• २१ वैशाख २०८१, शुक्रबार

उजिरसिंहले चलाएको भगवती जात्रा

blog

हामी पुर्खाको पौरखमा निर्मित स्वतन्त्र तथा सार्वभौम देशमा रमाइरहेका छौँ । देशका लागि त्याग गरेका तर देशले चिन्न नसकेका व्यक्तिहरू पनि यो मुलुकमा छन् । नेपालको अस्तित्व रक्षामा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिमध्येका एक पुरुषार्थी हुन् कर्णेल उजिरसिंह थापा ।

रणबहादुर शाहको समयमा बलपूर्वक नसकी छलपूर्ण तरिकाले भए पनि पाल्पा राज्य (विसं १८६१) लाई नेपालमा विलय गराइयो तर पाल्पा राज्य अन्तर्गत पर्ने बुटबल र स्युराजलाई अङ्ग्रेजले आफ्नो हो भनी दाबी गर्‍यो । अङ्ग्रेजको चाहना पाल्पालाई कब्जा गरी पश्चिम नेपाललाई राजधानीबाट विच्छेद गर्ने र तराईको कृषियोग्य भूमि कब्जामा लिने थियो ।

नेपाल एकीकरणको कार्य पूरा भइनसक्दै नेपालको बुटबल र स्युराज क्षेत्रलाई अङ्ग्रेजले आफ्नो हो भनी दाबी गर्न थालेपछि अङ्ग्रेजसँग युद्ध गर्नुपर्ने नै भयो । अङ्ग्रेजले अक्टर लोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा बुटबल हुँदै पाल्पा कब्जा गर्ने तथा जनरल मार्लेको नेतृत्वमा मकवानपुर क्षेत्र कब्जा गर्ने योजना बनायो । पाल्पा क्षेत्रको सुरक्षार्थ कर्णेल उजिरसिंह थापाको नेतृत्वमा तीन हजार सैनिक खटाइयो ।

उजिरसिंहको फौजसँग एउटा मात्र तोप, केही बन्दुक र स्थानीय हतियारहरू मात्र थिए । उता अङ्ग्रेजसँग करिब चार हजार सङ्ख्यामा फौज थियो र उनीहरू आधुनिक हातहतियारले सुसज्जित थिए ।

दुःखको कुरा पूर्ण तयारीका साथ आएका अङ्ग्रेजसँग नेपाली फौजले वीरतापूर्वक लड्दादड्दै पनि पूर्वका केही किल्ला र पाल्पा–बुटवल क्षेत्रबाहेक पश्चिमका धेरै ठाउँमा पराजित हुनुपर्‍यो । अङ्ग्रेजले कब्जा जमाएको देउथल किल्लामा प्रत्याक्रमण गर्दैगर्दा सरदार भक्ति थापा (विसं १८७२) ले वीरगति प्राप्त गरे । नालापानीमा बडाकाजी अमरसिंह थापाका नाति (छोरीका छोरा) बलभद्रले बलले जितेको क्षेत्र अङ्ग्रेजको छल (पानीको नाकाबन्दी) ले गर्दा गुमाउनु पर्‍यो ।

उता बम शाहले महाकाली शारदा नदी पश्चिम सतलजको भूभाग पनि अङ्ग्रेजलाई बुझाई सन्धि गरे रे भन्ने हल्ला चल्यो । अमरसिंह थापा चारैतिरबाट शत्रुको घेराबन्दीमा परेपछि अझै एक पटक अङ्ग्रेजसँग लडाइँ गरी बलिदानी गर्नुपरे पनि पछाडि हट्नु हुँदैन भन्ने सोचाइमै थिए । आन्तरिक किचलोका कारण केन्द्र सरकारबाट उनलाई राम्रो सहयोग हुन सकेन ।

पाल्पाबाहेक अन्य मोर्चामा नेपालले हार्दै जाँदा नेपालको प्रतिनिधित्व गर्दै गजराज मिश्र र अङ्ग्रेजकातर्फबाट ब्राड शाबीच सन्  १८१५ नोभेम्बर २८ मा सुगौलीमा दुईपक्षीय सन्धि सम्पन्न गरियो । पहिलो सन्धि नेपाल सरकारबाट अनुमोदन नहुँदै सन् १८१५ डिसेम्बर २ मा ब्राड शाले एकपक्षीय संशोधन गरी सुगौलीमा हस्ताक्षर गरे भने डिसेम्बर ९ मा बङ्गालमा रहेका गभर्नर जनरलले त्यसमा हस्ताक्षर गरे । बालचन्द्र शर्मा (विसं २०३३) का अनुसार नेपालका तर्फबाट चन्द्रशेखर उपाध्यायले सन् १८१६ मार्च ४ मा मकवानपुर उपत्यकामा उक्त सन्धिपत्र बुझी आफ्नै छोरा उमानाथ हस्ते नेपाल सरकारलाई बुझाएका थिए । सुगौली सन्धिका आधारमा नेपाललाई संयुक्त राष्ट्रसङ्घको सदस्यता पाउन सहज भएको थियो पनि भनिन्छ ।

