणको साप्टिन डाडो लगायतका जग्गा जमिनमा पहिले जुन किसिमको उहाँको जिम्मेवारी थियो, त्यसलाई थामि दिएको उल्लेख छ । वि.सं. १८५५ पुस सुदि ५ बुधबार लेखिएको लालमोहरको व्यहोरा यस्तो छ,“...पल्लोकिरातमध्ये उत्तर अकर कुहि«ल्या डाडो दक्षिण साप्टिन डाडो पूर्व साम्पांवां डाडो पश्चिम तमोर यति चारकिल्ला भीत्रको जिमि अघि पनि तलाईं छाप गरि वक्स्यैको थिव. आज पनि छाप थामि वक्स्यौं (इङ्नाम, २०७७ः७६–७७) । यी तथ्यहरु पनि कुर्लेगढीको ऐतिहासिक महत्व स्पष्ट हुन पुगेको छ ।

 
Author

राजकुमार दिक्पाल