अमरगढी समाचारदाता
डडलधुरा, असार १५ गते । सुदूरपश्चिम प्रदेशमा रक्तअल्पताको समस्या उच्च रहेको पाइएको छ । यहाँका हरेक एक सय बालबालिकामध्ये ४५ जनामा रक्तअल्पताको समस्या देखिएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्क छ । शनिबार डडेलधुरा सदरमुकाममा प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको स्थानीय तहमा पोषण कार्यक्रम कार्यान्वयन सम्बन्धमा पोषण सहजकर्तासँग समीक्षा कार्यक्रममा निर्देशनालयका जनस्वास्थ्य अधिकृत धीरेन्द्र नाथले यहाँको झन्डै आधा जनसङ्ख्यामा रक्तअल्पताको समस्या देखिएको बताउनुभयो ।
सुदूरपश्चिमका सात पहाडी जिल्लाका ६६ वटा पालिकाका पोषण संयोजकसँग गरिएको समीक्षा कार्यक्रममा उहाँले रक्तअल्पताको समस्या सुदूरपश्चिममा ४५ जनामा देखिएको बताउनुभयो । ४० प्रतिशतभन्दा माथि उच्च मानिन्छ । उहाँले भन्नुभयो, “हाम्रो प्रदेशमा एक सयमध्ये ४५ जनामा रक्तअल्पता हुनु धेरै नै उच्च हो ।” बालबालिकासँगै किशोरी र गर्भवती महिलामा समेत रक्तअल्पताको समस्या देखिएको उहाँले बताउनुभयो । एक सय जना गर्भवती महिलामध्ये ३४ मा रक्तअल्पताको समस्या देखिएको तथ्याङ्क उहाँले प्रस्तुत गर्नुभयो । प्रजनन उमेरका महिलामा पनि रक्तअल्पताको समस्या रहेको उहाँले जानकारी दिनुभयो । शरीरमा रातो रगतका कोषिका वा हेमोग्लोबिनको मात्रा सामान्यभन्दा कम हुनु रक्तअल्पता हो । यसले गर्दा शरीरका अङ्गहरूमा पर्याप्त अक्सिजन पुग्दैन । आइरनको कमीले रक्तअल्पता हुन्छ । रगत बनाउन आइरन आवश्यक हुन्छ ।
उहाँका अनुसार गत जेठमा गरिएको तथ्याङ्क सङ्कलनमा सुदूरपश्चिम प्रदेशमा छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा कुपोषण पनि उच्च छ । उमेर अनुसार उचाइ नभएका बालबालिका एक सयमध्ये २५ जना, उमेर अनुसार तौल नहुनेको सङ्ख्या २५, उचाइ अनुसार तौल नहुनेको सङ्ख्या १५ जना रहेको छ । मध्यम र शीघ्र कुपोषण सुदूरपश्चिममा १५ प्रतिरशत रहेको उहाँले बताउनुभयो ।
छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाको सङ्ख्या सुदूरपश्चिममा दुई लाख १० हजार ४४४ रहेको र यीमध्ये उचाइ अनुसार तौल नभएकाको सङ्ख्या ३१ हजार ७७७ रहेको उहाँले बताउनुभयो । वर्षभरिमा ८२ हजार ६२० बालबालिका कुपोषित हुने बताउँदै उहाँले प्रतिशतका हिसाबले ४५ हुन आउने र यो आपत्कालीन अवस्था भएको जानकारी दिनुभयो । कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानाले कुपोषण र रक्तअल्पतामा कमी ल्याउन आगामी साउनदेखि पञ्चवर्षीय योजना लागु हुने जानकारी दिनुभयो । साउनदेखि सबै पालिकामा पुगेर पञ्चवर्षीय योजना बनाउने उहाँको भनाइ थियो ।