• १५ मंसिर २०८१, शनिबार

आठ विद्यार्थीका लागि नयाँ भवन निर्माण सकिँदा विद्यार्थी शून्य

blog

वालिङ नगरपालिका–१४, हुग्दीमा रहेको भविष्य उज्ज्वल आधारभूत विद्यालयको नयाँ भवन । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे 

वालिङ, पुस ४ गते । विद्यालयमा आठ विद्यार्थी अध्ययनरत थिए, विद्यार्थी सङ्ख्या थोरै भएपछि कक्षाकोठाको अभाव हुने कुरै भएन । विद्यार्थी सङ्ख्या घटे पनि विद्यालयका लागि पक्की भवन बनाउने बजेट पर्‍यो । पहुँचका भरमा भवन बनाउन आएको बजेटले भवन पनि बन्यो तर भवन निर्माण सम्पन्न हुँदा पढ्न आउने विद्यार्थी भने कोही पनि भएनन् ।  यो वालिङ नगरपालिका–१४, हुग्दीमा रहेको भविष्य उज्ज्वल आधारभूत विद्यालयको अवस्था हो । अहिले विद्यालय पूर्ण रूपमा बन्द छ । विद्यार्थी सङ्ख्या शून्य भएपछि विद्यालयमा कार्यरत शिक्षकलाई विभिन्न विद्यालयमा खटाइएको छ । वालिङ नगरपालिकाले विद्यालयलाई मर्ज गर्ने निर्णय गरेर शिक्षकलाई अन्यत्र खटाएको हो ।  विद्यालयमा चार जना शिक्षक कार्यरत रहेका थिए । 

विद्यालय मर्जको समयमा चार जना विद्यार्थी रहेको विद्यालयको दाबी छ तर स्थानीयले भने विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य भएको बताए । कुनै बेला एक सयको हाराहारीमा विद्यार्थी हुने विद्यालय अहिले अस्तव्यस्त अवस्थामा पुगेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशबहादुर कुँवरले यस विद्यालयले २०३९ सालमा स्थापना भई २०४६ सालमा दरबन्दी पाएको बताउनुभयो । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा विद्यार्थी सङ्ख्या घटेपछि कक्षा ३ सम्म पढाइ हुँदै आएको थियो । 

बढ्दो बसाइँसराइ, बालबच्चा पढाउनका लागि बजारमा बस्ने क्रम बढ्नुलगायतका कारणले विद्यार्थी घटेको कुँवरको भनाइ छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाई (शिक्षा) स्याङ्जाले विद्यार्थी नै नभएको विद्यालयमा भवन निर्माणका लागि बजेट दिएको हो । राजनीतिक दलका आधारमा सक्रिय रहेका विभिन्न सङ्घ सङ्गठनले भागबन्डा गरेर भवन निर्माणको कोटा बाँड्ने गरिएको बताइन्छ । सोही आधारमा विद्यार्थी नै नभएको विद्यालयका लागि भवन बनाउन २४ लाख दिइएको थियो । शिक्षक सङ्घ केन्द्रीय उपाध्यक्ष तथा स्याङ्जाका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद रेग्मीले सङ्घसङ्गठनले सहजीकरणको काम मात्रै गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयको भवन बनाउन माग गर्ने निर्णय र प्राधिकरणको बजेट दिने निर्णयले सबै काम हुन्थ्यो, हामीले सहजीकरणको काम मात्रै गर्दथ्यौँ ।” २४ लाखको लागतमा बनाइएको दुई कोठे ट्रस भवन अहिले बन्द छ । नियमित संरक्षणको अभावमा नयाँ भवन पनि पुरानो जस्तो देखिन थालेको छ । 

प्राधिकरणलाई जिल्लाका अन्य धेरै विद्यालयमा पनि अनावश्यक रूपमा भवन बनाइएको आरोप लाग्ने गरेको छ । प्राधिकरणको कार्यालय भने गत सालबाट नै बन्द भइसकेको छ । प्राधिकरणको जिम्मेवारी शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जालाई हस्तान्तरण भएसँगै बन्द भएको हो । शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यले  कार्यालय बन्द भए पनि यसका बाँकी काम प्राधिकरणको केन्द्रीय कार्यालयबाट भइरहेका जानकारी दिनुभयो । जिल्लामा ठुला भवन बनेका तर विद्यार्थी कम रहेको आचार्यले स्वीकार गर्नुभयो । विद्यालय व्यवस्थापन समितिको मागका आधारमा भवन निर्माण हुँदै आएको उहाँको भनाइ छ।