• १३ मंसिर २०८१, बिहिबार

शिक्षण पेसासँगै कृषिबाट मनग्गे आम्दानी

blog

कृषि कर्ममा रमाउँदै लक्ष्मीपति न्यौपाने । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, पुस १० गते । कालीगण्डकी गाउँपालिका–२, अर्बेनीका लक्ष्मीपति न्यौपाने उमेरले ३६ वर्ष पुग्नुभयो । न्यौपाने पेसाले शिक्षक हुनुहुन्छ । उहाँले कालीगण्डकी–१ को देउराली माध्यमिक विद्यालयमा प्राथमिक तहको राहत दरबन्दीमा रही अध्यापन गराउँदै आउनुभएको छ । शिक्षण पेसाका साथमा उहाँले कृषि पेसाबाट लोभलाग्दो कार्य गर्दै आउनुभएको छ ।

कृषि पेसाबाटै उहाँले वार्षिक २० लाख रुपियाँसम्म आम्दानी गर्दै आएको बताउनुभएको छ । न्यौपानेले २०७१ सालमा दुर्गादेवी मत्स्यपालन तथा तरकारी कृषि फार्म दर्ता गर्नुभएको हो । उहाँले १४ रोपनी जग्गामा ताजा तरकारी काउली, सिमी, अकरे खुर्सानी लगाउनुभएको छ । यसका साथै १३ रोपनी जग्गा लिजमा लिई लगाएका ६५० वटा किवीका बिरुवाले उत्पादन दिन थालेका छन् । यस्तै केही जग्गा लिजमा र आफ्नै गरी करिब ६० रोपनी जग्गामा एक हजारभन्दा बढी सुन्तलाका बिरुवा छन् । करिब पाँच सय बिरुवाले राम्रो उत्पादन दिएको न्यौपानेले बताउनुभयो । 

बिहान, साँझ र बिदाको दिनलाई सदुपयोग गर्दै आफैँ बारीमा खट्ने गरेको उहाँको भनाइ छ । नियमित रूपमा नभई आवश्यकताको आधारमा दैनिक ज्यालादारीमा कामदार लगाउने गरेको न्यौपानेले बताउनुभयो । कृषि कर्मबाट नेपालमै केही गर्नु पर्छ भन्ने उद्देश्यलाई श्रीमतीको राम्रो साथ रहेकाले आफू अहिले यहाँसम्म आउन सकेको न्यौपानेले बताउनुभयो । श्रीमान्ले गर्न लागेको कामलाई आफूले सक्दो सहयोग गर्दै आएको र कृषि कर्मको रेखदेख गर्दै आएको श्रीमती सिर्जना न्यौपाने बताउनुभयो ।

हर्मीचौर, अर्बेनीमा कुनै विवाह, व्रतबन्ध र पूजाआजा भएमा तरकारीको माग सिधै आउने भएकाले घरमै पुर्‍याइदिने गरेको न्यौपानेले बताउनुभयो ।

नेपालमै स्थिर भएर काम गर्नेका लागि विदेश जान नपर्ने उहाँले सुझाव दिनुभयो । स्थिर भएर काम गरेमा नेपालमै विदेशमा भन्दा राम्रो आम्दानी लिन सकिने उहाँको अनुभव छ । अहिलेका युवालाई विदेश जानेभन्दा पनि नेपालमै मेहनत गर्न र घरपरिवारका साथमा रमाउन उहाँले सुझाव दिनुभएको छ । आफूले उत्पादन गरेको कृषि उपजलाई बजारको समस्या नभएको न्यौपानेले बताउनुभयो । आफ्नै गाडी पनि भएकाले मिर्मी, गल्याङ र बुटवलसम्म कृषि उपज बिक्री हुने गरेको छ ।

उहाँले गरेको कृषि कर्मलाई हेर्न जिल्ला र जिल्लाबाहिरबाट पनि कृषक र कार्यालयका व्यक्ति जाने गरेका छन् । फार्मलाई स्थानीय सरकार र कृषि ज्ञान केन्द्रबाट पनि राम्रो सहयोग मिलेको न्यौपानेले बताउनुभयो ।