• ११ मंसिर २०८१, मङ्गलबार

शक्तिको आडमा थिचिएको वर्ष

blog

सन् २०२३ सुखद वर्ष रहेन । शक्तिको आडमा थिचिएको वर्ष बन्यो । हत्या, हिंसा, युद्ध, दुर्घटना, प्राकृतिक विपत्ति आदिले विश्ववासी आक्रान्त बने । शान्ति, मानव अधिकार, मेलमिलाप ओझेलमा परे । शक्ति राष्ट्रहरूबिच दुरी बढ्यो ।

इजरायली र प्यालेस्टिनी हमासबिचको युद्ध यस वर्षको सबैभन्दा पीडादायक र अमानवीय घटना बन्यो । अक्टोबर ७ मा इजरायलको इतिहासमै नभएको ठुलो आक्रमण हमास लडाकुहरूले गरेसँगै सुरु भएको युद्धमा १२ सय इजरायली र २० हजार प्यालेस्टिनी मारिएका छन् । आठ हजारभन्दा बढी प्यालेस्टिनी बालबालिका र सात हजारभन्दा बढी महिला युद्धका क्रममा मारिए । ५० हजारभन्दा बढी मानिस घाइते भएका छन् । युद्धबाट प्यालेस्टिन भूमि गाजा क्षेत्र ध्वस्त भयो । २० लाखभन्दा बढी प्यालेस्टिनी विस्थापित भए । युद्धमा दुवै पक्षले युद्धअपराध गरे पनि कारबाही भएन । 

इजरायल र हमासबिचको युद्ध रोक्न संयुक्त राष्ट्रसङ्घले पटक पटक प्रयास गर्‍यो । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजामा बडापत्रको धारा ९९ लागु गर्नुभयो । आपत्कालीन महासभाले युद्धविराम गर्ने प्रस्ताव पारित गर्‍यो । सुरक्षा परिषद्मा ल्याइएको युद्ध रोक्ने प्रस्तावमाथि अमेरिकाले इजरायलको पक्षमा भिटो प्रयोग गरेकाले युद्ध रोकिएन, जसले गर्दा प्यालेस्टिनी पक्षमा ठुलो क्षति भयो । निहत्था आमप्यालेस्टिनी मारिएकोमा विश्वव्यापी रूपमा निन्दा गर्दै चिन्ता व्यक्त गरियो । हमासलाई समाप्त नपारेसम्म युद्ध नरोक्ने अडान लिएको इजरायलले हमासतर्फ भने ठुलो क्षति पुर्‍याउन सकेन । हमास कमजोर नभएकाले आत्मसमर्पण गरेन ।  

रोकिएन रुस–युक्रेन युद्ध

अर्कोतर्फ रुस र युक्रेनबिच सन् २०२२ को फेब्रुअरी २४ देखि सुरु भएको युद्ध यस वर्ष पनि अन्त्य भएन । चीनका राष्ट्रपति सी चिनफिङले रुसको भ्रमण गरी रुस–युक्रेन युद्ध रोक्ने चीनको शान्ति योजनाबारे रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गर्नुभयो । युद्ध अन्त्य गराउने प्रयास भने सफल भएन । रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनबिच मस्कोमा शिखर वार्ता भयो । युद्धका क्रममा रुसले युक्रेनको १५ प्रतिशत भूभाग कब्जा गरेको छ । सैनिक र गैरसैनिक गरी एक लाखभन्दा बढीको ज्यान गइसकेको यस युद्धमा १४० अर्ब डलरको भौतिक क्षति भइसकेको छ । 

पश्चिमा देशहरूले रुसलाई एक्ल्याउँदै युक्रेनलाई आर्थिक र हतियार सहयोग गरेकाले युद्ध लम्बियो । आक्रोशित रुस अमेरिकासितको परमाणु हतियार कटौतीसम्बन्धी न्यु स्टार्ट सन्धिबाट अलग भयो । रुसले कृष्णसागरमा उडिरहेको अमेरिकी ड्रोनलाई खसालिदिएपछि थप तनाव उत्पन्न भयो । लिथुवानियामा भएको नेटो शिखर सम्मेलनले युक्रेनलाई थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे पनि सदस्यता दिने निर्णय भने गरेन । रुसको आपत्तिका बिच फिनल्यान्ड नेटोको ३१ औँ सदस्य राष्ट्र बन्यो । रुसले बेलारुसमा परमाणु हतियार तैनाथ गरेपछि परिस्थिति झन् जटिल बन्यो । यो युद्धले विश्व अर्थतन्त्र नै थप प्रभावित बन्यो । रुसमा भाडामा सैनिक उपलब्ध गराउने वाग्नर समूहले विद्रोह गर्दा राष्ट्रपति भ्लादिमिर पुटिनमाथि चुनौती थपियो । कडा कारबाही गर्ने पुटिनको चेतावनीपछि दुई दिने विद्रोह अन्त्य गर्दै वाग्नर समूह प्रमुख येभ्गेनी प्रिगोजिन बेलारुसको शरणमा गए । केही दिनपछि विमान दुर्घटनामा उनको मृत्यु भयो । 

