• २२ असार २०८२, आइतबार

आइटी : दशककै अत्यावश्यक शिक्षा

blog

अबको पाँच वर्ष अथवा एक दशकसम्म पनि सबैभन्दा धेरै माग हुने जागिरमध्ये सूचना प्रविधि (आइटी) र अझ बढी आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) सँग सम्बन्धित काम हुने विभिन्न अध्ययन अनुसन्धानले देखाएका छन् । वल्र्ड इकोनोमिक फोरम, फोब्र्स, कोर्सेरा जस्ता चर्चित अनुसन्धान संस्थाले खास गरी एआईसँग सम्बन्धित डेटा एनालिस्ट, डेटा इन्जिनियर र डेटा साइन्टिस्टहरूको माग सबैभन्दा बढी हुने अनुमान प्रस्तुत गरेका छन् । 

यसबाहेक साइबर सुरक्षासम्बन्धी विज्ञ र विश्लेषकको माग पनि अबको एक दशकसम्म बढ्दै जाने अनुसन्धानको निष्कर्ष छ । यसबाहेक आइटी म्यानेजर, सफ्टवेयर डेभलपर, वेब डेभलपरहरू पनि अबको केही वर्ष व्यस्त रहने जनशक्तिमा पर्छन् । 

विश्वका सबैभन्दा १० धनीमध्ये सात जना सूचना प्रविधिकै व्यवसायमा संलग्न व्यक्ति रहेको फोब्र्सले सार्वजनिक गरेको सूचीले देखाउँछ । छोटो समय र उमेरमै कोही धनी बन्दै छ भने त्यो आइटीकै काम गर्ने नै रहेको पनि फोब्र्सको विश्लेषण छ । 

ओपन लर्निङ प्लेटफर्म कोर्सेराले सन् २०२५ मा सबैभन्दा बढी कमाउने र रोजगारदाताले खोज्ने सिपका रूपमा जेनेरेटिभ एआईलाई सबैभन्दा माथि राखेको छ । त्यसपछि डेटा एनालाइसिस, डेटा भिजुअलाइजेसन, साइबर सुरक्षा सबैभन्दा आवश्यक सिपमा पर्ने कोर्सेराले उल्लेख गरेको छ । 

माथिका उदाहरणले आइटी अझ त्यसमा पनि एआईसँग सम्बन्धित सिप विश्वभर कति आवश्यक र महत्वपूर्ण बनिरहेको छ भन्ने प्रस्ट पार्छ । नेपाली समाजमा डाक्टर, इन्जिनियर पढ्नु÷बन्नुलाई जसरी सामाजिक प्रतिष्ठासँग जोडेर हेर्ने गरिन्छ/गरिन्थ्यो, विश्वव्यापी खोजी भइरहेको सिपको मागलाई हेर्ने हो भने त्यस्तो सोच अब परम्परागत बनेको देखिन्छ । 

नेपालमै पनि डाक्टर, इन्जिनियरले गर्ने आम्दानीभन्दा पनि धेरै आकर्षक तलब आइटीको काम गर्ने युवाले पाइरहेका छन् । पढ्दापढ्दै कमाउन सकिने, आफ्नो रोजाइको समयमा काम गर्न पाइने र देशभित्रै बसेर विदेशको समेत काम गर्न मिल्ने लचकताका कारण अन्य पेसा र शिक्षाको तुलनामा आइटी पढ्नु र यससँग सम्बन्धित काम गर्नु अहिले युवाको रोजाइमा परेको छ । अझ कम उमेरबाटै कमाउन सक्ने आधार पनि आइटीले सिर्जना गरिदिएको छ । सानो लगानीमै पनि आइटीसम्बन्धी व्यवसाय सञ्चालन गर्न सकिने हुँदा यसले युवालाई उद्यमशीलतातर्फ प्रवेश गर्ने सहज ढोका पनि खोलिदिएको छ । 

उच्च शिक्षा आइटीको भ¥याङ

एसइईपछि धेरैलाई आफूले पढ्ने विषयमा दोधार हुन सक्छ, यो स्वाभाविक हो । यसमा आफ्नो रुचि र सहजतालाई ध्यान दिन जरुरी हुन्छ । कतिपयले भविष्यमा आफू के बन्ने भन्ने पहिले नै तय गरिसकेका हुन्छन् र त्यसैका आधारमा विषय छनोट गर्छन् तर अहिलेको समयमा जुनसुकै विषय अध्ययन गरे पनि आइटीसम्बन्धी सिप र ज्ञान हरेक पेसा र कर्मका लागि अनिवार्य बनेको छ । सूचना प्रविधि र इन्टरनेटको बढ्दो प्रयोगले काम गर्ने शैली नै परिवर्तन गरिदिएको छ जसले गर्दा सामान्य कामका लागि यससम्बन्धी ज्ञान अनिवार्य गरिदिएको छ । 

