अमृतप्रसाद पौडेल
म्याग्दी, पुस ८ गते । उपल्लो मुस्ताङका ल्होमन्थाङ तथा लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अधिकांश बासिन्दा चिसो छल्न बेँसी झरिसकेका छन् ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले तल्लो भेक अन्तर्गत पर्ने बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका, घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिका क्षेत्रका पनि झन्डै आधा जनसङ्ख्या चिसो छल्न बेँसी झरिसकेको बताउनुभयो । अहिले उपल्लो मुस्ताङ क्षेत्रमा निश्चित मानिस मात्रै धेरै घरको रेखदेखका लागि बसेको उहाँको भनाइ छ ।
चीनसँगको सीमानाका खुलेको हुनाले नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र नेपाली सेनाको टोली माथिल्लो भेकमै रहेका छन् । निकै न्यून मात्रामा मात्रै जनता उपल्लो मुस्ताङ क्षेत्रमा रहेको प्रजिअ पन्तको भनाइ छ ।
विगतको समयमा कात्तिक अन्तिमतिरै आफ्नो थातथलो छोडेर न्यानोको खोजीमा बेँसी झर्ने गरेका मुस्ताङी यस पटक भने चीनसँगको सीमानाका कोरला नाका खुलेपछि मङ्सिरको दोस्रो हप्तादेखि बिस्तारै झर्न थालेका थिए ।
विश्वकै पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शन तथा पूजाअर्चनाका लागि आउने दर्शनार्थी पनि पछिल्लो समय घटेका छन् । मुक्तिनाथ मन्दिरका कार्यालय सचिव रविन सुवेदीले चिसोका कारणले गर्दा तीर्थालु आउने क्रम घटेको बताउनुभयो । उहाँका अनुसार अहिले चिसोको समयमा तीर्थालु आउने क्रम त रोकिएको छैन तर पनि निकै कम मात्रै आएका छन् ।
मुक्तिनाथ क्षेत्रमा रातको समयमा तापक्रम माइनस १२ डिग्रीसम्म पुग्ने गरेको मुक्तिनाथका होटल व्यवसायी अमृत सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले एक हप्तापहिला नै होटल बन्द गरेका हौँ, अहिले मुक्तिनाथ क्षेत्रमा रहेकामध्ये २५ प्रतिशत मात्रै होटल सञ्चालनमा छन् अरू बन्द भइसके । चिसो घट्दै गएपछि अब फागुनको पहिलो हप्तादेखि मात्रै सबै होटल चल्छन् ।”
चिसो छल्नका लागि जिल्लाबाट बाहिरिएका मुस्ताङी माघ महिनाको अन्त्यसम्म नेपालको पहाडी तथा तराइ क्षेत्र तथा छिमेकी देश भारतसम्म पुगेर घुम्ती व्यापार गर्ने गर्छन् । मुस्ताङका प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेयले चिसो छल्न झरेकाहरू गर्मीयाम सुरु भएपछि फागुनदेखि चैत महिनामा जिल्ला फर्किसक्ने बताउनुभयो ।