अमेरिकामा बन्दुक आतङ्क

अमेरिकाको क्यालिफोर्नियास्थित मोन्टरी पार्कमा बन्दुकधारीले गोली बर्साउँदा ११ जनाको मृत्यु भयो । क्यालिफोर्नियामा नै फेरि अर्को गोलीकाण्ड हुँदा सात जनाको मृत्यु भयो । मिसिसिपीमा एक बन्दुकधारीले पूर्वपत्नीसहित छ जनाको गाली हानी हत्या गर्‍यो । अमेरिकाको नास्भिल सहरको एउटा प्राथमिक विद्यालयमा बन्धुकधारीले गोली चलाउँदा तीन बालबालिकासहित छ जनाको मृत्यु भयो । केन्टकीस्थित वल्र्ड नेसनल बैङ्कका कर्मचारीले बैङ्कभित्र गोली चलाउँदा पाँच जनाको मृत्यु भयो । जर्मनीको ह्याम्वर्गमा बन्दुकधारीले गोली चलाउँदा सात जनाको मृत्यु भयो । न्युजिल्यान्डमा पहिलो महिला प्रधानमन्त्री जसिन्डा आर्डर्नले राजीनामा दिनुभयो । उहाँको स्थानमा ४४ वर्षीय क्रिस हिप्किन्स नयाँ प्रधानमन्त्री बन्नुभयो । 

चीन–अमेरिका तनाव

अमेरिकी सेनाले अमेरिका र क्यानडाको आकाशमा उडेका चार अज्ञात वस्तु क्षेप्यास्त्र प्रहार गरी खसाल्यो । खसालिएकोमध्ये एउटा चिनियाँ बेलुन थियो । अमेरिकाको जासुसी गर्न बेलुन छाडेको भने पनि अमेरिकी सङ्घीय जाँच ब्युरो (एफबीआई) ले त्यस्तो कुनै प्रमाण फेला पार्न सकेन । यो घटनाले चीन र अमेरिकाबिच कूटनीतिक तनाव बढ्यो । तनाव कम गर्न भनी अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनद्वारा पाँच वर्षपछि चीनको भ्रमण गर्नुभयो । महान् अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जर सय वर्षको उमेरमा बेइजिङ आएर राष्ट्रपति सीसँग भेटवार्ता गर्नुभयो । अमेरिकाका राष्ट्रपति जोए बाइडेन र चीनका राष्ट्रपति सीबिच क्यालिफोर्नियामा वार्ता भयो तर पनि सम्बन्ध सहज भएन । 

ताइवानी राष्ट्रपति साई इङ वेनले अमेरिकी सभामुख केभिन मेकार्थीलाई भेटेपछि चीन झन् क्रुद्ध बन्यो । चीनद्वारा ताइवान घेर्ने तीन दिने विशाल सैन्य अभ्यास गर्‍यो । चीनमा संसद्को १४ औँ वार्षिक अधिवेशनले राष्ट्रपति सीलाई तेस्रो कार्यकालका लागि निर्वाचित गर्‍यो । नयाँ प्रधानमन्त्रीमा ली चियाङ निर्वाचित हुनुभयो । चीनको मध्यस्थतामा इरान र साउदी अरेबियाबिच कूटनीतिक सम्बन्ध पुनस्र्थापना गर्ने सम्झौता भयो । यी देशबिच सन् २०१६ मा सम्बन्ध विच्छेद भएको थियो । 

आणविक पनडुब्बी परियोजना

अमेरिका, बेलायत र अस्ट्रेलियाबिच थप ओकस सम्झौता भयो । तीन देशबिच आणविक पनडुब्बी परियोजनामा सहमति भयो । अमेरिकाले अस्ट्रेलियालाई २२० वटा क्रुज क्षेप्यास्त्र बिव्रmी ग-यो । त्यसै गरी अमेरिकी राष्ट्रपति बाइडेन र दक्षिण कोरियाली समकक्षी योन सुक नेलबिच अमेरिकी पारमाणविक क्षमतायुक्त पनडुब्बी दक्षिण कोरियामा तैनाथ गर्ने सहमति भयो । 

