• १४ मंसिर २०८१, शुक्रबार

थप छ वटा औद्योगिक ग्राम घोषणाको तयारी

blog

काठमाडौँ, पुस ८ गते  । सरकारले विभिन्न स्थानीय तहमा छ वटा औद्योगिक ग्राम घोषणा गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्राम घोषणा गर्न स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पठाइसकेको छ ।  मन्त्रीपरिषद्ले स्वीकृत गरेसँगै थप छ वटा ग्राम घोषणा हुने छन् । 

मन्त्रालयका अनुसार मधेश प्रदेशको बारास्थित करैयामाई गाउँपालिका, सोही प्रदेशको पर्सास्थित बहुदरमाई नगरपालिकामा ग्राम घोषणा गर्न लागिएको छ । कोशी प्रदेशको तेह्रथुमस्थित फेदाम गाउँपालिकामा ग्राम घोषणा गर्न लागिएको हो । 

यस्तै कर्णाली प्रदेशको जुम्लास्थित गुठीचौर गाउँपालिका र सुदूरपश्चिम प्रदेशको दार्चुलाको व्यास गाउँपालिकामा नयाँ औद्योगिक ग्राम घोषणा गर्न लागिएको मन्त्रालयले जनाएको छ । 

यसअघि १२० स्थानीय तहमा ग्राम घोषणा भइसकेका  छन्  । ११७  स्थानीय   तहले भने  ग्राम  निर्माणका लागि पहिलो किस्ताको रकम लगिसकेको मन्त्रालयले जनाएको छ । पहिलो किस्तामा मन्त्रालयले ९२ लाख रुपियाँ दिने गरेको छ । सरकारले स्थानीयस्तरका प्राकृतिक कच्चा पदार्थ उपयोग उत्पादनमा आत्मनिर्भर भई रोजगारी सिर्जना उद्देश्य अनुरूप स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरिए पनि अझै निर्माण सम्पन्न भई कार्यान्वयनमा आउन सकेको छैन । 

सरकारले बर्सेनि औद्योगिक ग्राम घोषणा गर्दै गए पनि अछामको मल्लेख गाउँपालिकाले ग्राम स्थापना भई सञ्चालन ल्याए पनि अन्य ठाउँमा ग्राम निर्माणकै क्रममा रहेका छन् । केही स्थानीय तहमा भने ग्राम निर्माणको काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । 

ग्राम निर्माणका लागि केन्द्र सरकारबाट गत आर्थिक वर्षसम्म एक अर्ब ३० करोड १४ लाख रुपियाँ विनियोजन भएको छ । 

मन्त्रालयले ग्राम निर्माणका लागि एउटा स्थानीय तहलाई ९२ लाख रुपियाँदेखि तीन करोड रुपियाँ दिने गरेको छ । ग्राम निर्माण गर्न बाँकी रकम प्रदेश सरकार र स्थानीय तहले हाल्नु पर्छ । जग्गा विवाद, वन क्षेत्रमा जग्गा परेकोलगायतका कारण निर्माण कार्य समयमा हुन नसकेको मन्त्रालयले जनाएको छ ।