प्रेमराज सिम्खडा
कालीकोट, मङसिर १२ गते । कर्णाली करिडोर अन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका –६ घाटाचौर क्षेत्रमा सुक्खा पहिरो खसेर पुरिएका कामदारको शव निकालिएको छ । बिहीबार दिउँसो कर्णाली करिडोरको घाटचौर भिरमा सुक्खा पहिरोमा पुरिएका कामदारको शब आज निकालिएको हो ।
सडक खन्न प्रयोग भइरहेको डोजरका लागि डिजल बोकेर हिँडेका पचालझरना –७ नुवाखेतका २९ वर्षीय पृथ्वी बोहोरा पहिरोमा पुरिनुभएको थियो । हिजोबाट डोजरले चट्टान पन्छाएपछि आज दिउँसो उहाँको शव निकालेर आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
पहिरोसँगै चट्टान खसेकाले पुरिएका बोहोरालाई निकाल्न ढिलाइ भएको प्रहरीले जनाएको छ । बिहीबार बेलुका शव निकाल्ने प्रयास गरिए पनि अँध्यारोले सम्भव नभएको स्थानीय टेकबाहादुर बोगटीले बताउनुभयो ।
कर्णाली करिडोरअन्तर्गत थिर्पु घाटचौरबाट बाजुराको पिलुचौरसम्म नेपाली सेनाको विकास निर्माण कार्यदलले विस्फोटनसहित ११ किलोमिटर सडक निर्माण गरिरहेको छ ।