पूर्वराष्ट्रपति ट्रम्प २० मिनेट जेलमा

सन् २०२० को राष्ट्रपति चुनाव हार्ने भएपछि परिणाम उल्टाउन आपराधिक क्रसयाकलाप गरेको आरोपको मुद्दामा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प जर्जियाको फुल्टन काउन्टी जेल पुगेर आत्मसमर्पण गर्नुभयो । उहाँ २० मिनेट जेल बसेर दुई लाख डलर जमानत तिरेर रिहा हुनुभयो । अमेरिकाको इतिहासमा पूर्वराष्ट्रपतिलाई जेल हालेको यो पहिलो घटना हो । त्यसै गरी ट्रम्पविरुद्ध पोर्नस्टार स्टोर्मी डेनियल्ससँगको सम्बन्धलाई लिएर न्युयोर्कस्थित फौजदारी अदालतमा मुद्दा दायर भएपछि उहाँले अदालतसमक्ष आत्मसमर्पण गरी बयान दिनुभयो । अमेरिकाको इतिहासमा फौजदारी मुद्दा खेप्नेमा पनि ट्रम्प पहिलो पूर्वराष्ट्रपति बन्नु भयो । त्यसै गरी लेखिका इजिन क्यारोलमाथि यौन दुव्र्यवहार गरेको मुद्दामा पूर्वराष्ट्रपति ट्रम्पलाई दोषी ठहर गर्दै ५० लाख डलर जरिबाना गरियो । 

भ्रष्टाचारको मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान इस्लामावादस्थित उच्च अदालत परिसरबाट पक्राउ पर्नुभयो । उहाँ धरौटीमा रिहा हुनुभयो । उहाँ अर्को मुद्दामा पक्राउ पर्नुभयो । उहाँलाई तीन वर्ष जेल सजाय र पाँच वर्ष चुनाव लड्न प्रतिबन्ध लगाइयो । भ्रष्टाचारको मुद्दामा फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्ष जेल सजाय भयो ।

कोभिड सङ्कट काल अन्त्य

मे ५ मा कोभिड–१९ विश्वव्यापी सङ्कटकाल अन्त्य भएको विश्व स्वास्थ्य सङ्गठनले घोषणा गर्‍यो । सन् २०१९ डिसेम्बर ३१ मा चीनबाट सुरु भएको कोरोनाबाट विश्वभर ७० लाख मानिसको मृत्यु भएको औपचारिक पुष्टि भयो । समग्रमा दुई करोड मानिस मरेको अनुमान गरिएको छ । 

जलवायु परिवर्तनको असर

जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा देखियो । यो वर्ष इतिहासकै सर्वाधिक तातो वर्ष बन्यो । चीनको राजधानी बेइजिङमा १४० वर्षयताकै ठुलो वर्षा भयो । ७४४ मिलिमिटर वर्षाले जनजीवन प्रभावित बन्यो । २० जनाको मृत्यु भयो । अमेरिकाको मिसिसिपी राज्यको रोलिङ फर्क सहर भुमरीको चपेटामा पर्दा २६ जनाको मृत्यु भयो । अमेरिकाको हवाईमा डढेलोबाट ११० जनाको मृत्यु भयो । १३ सय सम्पर्कविहीन भए भने १२ हजार घर नष्ट भए । लिवियामा समुद्री आँधीसँगै मुसलधारे वर्षापछि बाढी आयो । पाँच हजारभन्दा बढी मानिसको मृत्यु भयो भने १० हजार बेपत्ता भए । 

अन्टाक्र्टिकामा बरफ टुक्रिँदा हजारौँ पेन्गुविन मरे । भारतको उत्तरपूर्वी राज्य सिक्किममा मुसलधारे वर्षापछि आएको बाढीमा १४ जनाको मृत्यु भयो । २२ सैनिकसहित १०५ जना बेपत्ता भए । सोमालियामा भीषण बाढी आउँदा एक सय जनाको मृत्यु भयो भने सात लाख ५० हजार घरवारविहीन बने । इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा २३ जनाको मृत्यु भयो ।

फेबु्रअरी ६ मा गएका दुई शक्तिशाली भूकम्प (७.८ र ७.५ रेक्टर स्केल) मा टर्कीए र सिरियामा गरी ४१ हजारभन्दा बढीको मृत्यु भयो । टर्कीएमा फेबु्रअरी २० मा फेरि ६.४ र ५.८ रेक्टर स्केलको भूकम्प जाँदा तीन जनाको मृत्यु भयो छ सयभन्दा बढी घाइते भए । मोरक्कोमा ६.८ रेक्टर स्केलको भूकम्प जाँदा दुई हजार आठ सयभन्दा बढीको मृत्यु भयो । अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प जाँदा दुई हजार पाँच सयभन्दा बढीको मृत्यु भयो । नेपालको जाजरकोटमा ६.४ रेक्टर स्केलको भूकम्प जाँदा १५४ को मृत्यु भयो भने चार सयभन्दा बढी घाइते भए । जलवायु परिवर्तनको असर कम गर्न संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न भयो । जीवाश्मा इन्धनको प्रयोगबाट क्रमशः टाढा हुने सहमति गरे पनि ठुलो उपलब्धि भएन । 