नेपाल एकीकरणपछि पाल्पा गौँडा सबैभन्दा संवेदनशील र सामरिक महत्वको क्षेत्र मानिन्थ्यो । यही संवेदनशीलतालाई विचार गरी भीमसेन थापाले पहिले आफ्नै बाबु अमरसिंह थापा (विसं १८६१) लाई जनरल बनाई पाल्पा पठाए । उनको पाल्मामै मृत्यु (विसं १८७१) भएपछि भीमसेनका विश्वासपात्र भतिज अर्थात् नयनसिंहका छोरा १९ वर्षका उजिरसिंह थापालाई कर्णेल बनाई पाल्पा पठाइयो ।

पाल्पा आएर उनले थुप्रै रचनात्मक काम गरे । आन्तरिक र वैरीसँगको मुकाबिला गर्न सैनिक शक्तिको राम्रो प्रबन्ध मिलाउनुपर्ने थियो । पहिले उनले पाल्पा गौँडाबाट जङ्गी, निजामती र न्याय सम्पादन कार्यको राम्रो प्रबन्ध मिलाए । उजिरसिंहले पाल्पामा राजस्व सङ्कलन गर्न तहसिल अड्डा र जङ्गी बन्दोबस्तीका लागि सिलखाना, बारुदखाना, मेगजिन, तोपखाना, हात्तीसार, घोडा तबेला आदि अड्डाहरू स्थापना गरेका थिए ।

न्याय सम्पादन गर्न विसं १८७९ मा ६ परिच्छेदको ‘जङ्गी तथा निजामती स्थिति बन्देज’ नामको एकीकृत ऐनको संहिता मस्यौदा तयार गरियो । अङ्ग्रेजसँगको युद्धमा सबैभन्दा महत्वपूर्ण कठिन किल्ला पाल्पा गौँडा अन्तर्गत पर्ने बुटबल बजारको पश्चिमपट्टि बग्ने तिनाउ नदीको किनारमा अवस्थित जितगढी नै थियो । यो गढी पहाडको टाकुरामा निर्माण गर्ने प्रचलनविपरीत होचो र पहाडको खोचमा थियो । जितगढीदेखि करिब सात किलोमिटरमाथि डाँडामा नुवाकोटगढी र करिब आठ किलोमिटर टाढा अर्को काठेगढी थियो ।

नुवाकोटगढी र काठेगढी उजिरसिंह थापाले निर्माण गर्न लगाएका थिए । यिनै गढीमा उनले आफ्ना तीन हजार फौजलाई वितरण गरी बलले मात्र नभई छलको कूटनीतिसमेत प्रयोग गरी युद्ध जित्न सफल भए । छलको कूटनीतिका साथ गरिएको जितगढीको दुवै युद्धमा अङ्ग्रेजको फौज नराम्रोसँग हार्नु पर्‍यो । यो युद्धमा दुवैतर्फ ठूलो क्षति भए पनि नेपालले हार्नु परेन । उजिरसिंह थापाको राष्ट्रका निम्ति सबैभन्दा ठूलो योगदान नै अङ्ग्रेजलाई युद्धमा हराउनु थियो । नेपालको इतिहासमा जितगढीको युद्ध सबैभन्दा महत्वपूर्ण र अविस्मरणीय मानिन्छ ।

कमजोर हातहतियार र कम सैन्य शक्ति हुँदाहुँदै पनि पाँच महिनासम्मको लामो युद्धमा नेपाली फौजले अङ्ग्रेजलाई पटक पटक नराम्रोसँग पराजित गर्नुमा यिनै उजिरसिंह थापाको चातुर्य युद्धकला र साहसी नेतृत्व क्षमता नै थियो । अङ्ग्रेजसँग जितगढीमै भीषण युद्ध विसं १८७१ र १८७२ मा दुई पटक भयो । यी युद्धको नेतृत्व नेपालका तर्फबाट कर्णेल उजिरसिंह र अङ्ग्रेजका तर्फबाट जोन सुलेमान उडले गरेका थिए ।

