• २१ असार २०८२, शनिबार

धेरैमा पाठ्यक्रम, थोरैमा पुस्तक

blog

लीलाधर वली

घोराही, पुस ६ गते । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहहरूलाई स्थानीय पाठ्यक्रम निर्माण गरेर विद्यालयमा पढाइ सञ्चालन गर्न पाउने अधिकार प्रदान गरेको छ । यो व्यवस्थाको लक्ष्य स्थानीय तहमा भएका सांस्कृतिक, सामाजिक, पर्यटकीयलगायतका क्षेत्रबारे विद्यार्थीलाई सिकाउनु हो । 

विद्यार्थीलाई स्थानीय पालिकाको चिनारीबारे ज्ञान दिने उद्देश्यले स्थानीय सरकार सञ्चालन ऐनले गरेको यो व्यवस्था कार्यान्वयनमा भने स्थानीय सरकार सक्रिय देखिएका छैनन् । जिल्लामा केही स्थानीय तहले मात्रै स्थानीय पाठ्यक्रम बनाएर पढाइ सञ्चालन गरेका छन् । धेरै स्थानीय तहले अहिलेसम्म स्थानीय पाठ्यक्रम लागु गर्न सकिरहेका छैनन् । स्थानीय पाठ्यक्रम लागु गरेर विद्यालयमा पठनपाठन सञ्चालन गरिरहेको घोराही उपमहानगरले पुस्तक छपाइ भने गर्न सकेको छैन ।

उपमहानगरले पुस्तक छपाइका लागि टेन्डर खोलेको पनि थियो । उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले छपाइका लागि उपमहानगरले तोकेको मूल्यमा कोही पनि सहमत नभएपछि छपाइ हुन नसकेको बताउनुभएको छ । नगर प्रमुख चौधरीले भन्नुभयो, “हामीले पुस्तक छपाइका लागि टेन्डर आह्वान गरेका थियौँ तर कोही पनि हामीले तोकेको दररेटमा पुस्तक छाप्न इच्छुक बन्नु भएन । अब फेरि ठेक्का प्रक्रियामा लैजान्छौँ र आउँदो शैक्षिक सत्रदेखि विद्यार्थीको हात हातमा पुस्तक पुग्ने गरी काम गर्छौं ।” नगर प्रमुख चौधरीका अनुसार दररेट बढाएर पुस्तक छपाइका लागि पुनः ठेक्का आह्वान गर्ने नगर सभाले निर्णय गरिसकेको छ । 

स्थानीय पाठ्यक्रम अनुसार पढाइ सञ्चालन गरेको तुलसीपुर उपमहानगरले भने विद्यार्थीको हात हातमा पुस्तक पु¥याइसकेको छ । उपमहानगरले ‘हाम्रो तुलसीपुर’ नामक पुस्तक प्रकाशन गरेको छ । गत वर्षदेखि स्थानीय तहको पाठ्यक्रम अनुसार पढाइ सञ्चालन गरेको नगर प्रमुख टीकाराम खड्का बताउनुहुन्छ । नगर प्रमुख खड्काले भन्नुभयो, “हामीले स्थानीय पाठ्यक्रम तयार पारेर पढाइ सुरु गरिसकेका छौँ ।” तुलसीपुरमा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गरिएको छ । 

लमही नगरपालिकाले २०७८ देखि स्थानीय पाठ्यक्रम लागु गरेको भए पनि पुस्तक भने तयार पार्न सकेको छैन । लमहीले सहयोगी पुस्तिकाका आधारमा पठनपाठन गर्ने व्यवस्था मिलाएको लमही नगरपालिका शिक्षा शाखा अधिकृत भवानी गिरीले बताउनुभयो । उहाँका अनुसार पाठ्यक्रम लागु भए पनि पुस्तक भने अझै तयार हुन सकेको छैन । पाठ्यक्रममा आधारित सहयोगी पुस्तिका तयार गरेर पठनपाठन भइरहेको उहाँले बताउनुभयो । दङ्गीशरण गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि मात्रै स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । 

दङ्गीशरणमा पाठ्यक्रम पास भएको र यसको कार्यान्वयन भने आगामी शैक्षिक सत्रदेखि थालिने भएको गाउँपालिका अध्यक्ष शम्भु गिरी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “स्थानीय पाठ्यक्रम तयार भएर पास पनि भइसकेको छ, यो वर्षदेखि लागु गर्न सकिएन । अर्को शैक्षिक सत्रदेखि लागु गर्ने तयारीमा छौँ ।” उहाँका अनुसार आगामी शैक्षिक सत्रदेखि पाठ्यक्रम लागु गरेर पढाइ सञ्चालन गर्ने र पाठ्यपुस्तकमा सामाजिक, आर्थिक, पर्यटकीयलगायतका विषय समेटेर पाठ्यक्रम तयार पारिएको छ । 