थाई राजनीतिमा सेना हाबी

थाइल्यान्डमा भएको संसदीय आमनिर्वाचनमा पिटा रिम्जार्‍याटको मुभ फर्वार्ड पार्टी विजयी भयो तर त्यहाँको संसद् नयाँ प्रधानमन्त्रीका रूपमा पिटालाई निर्वाचित गर्न असफल भयो । सेनाको दबाबमा संसद्द्वारा फेउ थाई पार्टीका नेता श्रीथा थाविसिनलाई प्रधानमन्त्री निर्वाचित गरियो । १५ वर्ष निर्वासनबाट फर्किएका थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आठ वर्षका लागि जेल चलान गरियो । 

मोदीको अमेरिका भ्रमण

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको औपचारिक भ्रमण गर्नुभयो । उहाँलाई रातो कार्पेट बिछ्याएर अमेरिकाले स्वागत गर्‍यो । रक्षा र प्राविधिक सहयोगका विषयमा सहमति भयो । मोदी र अमेरिकाका राष्ट्रपति बाइडेनबिच महत्वपूर्ण विषयमा छलफल भयो । त्यसै गरी प्रधानमन्त्री मोदीले फ्रान्सको भ्रमण गर्नुभयो । भारतले फ्रान्ससँग २६ वटा राफेल लडाकु विमान किन्ने सहमति गर्‍यो । 

चन्द्रमामा पुग्यो भारत

भारतले पठाएको चन्द्रयान–३ चन्द्रमाको दक्षिणी धु्रवमा सफल अवतरण गर्‍यो । भारत दक्षिणी धु्रवमा यान अवतरण गराउने पहिलो र चन्द्रमामा यान पठाउने चौथो मुलुक बन्यो । त्यसै गरी रुसले झन्डै ५० वर्षपछि चन्द्रमाको दक्षिणी धुव्रमा अवतरण गराउन चन्द्रयान लुना–२५ प्रक्षेपण गर्‍यो । लुना–२५ अवतरणका क्रममा दुर्घटनाग्रस्त भएकाले मिसन पूरा भएन ।

जुन २ मा भारतको उडिसामा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किँदा २८८ जनाको मृत्यु भयो भने आठ सयभन्दा बढी घाइते भए । पाकिस्तानको दक्षिणी भागमा एक हजार यात्रु बोकेको रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु भयो भने एक सयभन्दा बढी घाइते भए । ग्रिसमा दुई रेल ठोक्किएर दुर्घटना हुँदा ३६ जनाको मृत्यु भयो भने ८५ जना घाइते भए । 

दक्षिण अफ्रिकाको जोहानेसवर्गमा बिक्स शिखर सम्मेलन सम्पन्न भयो भने भारतले जी–२० शिखर सम्मेलन गर्‍यो । अति कम विकसित मुलुकहरूको पाँचौँ शिखर सम्मेलन कतारको दोहामा सम्पन्न भयो । धनी मुलुकहरूलाई सहयोग बढाउन आग्रह गरियो । 

पश्चिमी अफ्रिकी मुलुक नाइजरमा सैनिक ‘कु’ भयो । राष्ट्रपति मोहम्मद बजुमको सरकार बर्खास्त गरी मुलुकभर सङ्कटकाल लागु गरियो । सुडानमा सेना र अर्धसैनिक बलबिच भिडन्त भयो । भिडन्तमा १८५ जनाको मृत्यु भयो भने १८ सयभन्दा बढी घाइते भए । अर्को अफ्रिकी मुलुक ग्याबोनमा सेनाद्वारा सत्ता कब्जा गरियो । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी अधिकारवादी महिला नर्गिस मोहम्मदीलाई प्रदान गरियो । 

अमेरिकी कूटनीतिज्ञ डा. हेनरी किसिन्जरको सय वर्षको उमेरमा, चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा, कुवेतका अमिर शेख नवाफ अल अहमद शवाहको ८६ वर्षको उमेरमा र पाकिस्तानका पूर्वसैनिक शासक पर्बेज मुसर्रफको ७९ वर्षको उमेरमा निधन भयो । 

  

Author

रामप्रसाद आचार्य