अङ्ग्रेजसँग हाक्काहाक्की लड्ने काम भक्ति थापा, बलभद्र कुँवर र अमरसिंह थापाले गरे पनि युद्धकलाबाटै अङ्ग्रेजको होस् उडाउने र मातृभूमिको रक्षा गर्न यिनै उजिरसिंह थापा मात्र सफल भएका थिए । नेपालमाथि भएको आक्रमणमा जितगढीको लडाइँबाहेक अङ्ग्रेजसँग चार स्थानमा नेपालले हार बेहोर्नु परेको थियो ।

उनको युद्धनीति अरूको भन्दा फरक थियो । उनी युद्धलाई जसरी हुन्छ लम्ब्याएर दीर्घकालमा जनयुद्ध बनाउन चाहन्थे । अग्लो ठाउँबाट होचो ठाउँमा प्रकृतिको सहयोग लिई घरेलु हतियार प्रहार गर्ने छापामार युद्धकौशलबाट हार खाएपछि अङ्ग्रेजहरू सन्धि गर्न बाध्य भएका हुन् । किनकि यो छापामार युद्धकला अन्य क्षेत्रमा पनि फैलिएको भए अङ्ग्रेजलाई यस्तै सकस अन्यत्र पनि पर्नेवाला थियो । दुर्भाग्यवश नेपाल र इस्ट इन्डिया कम्पनी सरकारबीच विसं १८७२ फागुन २३ गते सुगौली सन्धि भयो ।

सुगौली सन्धिबाट नेपालले धेरै भूभाग गुमाउनु पर्‍यो तर सौभाग्यको कुरा अङ्ग्रेजसँग आत्मसमर्पण गर्न र उसलाई नेपाल बुझाउनु परेन ।

पश्चिममा नालापानी, मलाउ आदि क्षेत्रमा अङ्ग्रेजहरूको जित भएपछि आफ्नो अनुकूलमा नेपाललाई सुगौली सन्धिमा हस्ताक्षर गर्न उसले बाध्य बनाएको थियो । सुगौली सन्धिले नेपालको सिमाना पूर्वमा मेची नदी, पश्चिममा महाकाली, दक्षिणमा चुरे पहाड साँध लगाइदियो ।

नेपालले अधिकांश मैदानी इलाका गुमाउनु परे पनि मुख्य विवादका रूपमा रहेको बुटवल नेपालले पाउने सन्धि गरेपछि पाल्पाका तैनाथवाल उजिरसिंह थापा निकै खुसी भए । युद्ध क्षेत्रमा प्रवेश गर्नुभन्दा पहिले कर्णेल उजिरसिंह थापाले हातहयिार र गोलाबारुदको उचित व्यवस्था गरेका थिए । उनले सडक, पुल, कल्भर्ट र किल्लायुक्त चौकीहरूको निर्माण गर्नुबाहेक विभिन्न देवता र देवीहरूको पूजा गर्ने व्यवस्था मिलाए । तानसेन बजारको बीचमा रहेको १६ हातको महिषासुर मर्दिनी भगवतीको खुट्टा छोएर कर्णेल उजिरसिंहले शपथ खाएका थिए ।

धर्मप्रतिको आस्थाका कारण अङ्ग्रेजसँगको युद्धमा जाँदा उनले तानसेनकी भगवतीका सामु शक्तिको वरदान माग्दै युद्धमा विजयी भएमा भगवती माताको कलात्मक मन्दिर बनाई अष्टधातुको मूर्तिसमेत स्थापना गर्ने र प्रत्येक वर्ष भगवतीको सिन्दूर जात्रा गराउने भाकल गरेका थिए । यही भाकल अनुसार युद्ध जितेपछि पाल्पाको तानसेनमा ‘रणउजिरेश्वरी भगवती’ को भव्य मन्दिर निर्माण गर्न लगाई भगवतीको सिन्दूर जात्रा गर्ने परम्पराको थालनी उनैले गरेका हुन् ।

