धरान समाचारदाता
धरान, पुस १५ गते । प्रकृतिपूजक किराँती लिम्बू समुदायको चासोकमा विभिन्न जातजातिले आआफ्नो संस्कार संस्कृति अनुसारको नाच प्रदर्शन गरेका छन् ।
लिम्बू समुदायको मुख्य चाड चासोकको अन्तिम दिनमा राई समुदायले साकेलासिली नाच, मगर समुदायले हुर्रा नाच, तामाङ घेदुङ समुदायको आआफ्नो संस्कार संस्कृति अनुसारको नाच प्रदर्शन गरेको थियो ।
चासोक लिम्बू समुदायले मात्र मान्दैनन् प्रकृतिपूजक किराँतीहरू सबैले मान्दै आएको धरान उपमहानगरपालिकाको उपम्रमुख आइन्द्रविक्रम बेघाले बताउनुभयो । चासोक अहिले लिम्बू समुदायले मात्र नभएर सबै जाति मिलेर मनाउने गरेको उहाँले बताउनुभयो ।
अहिलेको संविधानले सबैले आआफ्नो जातजाति अनुसारको धर्म, संस्कार संस्कृतिलाई खुलेर मनाउने अवसर दिएको उपप्रमुख बेघाले बताउनुभयो । उहाँले यसपालि आयोजित उँधौली पर्व चासोक तङ्नाममा लिम्बू सांस्कृतिक परम्पराको धान नाचेर चासोकको समापन गर्नुभएको थियो ।
कोशी प्रदेशको विरोध गर्दै पुनः नामकरणको माग गर्दै यसपालिको चासोक मनाएको जिल्ला अध्यक्ष मोहनकुमार हुक्पा चोङ्बाङले बताउनुभयो । चुम्लुङको धरानमा सम्पन्न पहिलो बृहत् अधिवेशनले निर्णय गरेपछि २०५० सालदेखि चुम्लुङले पहिलो पटक धरान–१९ स्थित किराँतेश्वर माविको परिसारमा तीनदिने चासोक तङ्नाम आयोजना गरी मनाउन सुरु गरिएको उहाँले बताउनुभयो ।
लिम्बू जातकिो कला र संस्कृति संरक्षण गर्ने दायित्व युवापुस्ताको भएकाले लिम्बू समुदायको खेल पनि चासोकमा राखेको धरान नगर अध्यक्ष तीर्थ मादेनले बताउनुभयो ।
पछिल्लो समय विभिन्न प्रविधिको विकाससँगै युवा पुस्तामा पश्चिमी संस्कृतिप्रति मोह बढ्दै गएकोले उनीहरूलाई आफ्नो जातीय संस्कार, संस्कृतिप्रति मोह बढाउन र चासोक तङ्नामलाई लिम्बूहरूको मौलिक चाडका रूपमा स्थापित गराउन हरेक वर्ष धरानमा चासोक उत्सव आयोजना गरिएको उहाँले बताउनुभयो । अन्न पाकेपछि सबैभन्दा पहिले युमा माङलाई चढाएर मात्र मान्छेले खान हुने आदिवासी लिम्बू याक्थुङ्वाहरूको मुन्धुममा समेत वर्णित भएकोले सृष्टिदेखि नै चासोक मनाउन सुरु भएको उहाँले बताउनुभयो ।