नवीन सुवेदी
सुर्खेत,पुस २० गते । नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली बनाउने कुरामा सम्पूर्ण राजनीतिक दलहरू एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा ३४ औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले कर्णाली बनाउने यहीँ कै नेताहरू जिम्मेवारी रहेको उहाँले बताउनुभयो ।
"कर्णाली बनाउने हामी नै हो, यसको विकासका लागि सबै राजनीतिक दलहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्छ," उहाँले भन्नुभयो । कर्णालीको उन्नति र प्रगतिको कुरामा, विकास पूर्वाधार बनाउने कुरामा राजनीतिक दलहरूबिच कुनै विवाद नरहेको पनि उहाँले बताउनुभयो । साथै त्यसो गर्न पनि नहुने उहाँको भनाइ छ ।
खेलकुदका विषयमा खड्काले भन्नुभयो, "१० औँ राष्ट्रिय खेलकुद सम्पन्न गराउन सबै एकजुट भएर लाग्नुपर्ने हुन्छ । पूर्वाधार निर्माणमा बजेट अभावका विषयमा केन्द्र सरकार अग्रसर नै छ ।"