अङ्ग्रेजलाई परास्त गरी राष्ट्रियता बचाएको अवसरमा श्री रणउजिरेश्वरी भगवती सिन्दूर जात्रा विजयोत्सवका रूपमा मनाउँदै आएको पाइन्छ । अझै पनि तानसेनको भगवती टोलस्थित भगवती मन्दिरबाट श्री ७ रणउजिरेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूर जात्रा गर्दै बाजागाजाका साथ रथयात्रा सुरु गरिन्छ । रथयात्रालाई तानसेन दरबार परिसर हुँदै दरबारको मूलढोकाबाट निकालेर बजार परिक्रमा गराइन्छ । रथयात्रा बजार परिक्रमापछि भगवती मन्दिर परिसरमै पुगेर विसर्जन गर्ने गरिन्छ । खट (काठको मञ्च) मा देवताहरूको आकृति राख्ने र त्यसपछि उनीहरूलाई जुलुसमा निकाल्ने काम खटजात्रामा हुन्छ ।


यो परम्परा काठमाडौँ उपत्यकामा परापूर्वदेखि चलेको र हालसम्म कायमै छ । पाल्पाका विभिन्न भागमा यस्तैगरी खटजात्रा मनाइन्छ तर रणउजिरेश्वरी भगवती जात्रा भने धर्मसँग मात्रै होइन राष्ट्रवादसँग पनि जोडिएको छ ।

कर्णेल उजिरसिंहले भाकल पूरा भई अङ्ग्रेजसँगको लडाइँमा विजय प्राप्त गरेको हुँदा विसं १८७२ मा तीन तले भगवती मन्दिर निर्माण गरेका थिए तर रणउजिरेश्वरी भगवती जात्रा भने धर्मसँग मात्रै जोडिएको छैन । दुई सय वर्ष पहिले कर्णेल उजिरसिंह थापाले नै मल्ल वर्ण विहार ललितपुरका चन्द्रमणि गुभाजुलाई पाल्पा ल्याएका थिए । जसबाट नित्य–नैमैतिक पूजा र वर्ष बन्धन पूजा (करक पूजा), कालरात्रि अष्टमी र चैते दसैँका बेला तान्त्रिक अनुष्ठान तथा पूजा गर्ने काम हुन थाल्यो ।

पाल्पास्थित यो ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिर केही समयदेखि धार्मिक पर्यटकका लागि उचित गन्तव्य बनेको छ । पाल्पाको भगवती जात्रा बुधबार मनाइन्छ । यस जात्रामा रथसँगै सहर परिक्रमा गर्दा सङ्गीत ब्यान्ड र नर्तकहरू साथसाथै नेपाली सेनाका सिपाही, ढाल र तरबार बोकेर गुरुज्यू पल्टनका सिपाही, प्रहरी, सरकारी कर्मचारी, विद्यार्थी, आमजनता आदि सहभागी हुन्छन् । रथ जब ब्यारेकको गेटमा प्रवेश गर्छ तब सिपाहीहरूले आफैँले काँधमा रथ उठाउँछन् ।

यस जात्राको एक आधारभूत पक्ष भनेको एक नियमित पुजारीको दैनिक अनुष्ठान र मन्दिरमा पूजाको व्यवस्था गर्नु हो । यो जात्राको विशेषता भनेको नै विजय र आनन्दको उत्सव हो । एक विशेष सजिएको रथमा आकर्षक छाता हुन्छ भने विभिन्न रङको चटामरी रथमा अर्पण गरिन्छ । कुनै जातीय भेदभाव छैन । रस्सीबाट रथ तान्ने र बोक्ने अनि जीवनमा कम्तीमा एक पटक हेर्नैपर्ने जात्रा मानिन्छ यो । लगभग दुई सय वर्षको इतिहाससँग एक सुन्दर, शक्तिशाली, गौरवशाली जात्रा पाल्पाले पाएको छ ।

तानसेनमा यस जात्राले कृष्णको जन्मलाई चिह्नित गर्ने सबै उत्सवलाई छायामा पारिदिन्छ । भगवान् कृष्णको प्रार्थनापछि स्थानीय भगवती मन्दिरमा जम्मा हुन थाल्छन् । दिनको समयमा शान्त मन्दिर त्यो रात बत्तीहरू जलाइने भएकाले एक रङ्गीन संसारमा परिणत हुन्छ । भगवती जात्रामा धेरै मानिस लाखेका रूपमा परिचित हुन चाहन्छन् । नेवारी संस्कृतिमा लाखे एक राक्षस हो, जो जङ्गलबाट अन्य दुष्ट प्राणीबाट ग्रामीणलाई बचाउन उभिएको हुन्छ । यो पर्व जसले शाब्दिक रूपमा तानसेनलाई हरेक वर्ष उज्यालो दिन्छ । यो देवी भगवतीको पूजाभन्दा धेरै फराकिलो अर्थमा छ । विसं १९९२ मा श्री ३ जुद्धशमशेरबाट मन्दिर जीर्णोद्धार गराउने हुकुम प्रमाङ्गी अनुसार उजिरसिंहकै सन्तानले मन्दिरको २०३१ सालमा मर्मत सम्भार गरेका थिए । तत्कालीन राजा वीरेन्द्रबाट त्यसबेला मर्मतका लागि एक लाख रुपियाँ निकासा गराएको देखिन्छ ।

