सुर्खेत, पुस ८ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले समाजिक संघसंस्थासँग सहकार्य गरेर समाजमा रहको समस्या समाधान गर्न सरकार सदैव तयार रहेको बताउनुभएको छ । उहाँले जाजरकोट रामीडाँडा भएर गएको भूकम्पले सिर्जित दुःखको समयमा खोज, उद्धार, राहत र पुर्नस्थापनामा समाजिक संघसंस्थाले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभयो । समाजलाई अघि बढाउन सरकार सबै समाजिक संघसंस्थासँग सहकार्य गरेर अघि बढ्न चाहेको उहाँले बताउनुभयो ।
एलाईन्स इन्टरनेशल क्लबको दोस्रो बैठकको वीरेन्द्रनगर सुर्खेतमा उद्घाटन गर्नुहुँदै मुख्य मन्त्री शर्माले अहिले समाजको आवश्यकता, समस्या र समाधानका विषयमा सरकार, समाजिक संघसंस्था आदिमा रहने जो कसैले पनि सोच्नुपर्ने भएको छ । ‘‘विज्ञान र प्रविधिमा भएको विकाससँगै समाजले खोजेको सुख र खुसी कसरी स्थापित गर्न सकिन्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘मानिसलाई चाँहिएको खुसी र सुख हो । सुख आर्थिक सम्पन्ताले प्राप्त हुन्छ भने समाजिक न्यायले खुसी प्राप्त गर्न सकिन्छ ।’’
कर्णाली प्रदेश सरकार कर्णालीमा आर्थिक सम्पन्नतासँगै समाजिक न्यायसहितको समाज निर्माण गर्ने क्रियाशिल रहेको छ । शिक्षा, स्वास्थ्य र रोजगार, सुशासनसहितको पूर्वाधारको नीतिमा रहेर काम भइरहेको मुख्यमन्त्री शर्माले बताउनुभयो । उहाँले प्राकृतिक स्रोत साधनले धनि कर्णाली प्रदेशमा कृषि र वनपैदवारममा आधारित रोजगार, जङ्गल, जल, जमिन र जडिवुटीको सहि सदूपयोग गरेर यहाँका समाजलाई अगाडि बढाउँने पनि उहाँको भनाइ छ ।
‘‘प्रकृति निर्मम छ । प्राकृतिक रुपमा विगतमा भएका विपदबाट हामीले सिकेको भए अहिले मानवीय मात्र होइन आर्थिक समाजिक क्षति न्यून हुन सक्थ्यो तर हामीले सिकेनौ । गोरखा वारपाकमा गएको भूकम्पबाट सिकेको भए कम क्षति हुन्थ्यो ।’’ मुख्यमन्त्री शर्माले भन्नुभयो ।
राजनैतिक रुपमा साझा प्रतिवद्धको रुपमा २०७२ मा जारी भएको नेपालको संविधानमा समाजवाद उन्मुख संविधान भनिएकाले राजनैतिक दलहरुले साझा प्रतिवद्धताको रुपमा अघि सारेको समाजवादबाट सुखी र खुशी समाज बनाउन के के गर्नु पर्ने हो । त्यसका लागि मार्गचित्रसहितको बहस गर्न जरुरी भएको मुख्यमन्त्री शर्माको भनाइ छ ।