बाबुराम कार्की
वराहक्षेत्र, पुस ९ गते । आइतबार बिहानदेखि धेरै पेट दुखेपछि वराहक्षेत्र नगर अस्पताल आउनुभएको सुनसरी वराहक्षेत्र ८ का ५० वर्षीय राधा बराल नगर अस्पतालको आकस्मिक कक्षमा उपचारपछि घर फर्कनुभयो । उपचारपछि स्वास्थ्यमा सुधार भएको बताउनुहुँदै बरालले भन्नुभयो “नगरमै अस्पताल भएकाले छिटो उपचार पाइयो ।”
नगर अस्पतालका अनुसार बराल जस्ता धेरै बिरामी उपचारका लागि आकस्मिक र बहिरङ्ग सेवाबाट उपचार सेवा लिँदै आएका छन् । नगर अस्पतालको आकस्मिक कक्षमै आइतबार बिहान उपचार गराई रहनु भएको बरालले भन्नुभयो “सामान्य बिरामी हुँदा पनि उपचारकै लागि विराटनगर र धरानका हस्पिटलहरूमा जानु पथ्र्याे । नगरमै अस्पताल भएपछि सानोतिनो उपचार गराउन सजिलो भएको छ । म थाइराइडको बिरामी पनि हुँ यहाँ अस्पताल सुरु भएदेखि थाइराइडको नियमित परीक्षण र औषधि अस्पतालबाटै लिँदै आएको छु ।”
साबिकका प्रकाशपुर, मधुवन, महेन्द्रनगर, भरौल र वराहक्षेत्र गाविस हुँदा स्थानीयहरू सामान्य उपचार गराउन पनि धरान र विराटनगरमा रहेका ठुला अस्पतालमा जानुपर्ने बाध्यता थियो । “सामान्य उपचारका लागि पनि दिनै बिताएर अस्पताल धाउनुपथ्र्र्याे । अलिकति साह्रो हुँदा गाडी रिजर्भ गरेरै धरान विराटनगर पुग्नु पथ्र्याे,” वराहक्षेत्र १० का कमला कार्कीले भन्नुभयो ।
नगर अस्पताल व्यवस्थापन समितिका अनुसार नगर अस्पताल सुरु भएदेखि नगरवासीहरूले पहिलो उपचार र स्वास्थ्य परामर्श सेवा नगर अस्पतालबाटै लिँदै आएका छन् । नगर अस्पतालमा स्वास्थ्य बिमा सेवाबाट पनि बिरामीको उपचार हुँदा बिरामीको चाप बढी हुने गरेको छ ।
वराहक्षेत्र ६ कै ७९ का हेमलाल प्रधान पनि नियमित स्वास्थ्य परीक्षण गर्न आउने गरेको बताउनु हुन्छ । हेमलालले नगर अस्पतालकै चेक जाँच र स्वास्थ्य परामर्शपछि मिर्गौलाको थप उपचारका लागि नोबेल अस्पताल विराटनगर गएर उपचार गराइरहेको बताउनु भयो । ब्लड प्रेसर र हर्नीयाको बिरामीसमेत भएकाले नगरबाटै थप औषधि लगेर खाइरहेको छु । आइतबार नगर अस्पताल परिसरमा भेटिनु भएका प्रधानले ब्लड बाट क्रेटीनाइन, एल्बोमिन र युरिन चेक गर्न आएको बताउनुभयो ।
वराहक्षेत्र नगर अस्पतालको स्थापना पाँच वर्षअघि पूर्व नगरप्रमुख निलम खनालले (२०७६ साल साउन १४) गते वराहक्षेत्र नगर अस्पतालको उद्घाटन गर्नु भएको थियो । स्थापनादेखि सामान्य उपचार हुँदै आएको अस्पतालमा २०७६ साल असोज ७ गतेदेखि २४ घण्टे आकस्मिक सेवा सुरु गरिएको थियो । नगर अस्पतालमा वर्षको ३६५ दिनै निःशुल्क बहिरङ्ग (ओपिटी) सेवा सञ्चालन हुँदै आएको छ ।
हालका नगरप्रमुख रमेश कार्की अस्पताल व्यवस्थापनको अध्यक्ष भएपछि नगर अस्पतालले थप सेवा विस्तार गरिएको वराहक्षेत्र नगर अस्पतालले जनाएको छ । अस्पतालले नेपाल सरकारको बिमा बोर्डले सुविधा थैलीअन्तर्गत दिएको आयुर्वेदिक औषधिसहित ११ सय २२ प्रकारका औषधि डाक्टरको सिफारिसमा निःशुल्क बिरामीलाई वितरण गर्दै आएको वराहक्षेत्र नगर अस्पतालका सह-व्यवस्थापक दिवस विष्टले जानकारी दिनुभयो । सह-व्यवस्थापक विष्टका अनुसार विशेषगरी सुगर, प्रेसरजस्ता दीर्घ रोगीहरूले मासिक रूपमा डाक्टरको सिफारिसमा औषधि लिँदै आएका छन् ।
सेवाग्राहीलाई लक्षित राखेर दुई जना डाक्टर लगायत आवश्यक प्राविधिक जनशक्ति थप गरिएको अस्पताल प्रशासनले जनाएको छ । हाल अस्पतालमा तीन जना मेडिकल अफिसर (एम.बि.बि.एस) डाक्टर, हेल्थ असिस्टेण्ट तीन जना, अहेव दुई जना र नर्स, अनमी १२ जना रहेको सह-व्यवस्थापक विष्टले जानकारी दिनुभयो ।
अस्पताल स्थापनादेखि नै सामान्य ल्याब परीक्षणहरू गर्दै आएको नगर अस्पतालमा बिरामीको चाप बढ्न थालेपछि इकिल्या मेसिन ल्याएर थप अपग्रेट गरी बिरामीहरूको स्पेसल परीक्षणहरू गरिँदै आएको छ । बायो केमेस्ट्री, अटोमेटिक बायो केमेस्ट्री मेसिन, सेमी अटोमेटिक केमेस्ट्री मेसिनबाट बिरामीको आधारभूत सबै प्रकारका परीक्षणहरू हुँदै आएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा इसिजी, एक्स-रे, भिडियो एक्सरेका सेवाहरू रहेका छन् ।
श्रमिक र विद्यार्थीहरूलाई लक्षित गरेर बिहान सात बजेदेखि बेलुका सात बजेसम्म बहिरङ्ग सेवा सञ्चालन हुँदै आएको छ । अस्पतालमा दैनिक २५० देखि ३०० को हाराहारीमा उपचार गर्न आउने गरेका छन् ।