• ११ मंसिर २०८१, मङ्गलबार

गुणस्तरीय स्वास्थ्य सामग्री खरिदमा जोड

blog

काठमाडौँ, पुस ८ गते । सार्वजनिक खरिद ऐन स्वास्थ्यमैत्री नहुँदा स्वास्थ्य उपकरण खरिदमा गुणस्तरहीन सामग्री आउन सक्ने भन्दै विज्ञहरूले सरकारलाई त्यसतर्फ सचेत रहन आग्रह गरेका छन् ।

उनीहरूले स्वास्थ्य सामग्री तथा खरिद गरिएका स्वास्थ्य उपकरण गुणस्तरीय नभएमा त्यसको प्रत्यक्ष असर आमनागरिकमा पर्ने बताएका हुन् । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले काठमाडौँमा आयोजना गरेको नेपालको स्वास्थ्य क्षेत्रमा आपूर्ति व्यवस्थापन प्रणालीसम्बन्धी कार्यक्रममा विज्ञहरूले स्वास्थ्य उपकरण गुणस्तरीयतामा जोड दिँदै स्वास्थ्य सामग्री खरिद गर्दा गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् । 

स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. सङ्गीता कौशल मिश्राले स्वास्थ्य सामग्री खरिदमा गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले गुणस्तरहीन सामग्रीको खरिदले स्वास्थ्य सेवालाई दिगो राख्न गाह्रो हुने भएकाले गुणस्तरमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले स्वास्थ्य सामग्रीको खरिद सबैको चासोको विषय हुने भएकाले पारदर्शिता कायम हुनुपर्नेमा जोड दिनुभयो ।

व्यवस्थापन महाशाखा निर्देशक सर्वेश शर्माले स्वास्थ्यका उपकरण खरिद प्रक्रियाले सामग्री खरिद गर्दा महिनौँ समय लाग्ने बताउनुभयो । उहाँले खरिद ऐन झन्झटिलो भएकाले समस्या भएको भन्दै सार्वजनिक खरिद ऐनमा टेकेर सामग्री खरिद गरेमा एक वर्षसम्म पनि स्वास्थ्यका उपकरण तथा सामग्री खरिद गर्न कठिन हुने गरेको उल्लेख गर्नुभयो । 

आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले सार्वजनिक खरिद ऐनमा स्वास्थ्यका सामग्री खरिद गर्न छुट्टै व्यवस्था गरिनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएकाले छुट्टै ऐन तथा निर्देशिका हुनुपर्नेमा जोड दिनुभयो ।