• १४ मंसिर २०८१, शुक्रबार

पर्यटक बढाउन राप्तीमा र्‍याफ्टिङ

blog

देउखुरी समाचारदाता

देउखुरी, पुस १६ गते ।  दाङको राप्ती गाउँपालिका–१, पुलचोक भालुवाङमा लक्ष्मी खनालले होटल व्यवसाय सञ्चालन गर्नुभएको करिब ११ वर्ष बित्यो । भालुवाङ नजिकैबाट राप्ती नदी बगेको छ । राप्तीलाई आधार बनाएर उहाँले यहाँ होटल सञ्चालन गर्नुभएको हो । 

यहाँका स्थानीय व्यापारीले राप्ती नदीबाट त्यस्तो कुनै आर्थिक लाभ उठाउन सकेका छैनन् । प्रदेशको स्थायी राजधानी घोषणा भए पनि व्यापारिक चहलपहलले सोचे जस्तो बजार लिएको छैन । होटल व्यवसायी लक्ष्मी परम्परागत व्यापारले बजार नलिएको बताउनुहुन्छ । 

व्यापार बढाउन मानिसको चहलपहल बढ्नु पर्छ, चहलपहल बढाउन नयाँ किसिमको पर्यटकीय गन्तव्य खोज्नुपर्ने भनाइ स्थानीय व्यवसायीको छ । व्यापार व्यवसाय पनि परिवर्तनशील र आकर्षित हुनुपर्ने बुझाइ उहाँहरूको छ । 

राप्ती उद्योग वाणिजय सङ्घका पूर्वअध्यक्ष जगत पोख्रेल राप्ती नदीमा र्‍याफ्टिङ सञ्चालनमा ल्याएमा केही सुधार आउने बताउनुहुन्छ । नदीको उत्तरी क्षेत्रमा पार्कहरू निर्माण र विविध प्रकारका गतिविधिबाट पर्यटक तान्न सकिने सम्भावना उहाँ देख्नुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “डुङ्गा चलाउन खोजियो, महोत्सव लागेका बेला तर डुङ्गा चढ्ने मान्छे भएनन्, अब फेरि लामो यात्राका लागि डुङ्गा चलाउने प्रयास भएको छ, यसले स्थानीय व्यापार व्यवसाय वृद्धिमा सहयोग पुर्‍याउला कि भन्ने आशा छ ।” 

राप्ती नदीको पानीलाई आधार मानेर जलयात्राको सम्भावना खोजिएको छ । राप्ती नदी साउन महिनाबाहेक बाँकी ११ महिना जलयात्राका लागि सुरक्षित र उपयुक्त रहेको सम्भाव्यता अध्ययनमा खटिनुभएका कर्णाली र्‍याफ्टिङ एन्ड एडभेन्चर प्रालिका सञ्चालक देवराज जैसीले जानकारी दिनुभयो । 

दुई दिन राप्ती नदीमा र्‍याफ्टिङ परीक्षणसमेत गरिएको छ । १५ किलोमिटर लामो दुरी जलयात्रा गर्र्दै साढे दुईदेखि तीन घण्टामा सुन्दर दृश्य अवलोकन गर्दै रमाउन सकिने उहाँको भनाइ छ । 

उहाँ भन्नुहुन्छ, “धेरै नदीमा जलयात्रा गरेका छौँ, राप्ती नदी पनि जलयात्राका लागि सम्भव छ । यसलाई सबै माझ पु-याउन जरुरी छ ।” पूर्वमा राप्ती गाउँपालिका–१, हनुमानगढी मन्दिरदेखि पश्चिममा सिसहनियाँ–महदेवा दोस्रो लामो पुलसम्मको करिब १५ किलोमिटर क्षेत्रलाई जलयात्राको दुरी कायम गरिएको छ ।  बर्खामा पानीको सतह बढ्ने र धमिलो हुँदा केही असहज भए पनि बाँकी समय जलयात्राका लागि उपयुक्त रहेको उहाँले जानकारी दिनुभयो । गर्मी समयमा पानीको सतह घट्ने भएकाले नदीलाई एकै धारमा बगाउने व्यवस्था गर्न सके यात्रा झन् रमाइलो हुने बताइएको छ । 

अब राप्ती नदीमा व्यावसायिक रूपमा र्‍याफ्टिङ चलाउन सकिने सम्भाव्यता अध्ययनले देखाएको छ । गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले संयुक्त रूपमा जलयात्राको सम्भाव्यता अध्ययन गरेको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “राप्ती नदीको पानीलाई पर्यटनसँग जोड्न थालेका हौँ, यसका लागि जलयात्रा उपयुक्त देखिएकाले व्यावसायिक रूपमा अघि बढाउन सकिन्छ ।” आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र स्थानीय समुदायको जीवनस्तरमा सुधार गर्ने गरी योजना बनाउन थालिएको छ । 

यस्तै राप्ती गाउँपालिकाले राप्तीको पानीमा आश्रित समुदायलाई होमस्टेमा जोड्ने, विभिन्न ठाउँमा पर्यटकलाई अडिन र भुल्नका लागि स्टेसन निर्माण गर्ने योजना बनाएको छ । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले राप्ती नदीलाई पर्यापर्यटनसँग जोड्न सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “दिगो रूपमा राप्तीको पानीलाई पर्यटनसँग जोड्न सक्यौँ भने राम्रो गन्तव्यस्थल बनाउन सकिन्छ, लुम्बिनी प्रदेशको राजधानीसमेत रहेकाले यहाँ प्रदेशभित्रका नागरिकलाई आन्तरिक पर्यटकको रूपमा भित्र्याउन सहज पनि छ ।”  लुम्बिनी प्रदेश सरकारले पनि यसमा सहयोग गर्र्नेे प्रदेश सभा सदस्य इन्द्रजित थारूले बताउनुभयो । उहाँले स्थानीय सरकारले मात्रै यसलाई अघि बढाउन गाह्रो पर्ने भएकाले तीन वटै सरकारले यसमा लगानी र कार्यक्रम बनाउनुपर्ने बताउनुभयो ।