कोकिला ढकाल
इलाम, पुस १६ गते । घर वरिपरि पहेँलै अनि लटरम्म सुन्तला । बोटदेखि भुइँसम्म लत्रिएका दाना, देख्दै टिपौँ टिपौँ लाग्ने सुन्तला स्याहार्दै इलाम नगरपालिका–५ का किसान सामवेद चापागाईंको दिन जान्छ अचेल ।
२०६० सालबाट सुन्तला खेती सुरु गरेका चापागाईंले यो वर्ष आफ्नो बगान १० लाख रुपियाँमा बिक्री गर्नुभएको छ । “सुन्तला लगाएको पहिलो वर्ष तीन हजार रुपियाँमा बगान बिक्री गर्दा खुसीले गदगद भएको थिएँ, अहिले सम्झँदा अचम्म लाग्छ,” चापागाईंले भन्नुभयो, “अहिले यस्तो बगान भेट्न गाह्रो छ, धेरै बगान मास्सी सकेका छन् ।” गत वर्ष चार लाख रुपियाँका बगान बिक्री गरेका चापागाईंलाई यो वर्षको आम्दानी पनि नसोचेकै आम्दानी हो । “उत्पादन कम भएपछि व्यापारीले मूल्य बढाउन थालेका हुन्,” चापागाईं भन्नुहुन्छ, “बिहान उज्यालो हुँदा बगानमै पुग्छु, साँझसम्म पनि सुन्तलाको स्याहारसुसार, किरा नियन्त्रण, सिँचाइ यस्तैमा दिन बित्छ ।”
करिब १८ रोपनी जमिनमा सुन्तला लगाएका चापागाईंले सुकेका बोट हटाएर नयाँ बिरुवा पनि थप्दै हुनुहुन्छ । “एउटा उत्कृष्ट बगान बनाउन मन छ, त्यसमै लागिपरेको छु ।”
यतिबेला सुन्तलाको मुख्य सिजन पनि हो । कात्तिक दोस्रो सातादेखि बजारमा निस्किएको सुन्तलाको खुद्रा मूल्य अहिले प्रतिकिलो १२० देखि १५० रुपियाँसम्म छ तर धेरै जसो बगानका बोट सुकेर रित्तिसकेका छन् । बर्सेनि बोटै सुकेर सुन्तलाको उत्पादन कम हुन थालेपछि किसान चिन्तित छन् । यो वर्ष गत वर्षभन्दा निकै कम फल लागेको किसान बताउँछन् । पाँच÷छ वर्षको वयस्क बोटमा पनि दाना कलिलैमा पहेंँलो हुने, भित्रभित्रै किरा पर्ने र बोटै पहेँलो भएर सुक्ने भएपछि त्यसको उपचार गर्नै नसकिएको किसानको भनाइ छ ।
कृषि ज्ञानकेन्द्र इलामले पनि यो वर्ष विगतमा भन्दा सुन्तलाको उत्पादन घटेको जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा इलाममा २७८.५ हेक्टर जमिनमा मात्र सुन्तला खेती भएको ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले बताउनुभयो । गएको आव २०७९/८० मा २८० हेक्टर जमिनमा सुन्तला खेती भएको थियो । त्यसबाट दुई हजार ७४४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । आव २०८०/८१ मा ७४० मेट्रिक टन सुन्तला उत्पादन भएको जनाइएको छ । इलाम नगरपालिका–५, माईजोगमाईको नाम्सालिङ, रोङको वडा नम्बर ६ लगायतका क्षेत्रमा मात्र सुन्तला उत्पादन भएको बर्देवाले बताउनुभयो । “पुरानो बोट, रोग किरा, मौसम परिवर्तन, समयमा छाँटकाँट र सिँचाइको अभाव, जलवायु परिवर्तनको असर आदि कारणले पनि बगान मासिँदै गएका हुन् ।” बर्देवाले भन्नुभयो, “अहिले उच्च क्षेत्रमा पनि सुन्तला फल्न थालेका खबर आएका छन् । किवी खेती हुने स्थानतिर सुन्तला फलेको पाइएको छ ।” ज्ञानकेन्द्रले पनि सुन्तला मासिन नदिन बगैँचा व्यवस्थापन सुदृढीकरण कार्यव्रmम सुरु गरेको बर्देवा बताउनुहुन्छ ।