धनगढी समाचारदाता
धनगढी, पुस १३ गते । सुदूरपश्चिम प्रदेशमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या दिनानुदिन बढ्न थालेपछि दुई सय क्षमताको आसरा सुधारगृह (केन्द्र) सञ्चालनमा ल्याइएको छ । प्रदेश प्रहरी कार्यालय कैलाली र धनगढी उपमहानगरपालिकाको समन्वयमा उपमहानगरपालिका–१४, फूलबारीस्थित डी गाउँमा प्रदेशस्तरीय सुधार केन्द्र सञ्चालनमा आएको हो । यसको मुख्य कार्यालय भने केन्द्रीय राजधानी काठमाडौँको महाराजगन्जमा छ । सो केन्द्रको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उद्घाटन गर्नुभएको हो ।
लागुऔषधको कुलतमा फसेका युवा पुस्तालाई पुनर्जीवन दिन आसरा सुधार केन्द्र प्रभावकारी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । आसरा सञ्चालनका लागि उपमहानगरपालिकासँग २० वर्षे सम्झौता गरिएको छ । लागुऔषध प्रयोगका कारण विभिन्न अपराधका घटना बढ्ने र घरपरिवार नै समस्यामा पर्ने भएकाले कुलतमा लागेका व्यक्तिलाई उपचारात्मक तथा सुधारात्मक तरिकाबाट असल नागरिक बनाउने सुधार केन्द्र प्रभावकारी हुने विश्वास महानिरीक्षक कुँवरले व्यक्त गर्नुभयो ।
लागुऔषध प्रयोगकर्तामा मनोबल र आत्मबल अभिवृद्धि गरी लागुऔषधजन्य पदार्थप्रति वितृष्णा पैदा गराउने तथा लागुऔषधको नकारात्मक असरबारे सचेतना प्रदान गरी दुव्र्यसनबाट मुक्त गराउने उद्देश्य सुधार केन्द्रको छ । लागुऔषधका कारण देश र समाजले ठुलो क्षति बेहोरिरहेको उल्लेख गर्दै उहाँले थप्नुभयो, “युवा पुस्तालाई रचनात्मक दिशातर्फ अग्रसर गराउन समाजका सबै तह, तप्का र सरकारको साथ सहयोग आवश्यक छ ।” आसरा सुधार केन्द्रलाई कैलाली र कञ्चनपुरका २२ वटै स्थानीय तहले सहयोग गर्ने सहमति जनाएका छन् । धनगढी उपमहानगरपालिकाले १० लाख, प्रत्येक नगरपालिकाले पाँच लाख र गाउँपालिकाले तीन लाखका दरले आर्थिक सहयोग गर्ने जनाइएको छ ।
नवनिर्मित आसरा सुधार केन्द्रलाई नमुना सुधार केन्द्र बनाउन आवश्यक रहेको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताउनुभयो । “जानेर वा नजानेर युवा कुलतमा फसेका छन्, आफ्नो जीवन सिध्याएका छन्,” उहाँले भन्नुभयो, “कुलतमा फसेका युवालाई बाहिर निकाल्न सक्यौँ भने ठुलो उपलब्धि हुने छ ।”
पछिल्लो समय सुदूरपश्चिममा लागुऔषध दुव्र्यसन विकराल चुनौतीका रूपमा देखा परेको छ । यसका कारण सङ्गठित अपराध बढ्दै गएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा लागुऔषधसम्बन्धी २४३ मुद्दा दर्ता भएका छन् । तीमध्ये महिला पुरुष गरी ३७५ जना पक्राउ परेका छन् ।
यसै गरी गत आवमा दुई हजार ४० मुद्दा दर्ता भएका थिए । ती मुद्दामा ८५६ जना पक्राउ परेका थिए । लागुऔषध दुव्र्यसन बढेपछि प्रहरीले ‘सप्लाई’ र ‘डिमान्ड’ को ‘चेन ब्रेक’ गर्न लागुऔषधविरुद्धको महाअभियान, २०८० चलाइरहेको छ ।
सो अभियान अन्तर्गत सप्लाईको ‘चेन ब्रेक’ गर्न नेपाल–भारत सीमा नाकामा कडाइका साथ चेकजाँच, खानतलासी, पक्राउ र कारबाही निरन्तर जारी रहेको प्रदेश प्रहरी कार्यालय प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताउनुभयो । उहाँका अनुसार लागुऔषधको माग न्यूनीकरण गर्न अभिभावक, क्याम्पस/कलेज, स्थानीय जनप्रतिनिधि र बौद्धिक वर्ग जागरुक हुनुपर्ने देखिन्छ । यसका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् ।
यस सुधार केन्द्रमा भर्ना गरिने युवा तथा लागुऔषध प्रयोगकर्तालाई कुलतबाट जोगाउनुका साथै मनोविमर्श र विभिन्न उपचार विधिबाट सेवा प्रदान गरी समाजमा पुनस्र्थापना गरिने जानकारी डिआइजी बोहराले दिनुभयो ।