बडाकाजी अमरसिंह थापाका जिजुहजुरबा वीरभद्र थापा पृथ्वीनारायण शाहका सुयोग्य भारदार हुन् । बाजे काजी अमरसिंह थापा पनि बाकुमगढी युद्ध (पाल्पामा आक्रमण गर्दा) का नायक र पाल्पाका पहिलो प्रशासक (जनरल) हुन् । बुवा नयनसिंह थापाले नेपाल एकीकरणकै अभियानमा पन्जाबका राजा रणजीतसिंहका फौजसँग काँगडाको युद्धमा वीरगति प्राप्त गरेका थिए । उजिरसिंहका बावु नयनसिंह, बाजे काजी अमरसिंह थापा, जिजुबाजे बडाकाजी अमरसिंह थापा, भाइ नेपालका प्रधानमन्त्री माथवरसिंह थापा, दिदी गणेशकुमारी जङ्गबहादुर राणाकी आमा र बहिनी महारानी ललितत्रिपुर सुन्दरी पनि नेपाल एकीकरण अभियानमा समर्पित भएका थिए ।

राष्ट्रनिर्माणमा उनीहरूको योगदान कम छैन । देशको अस्तित्व रक्षाका निम्ति जिउज्यानको बाजी लगाएर बल र बुद्धि दुवै उपयोग गरी वैरीसँग लड्ने नेपाल आमाका वीर सपूतहरूमध्येका वीरोत्तम योद्धा कर्णेल उजिरसिंह थापा हुन् । बुटवल र स्युराज (कपिलवस्तु) उजिरसिंहको पुरुषार्थको पौरख हो भन्दा पनि अतिशयुक्ति हुँदैन ।


उजिरसिंह थापाको जन्म विसं १८५२ चैत्र कृष्ण प्रतिपदाका दिन भएको थियो । पाल्पामै कामको धपडी र औलो रोगका कारण गम्भीर बिरामी हुँदा उनलाई उपचारका लागि काठमाडौँ लगियो तर २९ वर्षको कलिलो उमेरमा विसं १८८१ मङ्सिर १२ गते उनको निधन भएको थियो । नेपालको एकीकरण, संरक्षण र संवर्धनमा आजसम्म हजारौँले रगत र पसिना बगाएका छन् । यिनीहरूमा उजिरसिंह थापाको बलिदानी अनुपमेय र अविस्मरणीय छ । पाल्पाको तानसेन र जितगढीमा उजिरसिंह थापाको पूर्णकदको सालिक बनाइएको छ र हरेक वर्ष सिन्दूर जात्रा गरी विजय उत्सव मनाइन्छ ।

पुरुषार्थी उजिरको कामको अनुसरण र नामको स्मरणले मात्र पनि नेपाल र नेपाली इतिहास थप गौरवशाली बन्ने छ । पुर्खाको पौरखलाई संरक्षण र संवर्धन गर्नु हामी सबैको कर्तव्य हो । उनले आफूलाई पूर्ण रूपमा देशका लागि समर्पण गरे । आफ्ना लागि समय नै बचाएनन् । देशका लागि तन, मन, धन बिसर्जित गर्दै गए । उनको जीवन देशभक्ति कार्यले ज्योतिष्क बन्यो । मानौँ उनी यस लोकका नै होइनन्, आलोकको लोकबाट नेपालको नाक बचाउन अवतार लिएर आएका हुन् ।

उनको जीवनी पढ्दा जगमग–जगमग गर्दै चम्किँदै गरेको अनुभूति हुन्छ । लाग्दछ अन्तज्र्वालालाई उनले आफ्नो सर्वाङ्गमा अपनाएको हुँदा नै सफल नेतृत्वको कारण आज नेपाल उज्ज्वल र जाज्वल्य बनेको छ । उनको चरित्र पाठ बन्न पुगेको छ । बाँच्नु उनको आफ्नो थिएन, देशको शिर उच्च बनाउनका लागि थियो ।   

Author

शीतल गिरी