दुई शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागु गर्ने भने पनि बङ्गलाचुली गाउँपालिकाले पाठ्यपुस्तक भने तयार पारेको छैन । पाठ्यक्रमका आधारमा तयार पारिएको सहयोगी पुस्तिकाका आधारमा शिक्षकले पठनपाठन गराइरहेको बङ्गलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन बताउनुहुन्छ । उहाँका अनुसार पुस्तक छपाइका लागि विज्ञहरूको खोजी पालिकाले गरिरहेको भए पनि पाउन सकेको छैन । उहाँले भन्नुभयो, “स्थानीय पाठ्यक्रम लागु गरेर हाम्रो पालिकाका विद्यालयमा पठनपाठन भइरहेको छ, अध्यापनका लागि पाठ्यक्रमका आधारमा सहयोगी पुस्तिका पनि बनाइएको छ ।” 

स्थानीय पाठ्यक्रम लागु गरेर पठनपाठन गराइरहेको गढवा गाउँपालिकाले विद्यार्थीलाई पुस्तकसमेत उपलब्ध गराइसकेको छ । यो शैक्षिक सत्रदेखि विद्यार्थीलाई पुस्तकसमेत उपलब्ध गराएर पठनपाठन सुरु गरिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागुसँगै पुस्तकसमेत विद्यार्थीलाई उपलब्ध गराइसकेका छौँ ।” 

राप्ती गाउँपालिकाले २०७८ देखि स्थानीय पाठ्यक्रम लागु गरेको भए पनि यसै शैक्षिक सत्रदेखि १ देखि ३ कक्षासम्मको मात्रै पाठ्यपुस्तक तयार पारेर पठनपाठन सुरु गरेको छ ।  अहिले कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराइएको राप्ती गाउँपालिका शिक्षा शाखा अधिकृत विश्वास विकले बताउनुभएको छ । उहाँले भन्नुभयो, “हाम्रो पालिकामा २०७८ सालदेखि स्थानीय पाठ्यक्रम लागु भए पनि यसै शैक्षिक सत्रदेखि १ देखि ३ कक्षासम्मको पाठ्यपुस्तक तयार गरी पठनपाठन गरिरहेका छौँ ।” ४ देखि ८ कक्षासम्मको पाठ्यपुस्तक निर्माणको तयारीमा रहेको उहाँले बताउनुभयो । 

त्यसै गरी शान्तिनगर गाउँपालिकाले १ देखि ५ कक्षासम्मको पाठ्यपुस्तक तयार पारेको छ । गत वर्षदेखि स्थानीय पाठ्यक्रम अनुसारका पुस्तक विद्यार्थीलाई वितरण गरेर पठनपाठन गरिरहेको शान्तिनगर गाउँपालिका उपाध्यक्ष प्रेमाकुमारी बुढाथोकीले बताउनुभएको छ । उहाँका अनुसार १ देखि ५ कक्षासम्मको पाठ्यपुस्तक तयार पारेर पढाइ रहेको र आगामी शैक्षिक सत्रदेखि ६ देखि ८ कक्षासम्मको पाठ्यपुस्तक तयार गरेर विद्यार्थीलाई उपलब्ध गराउने तयारीमा लागेको उपाध्यक्ष बुढाथोकी बताउनुहुन्छ । 

गत वर्षदेखि स्थानीय पाठ्यक्रम लागु गरेको राजपुर गाउँपालिकाले अहिलेसम्म पाठ्यपुस्तक तयार पारिसकेको छैन तर पाठ्यपुस्तक निर्माणका लागि सम्झौता भइसकेको  राजपुर गाउँपालिका शिक्षा शाखा प्रमुख केशव लम्सालले जानकारी दिनुभएको छ ।  कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई आगामी शैक्षिक सत्रदेखि गाउँपालिकाले पाठ्यपुस्तक उपलब्ध गराउने उहाँ बताउनुहुन्छ । बबई गाउँपालिकाले अहिलेसम्म स्थानीय पाठ्यक्रम लागु गरेको छैन । आगामी शैक्षिक सत्रदेखि पाठ्यक्रम लागु गर्ने तयारीमा रहेको बबई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले जानकारी दिनुभएको छ । आगामी शैक्षिक सत्रदेखि पाठ्यक्रम लागु गरेर पठनपाठन गर्ने तयारीमा रहेका प्रमुख प्रशासकीय अधिकृत भण्डारी बताउनुहुन्छ ।