बोमलाल गिरी
नवलपुर, पुस ५ गते । नवलपुर जिल्लाको बुलिङटार गाउँपालिका–४ को अर्खला समुद्री सतहबाट ९२७ मिटरमा अवस्थित छ । पूर्वपश्चिम राजमार्गले छोएको दललेबाट २६ किलोमिटरको दुरीमा रहेको यो पुरानो मगर बस्तीलाई सानो लाप्राक पनि भनिन्छ । चिसो मौसम र उर्वर भूमि रहेको अर्खलाको सिरानमा सेतीनाग माध्यमिक विद्यालय छ ।
यो विद्यालय २०१६ सालमा स्थापित भएको हो । यहाँ हाल २४० जना विद्यार्थी अध्ययनरत छन् । बर्खा लाग्दा न विद्यार्थीको ध्यान पढाइमा जान्छ न शिक्षकको नै । यहाँको सुन्दर बस्ती र विद्यालयलाई तीनतिरबाट पहिरोले घेरेको छ । पहिरोले विद्यालयलाई पश्चिमतिरबाट छुन ५०/६० मिटर मात्र बाँकी छ । स्कुलको बिम चर्किसकेको छ । विद्यालयका सहायक प्रधानाध्यापक सुन्दरमणि सुवेदीका अनुसार कालीगण्डकी कोरिडोर जोड्ने बाटोलाई फराकिलो बनाउने क्रममा खराब इन्जिनियरिङका कारण २०७६ सालमा ठुलो पहिरो गयो । हरेक वर्ष पहिरो थप फराकिलो हुँदै गएको छ । यसले विद्यार्थीमा मानसिक त्रास थपिइरहेको छ ।
उहाँले भन्नुभयो, “विद्यालयको पछाडिपट्टि कालिगण्डकी कोरिडोर जोड्ने बाटोलाई फराकिलो बनाउने क्रममा भित्तामा हान्दा ठुलो पहिरो गयो । त्यसपछि विद्यालय सबै जोखिममा छ । बादल लाग्दा, आकाश गर्जंदा बालबालिका तर्सिन्छन् र झ्यालबाट पहिरो नियाल्छन् । कक्षामा पढाउने बेलामा ध्यान केन्द्रित गर्नै सकिन्न । विद्यार्थी बर्खाभरि विद्यालय बन्द गरौँ वा चउरमा बसेर पढौँ भन्छन् । सर मिसहरू पनि पढाउने बेलामा गड्याङगुडुङ भयो भने बाहिर दौडिने गर्नु परेको छ । हामीहरू पनि पहिरो जान थाल्यो भने खबर गर्नु भनेर कक्षा कोठामा छिर्छौं ।”
विद्यार्थी आउन डराउँछन् तर अर्को विद्यालयनजिक नभएकाले अन्यत्र जाने विकल्प पनि छैन । कक्षा १० मा अध्यनरत आरती बराल पानी प¥यो कि पढाइभन्दा पहिरो गए कसरी जोगिने भन्नेमा ध्यान केन्द्रित हुने गरेको बताउनुहुन्छ ।
जति जोखिम भए पनि ठाउँको अभावले विद्यालयलाई स्थानान्तरण गर्न सकिने अवस्था भने नरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर पुलामीले बताउनुभयो ।
उमेरले तीन बिसको हाराहारीमा पुगेका बुलिङटार–४ का वडाध्यक्ष मिनबहादुर आलेलाई पनि पिरैपिरले गिजोलिरहेको छ । उहाँ यति बेला सिङ्गो गाउँलाई तीन तिरबाट पहिरोले घेरेपछि पटक पटक गाउँ जोगाउन भन्दै दलका नेता, सांसद, मन्त्री सबैकोमा धाउनुभयो । जति प्रयास गर्दा पनि कसैले कुरा नसुनिदिए पछि उहाँलाई गाउँ जोगाउने चिन्ताले औधी पिरोलिरहेको छ । अध्यक्ष आलेले भन्नुभयो, “गाउँलाई तीन तिरबाट पहिरोले घेरेको छ, कतिबेला पहिरो खसेर गाउँनै लैजान्छ, पानी प-यो कि कतिबेला के हुने हो भन्ने डरले अत्ताउँछ ।”
बुलिङटारको अर्खला गाउँ रहेको निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शशाङ्क कोइरालाले चार पटकसम्म प्रतिनिधि सभा निर्वाचन जित्नुभयो । यसै क्षेत्रबाट २०७४ मा प्रदेश सभा चुनावमा निर्वाचित भएर कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्नुभयो । गत २०७९ को निर्वाचनबाट प्रदेश सभामा निर्वाचित नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका महेन्द्रध्वज जिसी अहिले मन्त्री हुनुहुन्छ । उहाँहरू सबैलाई यहाँको पहिरोको जोखिमका बारेमा जानकारी गराएर स्थलगत निरीक्षण गर्दा पनि समस्या समाधानमा कुनै पहल नगरेको विद्यालयका प्रधानाध्यापक खेमबहादुर सुस्लिङले बताउनुभयो ।
हिउँदमा डर नभए पनि बर्खाका बेला सबै एकै चिहान भइन्छ कि जस्तो लाग्ने गरेको उहाँको गुनासो छ । सडक निर्माणका क्रममा गलत इन्जिनियरिङ गरी अनावश्यक डोजर चलाउँदा जमिनमा धाँजा परी पहिरोको जोखिम बढेको नेकपा माओवादी केन्द्र बुलिङटारका इन्चार्ज लोकप्रसाद भूर्तेलको भनाइ छ ।
नेपाली कांग्रेसका नेता एवं यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्या डा. शशाङ्क कोइरालाले भने पहिरो रोकथामका लागि पहल गरिरहेको दाबी गर्नुभयो । गोरखापत्रसँग टेलिफोनमा कुरा गर्दै कोइरालाले भन्नुभयो, “यो पहिरो रोक्न ठुलो बजेट चाहिन्छ, पहिरोको जोखिममा सिङ्गो गाउँ नै रहेकाले यसको रोकथाम र पहिरो नखस्ने गरी सडक निर्माणका लागि मैले अर्थमन्त्री र भौतिक पूर्वाधारमन्त्रीसँग कुरा अगाडि बढाएको छु । बजेट निकासा भएपछि रोकथामको काम अघि बढ्छ ।” उहाँका अनुसार पहिरो रोकथामका लागि ३३ करोड रुपियाँ लाग्ने अनुमान छ ।