• २१ असार २०८२, शनिबार

बजारमा खान अयोग्य मासु छ्यापछ्याप्ती

blog

सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधिले मासु पसलको अनुगमन गर्दै । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, पुस ७ गते । 
नेपालगन्ज बजार र त्यस आसपासका बजारका मासु पसलहरूमा खान अयोग्य मासु छ्यापछ्याप्ती पाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा सरोकारवाला निकायको सहभागितामा गरिएको मासु पसल अनुगमनका क्रममा त्यस्तो पाइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा सरोकारवाला निकायको सहभागितामा बिहीबार र शुक्रबार नेपालगन्ज र आसपासका बजार क्षेत्रका मासु पसलमा गरिएको अनुगमनका क्रममा विभिन्न मासु पसलहरूले खान अयोग्य मासु बिक्रीवितरण गर्दै आएको पाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

मासु व्यवसायीहरूले बिल बिजक बिना कारोबार गर्ने, फर्म नवीकरण नगर्ने तथा मापदण्ड विपरीत मनोमानी ढङ्गले खान अयोग्य मासुको कारोबार गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरी नकारात्मक असर पारिरहेको पाइएकाले त्यसता पसलहरूलाई चेतावनीसहित कारबाही गरिएको उहाँले बताउनुभयो ।

शुक्रबार बजारका विभिन्न १४ वटा मासु पसलमा अनुगमन गर्दा पाँचवटा मासु पसलले उपभोक्ताको हित विपरीत कार्य गरेको पाइएकाले कारबाही स्वरूप ८० हजार रुपियाँ जरिवाना गरिएको र खान अयोग्य खसीको २६ किलो मासु र कुखुराको ५७ किलो मासु जफत गरी नष्ट गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

प्रजिअ पोखरेलका अनुसार राँझास्थित मनिशोभा फ्रेश हाउसबाट खान अयोग्य ५० किलो कुखुराको मासु जफत गरी नष्ट गरिएको र बिल बिजक बिना कारोबार गरेकाले २० हजार रुपियाँ जरिवाना गराइएको छ । राँझाकै दानिस फ्रेस हाउसमा खान अयोग्य खसीको ८ किलो मासु जफत गरी नष्ट गरिएको र बिल बिजक बिना कारोबार गरेको पाइएकाले २० हजार रुपियाँ जरिवाना गराई कारबाही गरिएको छ । राँझाकै अर्को न्यू भेरी मिट एण्ड दाना सप्लायर्सले पनि बिल बिजक बिना कारोबार गरेकाले २० हजार रुपियाँ जरिवाना गरिनुका साथै खान अयोग्य कुखुराको ७ किलो मासु जफत गरी नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।

नेपालगन्जको बाँके बगियास्थित मासु मण्डीको मो. मुर्तजा मासु पसलमा खान अयोग्य खसीको नौ किलो मासु भेटिएकाले बरामद गरी नष्ट गरिएको र बिल बिजक बिना कारोबार गरेकाले १० हजार रुपियाँ जरिवाना गरिएको प्रजिअ पोखरेलले बताउनुभयो । सलिम अहमद खसी मासु फ्रेश हाउसमा पनि खान अयोग्य नौ किलो खसीको मासु फेला पारी नष्ट गरिएको र बिल बिजक बिना कारोबार गरेकाले १० हजार रुपियाँ जरिवाना गराइएको थियो ।

अनुगमन टोलीले नेपालगन्ज–१३, बाँके बगियामा रहेको मासु मण्डीका १३ वटा मासु पसलका सञ्चालकहरूलाई संयुक्त रूपमा भेला गराई विशेषज्ञ तथा पशु चिकित्सकबाट मासु सम्बन्धी प्रशिक्षण गराई चेतावनीका साथै आवश्यक निर्देशन समेत दिइएको प्रजिअ पोखरेलले बताउनुभयो ।

कुनै पनि बहानामा उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गरी उपभोक्ता ठग्ने जो कोहीलाई पनि कानुन अनुसार कारबाहीको दायरामा ल्याइने र उपभोक्ताको हित अनुसार काम गर्ने गरी दैनिक रूपमा प्रशासनको नेतृत्वमा सरोकारवाला निकायको सहभागितामा बजार अनुगमनलाई तीव्र रूपमा निरन्तरता दिइने प्रजिअ पोखरेलले बताउनुभयो ।