चितवन समाचारदाता
चितवन, असार १५ गते । नारायणी नमुना माध्यमिक विद्यालय भरतपुरमा अध्ययनरत आकृतिकुमारी झाले भन्नुभयो, “पढेको कुरा बुझेर एकाग्र भएर पढ्दा सफल हुन सकिने रहेछ ।” यस वर्षको एसइई परीक्षामा उहाँले चार जिपिए ल्याएर उत्तीर्ण हुनुभएको छ । “परीक्षामा सफल हुनका लागि राति अबेरसम्म पढ्नेभन्दा पनि सामाजिक सञ्जालबाट टाढा रहेर समय व्यवस्थापन गर्दा पढेको बुझिने रहेछ भन्ने मैले अनुभव गरेको छु,” उहाँले भन्नुभयो । उहाँ मात्र होइन, सोही विद्यालयबाट चार जिपिए ल्याउने अर्का विद्यार्थी विवेक सिलवालले भन्नुभयो, “नजानेको कुरा सोध्न लजाउने र असजिलो मान्ने गर्न हँुदैन ।”
“मैले आफैँ प्रश्न बनाउने र उत्तर लेख्ने गरेको थिएँ । हरेक प्रश्नको हल गर्ने, सबै प्रश्न सोधिन सक्छ भन्ने मानेर पढ्नु पर्छ,” उहाँले बताउनुभयो । अहिले हामीलाई समस्या बनाएको नेपाली र सामाजिक भाषा विषय हो । “यस्ता विषयमा जति लेखे पनि नम्बर कम आउने भयो,” उहाँले भन्नुभयो, “त्यसैले नबुझेको कुरा शुद्धाशुद्धीमा शिक्षकलाई सोधेरै लेख्न पर्छ ।”
आकृतिका अभिभावक सन्तोषकुमार झाले अतिरिक्त कक्षा पढ्न नमान्ने भएपछि छोरीलाई सफल सामाजिक व्यक्तिसँग परिचय गराएको बताउनुभयो । उहाँको सफलताको विषय थाहा पाएपछि पढ्नु पर्छ भन्ने हौसला छोरीमा विकास भयो र मेहनत गर्न थालेकी हो, उहाँले भन्नुभयो । विद्यालयका सामाजिक शिक्षक खिमानन्द सापकोटाले पढाइको वातावरण बनाइदिने, सोधेको समयमा सिकाइदिने गरेमा विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सक्ने बताउनुभयो । नारायणी माविबाट यस वर्ष ३६७ जनाले एसइई परीक्षा दिएका थिए । तीमध्ये सात जनाले चार जिपिए, ३.६ देखि ४ सम्म २६५ जना पास भएका छन् ।
चितवनमा ७३ प्रतिशत उत्तीर्ण
माध्यमिक शिक्षा परीक्षा एसइईमा चितवनबाट ३७ जनाले चार जिपिए प्राप्त गरेका छन् । गत वर्ष १६ जनाले चार जिपिए ल्याएको जिल्लामा अहिले वृद्धि भएर ३७ जना पुगेको शिक्षा विकास तथा समन्वय एकाइ चितवनका परीक्षा शाखाका प्रमुख रमेश अधिकारीले जानकारी दिनुभयो । कार्यालयका अनुसार यस वर्ष चितवनमा ७३.५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यस वर्ष प्राविधिकतर्फ ८४ जनासहित सात हजार ८८७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । जसमध्ये ३७ जनाले चार जिपिए अङ्क प्राप्त गरेका छन् । यी सबै सामुदायिकतर्फका विद्यार्थी हुन् । सबैभन्दा धेरै नारायणी नमुना माविका सात जनाले चार जिपिए ल्याएको परीक्षा शाखाका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
पाँच विद्यार्थीले ल्याए चार जिपिए
हेटौंँडा समाचारदाताका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकवानपुरका पाँच जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुव्रmबार सार्वजनिक गरेको नतिजा अनुसार हेटौँडा–४ स्थित नवोदय शिशु सदनका दुई जना, हेटौँडा–२ स्थित बाल जागृति इङ्ग्लिस सेकेन्डरी स्कुल, हेटौँडा–५ स्थित बालज्योति मावि र हेटौँडा–१० स्थित सोलिड्यारिटी इन्टरनेसनल एकेडेमीका एक÷एक जना विद्यार्थीले चार जिपिए ल्याएको शिक्षा विकास तथा समन्वय एकाइ मकवानपुरले जनाएको छ ।
नवोदय शिशु सदनका विमर्श श्रेष्ठ र अनुषा उप्रेती, बाल ज्योतिकी अस्मिता घिमिरे, सोलिड्यारिटीका सचिनकुमार यादव र बाल जागृतिकी अनुप्रस्था देवकोटाले चार जिपिए ल्याएका हुन् । ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थी ३७८ जना छन् । ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८०२ जना विद्यार्थी छन् । २०८१ सालको एसइईमा मकवानपुरका ४६.८६ प्रतिशत विद्यार्थी ग्रेडेड हुनुभएको छ । परीक्षामा सहभागी पाँच हजार ८८७ जना विद्यार्थीमध्ये दुई हजार ७५९ जना मात्रै ग्रेडेड हुनुभएको छ । तीन हजार १२८ जना विद्यार्थी ननग्रेडेड हुनुभएको छ ।
दोलखामा ५४.०८ प्रतिशत उत्तीर्ण
दोलखा समाचारदाताका अनुसार, दोलखाका ५४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नतिजा अनुसार दोलखाका एक हजार १६५ अर्थात् ५४.०८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय एकाइ दोलखाले जनाएको छ । नतिजा अनुसार ९२ जनाले ३.६ देखि चार जिपिए, ३१५ जनाले ३.२ देखि ३.६ जिपिए, ४९५ जनाले २.८ देखि ३.२ जिपिए प्राप्त गरेर उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय एकाइ दोलखाका प्रमुख भरत भट्टराईले जानकारी दिनुभयो ।