• ८ असार २०८१, शनिबार

सिर्जना, गजेन्द्र, पूर्णलक्ष्मी र मुकेशलाई स्वर्ण

blog

काठमाडौँ, पुस १४ गते । आर्मीका सिर्जना पाण्डे, गजेन्द्र राई, पूर्णलक्ष्मी न्यौपाने र मुकेश पालको टिमले राष्ट्रिय मिक्स रिले दौडमा शनिबार स्वर्ण जित्नुभएको छ । 

कीर्तिमानी धावक वैकुण्ठ मानन्धरको सम्मानमा एथलेटिक्स परिवार नेपालद्वारा आयोजित प्रतियोगिताको निर्धारित १० किलोमिटर दूरी आर्मीले ३२ मिनेट ५८.८६ सेकेन्डमा पूरा गर्नुभयो । एक टिमबाट समान २–२ पुरुष/महिला गरी खेलाडी दौडेका थिए । प्रत्येक खेलाडीले २.५ किलोमिटर तय गर्नु पर्ने थियो ।

नेपाल प्रहरीका राममाया बुढा, सन्तोषनाथ योगी, सुमित्रा चौधरी र नागेश्वर अहिर ३३ मिनेट ४५.५६ सेकेन्ड समयमा दौड पूरा गर्दै दोस्रो हुनुभयो । ३४ मिनेट २२.७३ सेकेन्डमा दौड पूरा गर्नुभएका फुलमती राना, सञ्जीव नेपाली, सीमा चौधरी र राजेन्द्र तामाङ एपीएफको टोली तेस्रो हुनुभयो ।

शीर्ष ३ स्थान हात पार्नेलाई क्रमशः ३२ हजार, २४ हजार र १६ हजार रुपियाँ पुरस्कारप्रदान गरियो । आर्मीका गजेन्द्र पुरुष खुला ५ किलोमिटर दौडमा पनि स्वर्ण जित्न सफल हुनुभयो । उहाँले निर्धारित दूरी १६ मिनेट १०.९२ सेकेन्डमा तय गर्नुभयो । 

रजत र कांस्य पनि आर्मीकै खेलाडीले जिते । मुकेश पाल १६ मिनेट १२.४२ सेकेन्ड समयमा दोस्रो तथा सञ्जय श्रेष्ठ १६ मिनेट १६।८३ सेकेन्ड समयमा तेस्रो हुनुभयो । सो स्पर्धाको महिलामा प्रहरीकी राममाया बुढा पहिलो हुनुभयो । राममायाले १८ मिनेट ५६.३५ सेकेन्ड समय निकाल्नुभयो ।

आर्मीकी पूर्णलक्ष्मी १९ मिनेट १५.४८ सेकेन्ड दोस्रो तथा आर्मीकै सिर्जना १९ मिनेट ४०.८५ सेकेन्डसहित तेस्रो हुनुभयो । पुरुष/महिला दुवैमा पहिलो हुनेले १० हजार, दोस्रो सात हजार र तेस्रो पाँच हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन् । खुलामासहित मिक्स रिलेमा चौथोदेखि १०औँ स्थानमा आउनेलाई नगदबाट पुरस्कृत गरिएको थियो ।


भेट्रान पुरुष ४१ देखि ५० वर्ष उमेरसमूहको ५ किलोमिटर दौडमा च्यासलका राकेश महर्जन पहिलो, चापागाउँका नारायण देशार दोस्रो र काठमाडौँका मनिनकुमार महर्जन तेस्रो हुनुभयो । विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ललगायतले एक कार्यक्रमबिच पुरस्कृत गर्नुभयो । 

सो अवसरमा एथलेटिक्स परिवार नेपालले दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धरलाई एक लाख ११ हजार १ सय ११ रुपियाँसहित प्रशंसा पत्रबाट सम्मान गरेको थियो ।

त्यसै अवसरमा एसियाली क्रसकन्ट्री एथलेटिक्सका स्वर्ण विजेता दीपक अधिकारीलाई पनि एथलेटिक्स परिवार नेपाल र वैकुण्ठ मानन्धर खेलकुद नेपालले समान १०–१० हजार रुपियाँसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको  थियो । प्रतियोगितामा ६ स्पर्धा २ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।