भावना जोशी
अत्तरिया, पुस १७ गते । १९९७ सालमा प्राथमिक अस्पतालका रूपमा स्थापना भएको सेती प्रादेशिक अस्पताल ८४ वर्षे यात्रामा छ । सुदूरपश्चिम प्रदेशको एक मात्र सरकारीस्तरको यो ‘रेफरल’ अस्पताल हो । यस प्रदेशका नौ वटै जिल्लाबाट बिरामी रिफर भएर उपचारका लागि यहाँ आउने गर्छन् । यहाँको औषधी उपचार सेवा हेर्दा सेवाग्राहीलाई सास्ती भोग्नुबाहेक कुनै सुधार देखिँदैन ।
२०४० सालमा राजा वीरेन्द्रको सुदूरपश्चिम भ्रमणका क्रममा २५ शय्याको अस्पतालबाट ५० शøयामा स्तरोन्नति भएको सेती प्रादेशिक अस्पतालले नेपाल सरकारबाट १२५ शय्याको स्वीकृति पाएको छ ।
२०७५ सालमा केन्द्र सरकारले अञ्चल अस्पताललाई प्रदेश अस्पतालका रूपमा स्तरोन्नति गरी प्रदेश सरकार मातहतमा हस्तान्तरण गरेको थियो । प्रदेश सरकारमातहतमा अस्पताल आए पनि छ वर्षसम्म कुनै सुधार हुन सकेको छैन । अस्पतालका लागि आवश्यक पर्ने दक्ष जनशक्ति, स्वास्थ्य उपचार सेवा र पर्याप्त उपकरण थप हुन सकेको छैन । भौतिक पूर्वाधार र उपकरण अभाव ज्युँका त्युँ नै छन् ।
सरकारी अस्पताल भए पनि सेवाग्राहीले गुणस्तरीय तथा सहज रूपमा स्वास्थ्य उपचार सेवा तथा सुविधा पाउन सकेका छैनन् । संविधानले स्वास्थ्य उपचार सेवालाई मौलिक हक र कर्तव्य उल्लेख गरेको छ । प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गर्न नपाउने व्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेशका नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हकसमेत रहेको छैन ।
सरकारले अस्पतालको स्तरवृद्धि गर्न नसक्दा बिरामीले उपचार पाउन नसकेको भनाइ सर्वसाधारणको छ । सामान्य अपरेसन गर्नका लागि एक वर्षसम्म पालो कुर्नुपर्ने अवस्था रहेको सेवाग्राही बताउँछन् ।
जटिल खालका बिरामीको उपचार गर्न छिमेकी देश भारत तथा राजधानी काठमाडौँ जार्नेपर्ने बाध्यता रहेको छ । बिरामीको चाप अनुसार स्वास्थ्यकर्मी नहुँदा समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. शेरबहादुर कमरले बताउनुभयो । सरकारको स्वीकृतिबिना ३०२ शय्या क्षमतामा अहिले सेती प्रादेशिक अस्पताल सञ्चालन भइरहेको छ । आर्थिक वर्ष २०७९/८० मा यो अस्पतालले दुई लाख ३५ हजार ३१८ बरामीको ओपिडी उपचार गरेको छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कमरका अनुसार स्थायी जनशक्ति ५० शय्याका लागि मात्रै भए पनि अस्पताल विकास समितिबाट थप ७५ शय्यासहित १२५ शय्या हेर्न जनशक्ति नियुक्त गरिएको छ । सीमित जनशक्ति र स्रोत साधनबाट १४ वटा विभाग सञ्चालनमा छन् । सर्जरी विभाग अन्तर्गत युरो र न्युरोसहित जनरल सर्जरी गरिन्छ । मेडिसिन/कार्डियो विभाग, बालरोग विभाग, हाडजोर्नी विभाग, प्रसूति विभाग, छालारोग विभाग सञ्चालनमा रहेका छन् ।
त्यस्तै एनेस्थेसिया, नाक, कान, घाँटी विभाग, दन्त रोग विभाग, आकस्मिक विभाग, रेडियोलोजी विभाग, फिरेन्सिक विभाग, प्याथोलोजी र मानसिक रोग विभागबाट नियमित बिरामीको उपचार भइरहेको उहाँले बताउनुभयो । शल्यक्रिया गर्न एनेस्थेसियोलोजिस्ट आवश्यक पर्ने र रोगको निदान गर्न रेडियोलोजिस्ट आवश्यक भए पनि दुई/दुई जना रेडियोलोजिस्ट र एनेस्थेसियोलोजिस्ट मात्रै कार्यरत छन् । रेडियोलोजिस्ट र एनेस्थेसियोलोजिस्टको विज्ञापन गर्दा पनि निवेदनसम्म नपरेको अस्पतालले जनाएको छ ।
स्थायी, करार ज्यालादारी र अस्पताल विकास समितिले नियुक्त गरेका सहित ३६७ जना जनशक्ति कार्यरत छन् । अस्पतालमा ३०२ शय्या सञ्चालन गर्न ७७० जना जनशक्ति आवश्यक रहेको निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. कमरले बताउनुभयो ।
दैनिक ४० देखि ४५ जना बिरामीको डायलासिस हुने गरेको छ । जनशक्ति र उपकरणको अभाव नै सेती प्रादेशिक अस्पतालको प्रमुख चुनौती रहेको छ । प्रदेश सरकारले दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरे पनि व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्म भएको छैन । अस्पतालको अर्को समस्या भनेको निर्माणाधीन नयाँ भवन हस्तान्तरण नहुनु पनि हो । पाँच वर्षदेखि निर्माणाधीन भवनको काम पूरा नहुँदा सेवा विस्तार गर्न समस्या परेको अस्पताल विकास समतिका अध्यक्ष नरबहादुर शाहले बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयले अस्पताल सुधार र स्तरोन्नतिको काम सेती प्रादेशिक अस्पतालबाट सुरु गरेको बताएको छ । प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले अस्पताल सुधार र स्तरोन्नतिको काम सेतीबाट सुरु गरेको बताउनुभयो ।
चालु आर्थिक वर्षभित्रै प्रादेशिक अस्पताल निर्माणका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने मन्त्री साउदले बताउनुभयो । सेतीमा उपचार मात्रै होइन शैक्षिक गतिविधि पनि हुनु पर्छ भन्ने योजना अगाडि सारिएको उहाँले थप्नुभयो ।