तपाईं डाक्टर बन्नुहोस् अथवा इन्जिनियर, व्यवस्थापक बन्नुहोस् अथवा शिक्षक, सरकारी कर्मचारी बन्नुहोस् अथवा वकिल, जुनसुकै पेसाका लागि आइटीसम्बन्धी सिप अनिवार्य बनेको छ । आइटीसम्बन्धी सिप नजान्नु, प्रतिस्पर्धी बजारबाट आफूलाई अलग राख्नु जस्तै बनेको छ । यसको अभावमा पेसागत प्रतिस्पर्धामा पनि पछि पर्ने अवस्था छ ।   

आइटीसम्बन्धी सिपको अनिवार्यतालाई बुझेर उच्च शिक्षाकै क्रममा कम्प्युटर र यससँग सम्बन्धित कक्षा लिनु अहिलेको समयको सबैभन्दा बुद्धिमत्तापूर्ण निर्णय हुने छ । आइटीको बढ्दो आवश्यकताका कारण कम्प्युटर कक्षा अहिले विज्ञान, व्यवस्थापन, मानिविकी सङ्कायमा समेत सामेल गराएको पाइन्छ । जुन् अत्यन्त सकारात्मक पनि हो । जहाँ कम्प्युटर कक्षालाई विकल्पका रूपमा राखिएको छ विद्यार्थीले त्यसलाई छनोट गर्न धेरै सोच्न जरुरी छैन । उच्च शिक्षामा पढाइने कम्प्युटर शिक्षा सैद्धान्तिक किसिमको भएकाले त्यसलाई बढी व्यावहारिक बनाउने सन्दर्भमा भने विद्यार्थीले सोच्न जरुरी छ । यसका लागि अनलाइनमा उपलब्ध निःशुल्क कोर्स तथा भौतिक रूपमै पनि छोटो समयका सशुल्क कक्षा लिनु उत्तम हुन्छ । यसले विद्यार्थीलाई आफ्नो समयका लागि आवश्यक सिप मात्र दिँदैन सोच्ने क्षमता र दायरा नै फराकिलो बनाइदिन्छ । त्यसैले उच्च शिक्षामा कम्प्युटरसम्बन्धी शिक्षा आफ्नो भविष्यलाई सुरक्षित बनाउने माध्यम मात्र होइन आइटीको दुनियाँमा प्रवेश गर्ने सबैभन्दा सजिलो भ¥याङ पनि हो । 

सस्तो तर सुरक्षित 

विद्यार्थीका रूपमा आइटी शिक्षा पढ्नुको सुविधा भनेको यो अन्य चर्चित विषयको तुलनामा अत्यन्त सस्तो हुनु पनि हो । भविष्यमा आइटीकै काम गर्ने चाहना राख्ने विद्यार्थीले डाक्टर अथवा इन्जिनियर पढ्न जस्तो धेरै खर्च आइटी शिक्षाका लागि गर्नु पर्दैन । अझ आइटीसम्बन्धी औपचारिक शिक्षाको अवधि पनि विश्वव्यापी रूपमै घटाइँदै लगिएको सन्दर्भमा यसको अध्ययनका लागि धेरै समय पनि खर्च गर्नुपर्ने अवस्था छैन । 

आइटी पढ्दै गर्दा आम्दानी गर्न पाउने विकल्पका कारण आर्थिक रूपमा अप्ठ्यारोमा रहेका विद्यार्थीका लागि पनि यसले अवसर सिर्जना गर्छ । आइटीको कामबापत प्राप्त हुने आम्दानी आफैँमा भने आकर्षक छ । नेपालमै पनि आइटीको विशेष सिप राख्ने व्यक्तिले न्यूनतम एक लाख रुपियाँदेखि माथिको आम्दानी गर्न सक्ने अवस्था छ । धेरै पैसा र समय खर्च गरेर पढेका विषयभन्दा आइटी अध्ययनपछि प्राप्त हुने आम्दानी नेपालको सन्दर्भमा झन् बढी आकर्षक बन्न थालेको छ । अझ कतिपय अवस्थामा घरबाटै काम गर्न पाउने सहजताले कामको प्रकृतिलाई लचक बनाइदिएको छ । 

अहिले हरेक कुरा इन्टरनेटमा उपलब्ध छ । मानिस हरेक समय इन्टरनेटमा खर्चिरहेका छन् । सरकारी सेवादेखि व्यक्तिका आवश्यकता इन्टरनेटबाटै उपलब्ध भइरहेको छ तर इन्टरनेट आफैँमा सबैथोक पक्कै होइन । इन्टरनेटलाई प्रयोगयोग्य हुने प्लेटफर्म बनाइदिने काम आइटीकै जनशक्तिको हो । विश्व नै इन्टरनेटमा झुम्मिरहेको यो समयमा आइटीभन्दा अर्को माग भएको सिप सायदै होला । त्यसैले एसइई दिएर उच्च शिक्षाका लागि कलेज छान्दै गर्दा कम्प्युटर अथवा आइटीसम्बन्धी कक्षा छनोट गर्न सक्नुभयो भने तपाईंले भविष्यमा रोजगारको बजारका लागि आजै आफूलाई तयार गर्दै गरेको पुष्टि हुने छ ।