• २९ वैशाख २०८३, मङ्गलबार

गोरखा नगरपालिकाद्वारा आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय

blog

गोरखा नगरपालिका

गुणबहादुर रोका
सुलीकोट, वैशाख २९ गते ।
गोरखा नगरपालिका क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय अब आइतबार पनि सञ्चालन हुने भएका छन् । संघीय सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि स्थानीय तहमा पठनपाठन व्यवस्थापनबारे अन्योल देखिएको बेला नगरपालिकाले आइतबार अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

केही दिनअघि बसेको नगर कार्यपालिकाको बैठकले हाल कायम रहेको पाठ्यक्रम, पाठ्यभार र शैक्षिक समयतालिकालाई ध्यानमा राख्दै विद्यालय नियमित सञ्चालन गर्न यस्तो निर्णय गरेको गोरखा नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार हप्तामा पाँच दिन मात्र विद्यालय सञ्चालन गर्दा निर्धारित क्रेडिट आवर पूरा गर्न कठिन हुने देखिएकाले आइतबार अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो ।

गोरखा नगरपालिकाले संघीय सरकारको बिदा व्यवस्थालाई सम्मान गर्दै पनि विद्यार्थीको पढाइ प्रभावित नहोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको नगर शिक्षा समितिका संयोजक रहमतुल्य मियाँले बताउनुभयो । उहाँका अनुसार अहिलेको पाठ्ययोजना समयमै सम्पन्न गर्न नसकिने अवस्था देखिएकाले नगर शिक्षा, युवा तथा खेलकुद शाखालाई सबै विद्यालयसँग समन्वय गरी आइतबार कक्षा सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

आइतबार सञ्चालन हुने कक्षा नियमित पठनपाठनकै निरन्तरता हुने भएकाले अतिरिक्त कक्षा सञ्चालन गरेबापत शिक्षक तथा कर्मचारीलाई छुट्टै अतिरिक्त पारिश्रमिक दिने निर्णय भने नगरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

यसअघि नगरपालिकाले विद्यालयहरूको धारणा बुझ्न शिक्षा समितिमार्फत पटक–पटक छलफल गरेको थियो । गत मंगलबार आयोजित बैठकमा सबै प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग राय लिइएको थियो । अधिकांशको सुझावअनुसार शैक्षिक सत्र प्रभावित हुन नदिन आइतबार पनि विद्यालय सञ्चालन गर्नुपर्ने धारणा आएको थियो ।

उक्त सुझावका आधारमा शिक्षा समितिले नगर कार्यपालिकामा प्रस्ताव पेश गरेको थियो । सोही प्रस्तावलाई अनुमोदन गर्दै कार्यपालिकाले आगामी जेठ महिनादेखि पूर्ण रूपमा आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा समितिका संयोजक मियाँले बताउनुभयो ।

नगरपालिकाको यो निर्णयसँगै अब गोरखा नगरपालिका भित्रका विद्यालयहरूमा आइतबार पनि नियमित शैक्षिक गतिविधि हुने भएको छ । स्थानीय तहको यो कदमले पाठ्यक्रम समयमै सम्पन्न गर्न सहयोग पुग्ने विद्यार्थीका अभिभावकहरूले अपेक्षा गरेका छन् ।