प्रिडिप्लोमा तह तथा डिप्लोमा तहका लागि सिटिइभिटीले प्रत्येक वर्ष विभिन्न शैक्षिक कायक्रममा विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिँदै आएको छ । यो वर्ष पनि २९ वटा शैक्षिक कार्यक्रमका लागि डिप्लोमा तहमा तीन हजार ४७ जना र प्रिडिप्लोमा तहमा ६५१ जना गरी कुल तीन हजार ६९७ विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिइँदै छ ।
पछिल्लो समय मुलुकमा जीवनोपयोगी र सिपमूलक शिक्षाको कमी भएको विषयमा चर्को बहस भइरहेको छ । हरेक दिन रोजगारी र उच्च शिक्षा अध्ययनका लागि बिदेसिरहेका विद्यार्थीका तथ्याङ्कले पनि यसलाई धेरथोर पुष्टि गर्छ तर स्वदेशमा पनि पढ्दै कमाउन पनि सकिने अवसर प्रशस्तै छन् भन्ने विषय विभिन्न व्यक्तिका सफलताका कथाले पुष्टि गरेका छन् ।
बर्दिया राजापुरका वसन्त चौधरी यस्तै पात्रमध्येका एक हुन् । चौधरीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत काभे्रमा रहेको पनौती प्राविधिक शिक्षालयमा अध्ययनकै क्रममा कमाउन थाल्नुभएको छ । सो शिक्षालयमा औद्योगिक अटोमेकानिकल इन्जिनियरिङको प्रिडिप्लोमा दुईबर्से कोर्स गरिरहेका चौधरीले हाल सिक्दै काठमाडौँको गौशालामा रहेको रकेट सेल्स नामक गाडीको वर्कसपमा काम गरेर मासिक ४० हजार कमाउन थाल्नुभएको छ । कक्षा १२ पछि वैदेशिक रोजगारीमा गएर दुःख पाएपछि स्वदेशमा आई सो कोर्स गर्न लागेका चौधरीलाई विदेश गएकोमा अहिले पछुतो छ ।
चौधरीसँगै सोही कोर्स गरिरहेका प्रमोद पराजुलीले पनि सिक्दै कमाउन थाल्नुभएको करिब डेढ वर्ष भयो । पराजुली काठमाडौँ बालाजुस्थित कन्टिनेटल टे«निङमा सिप सिक्दै मासिक ३० हजारभन्दा बढी कमाउनुहुन्छ । सरकारको छात्रवृत्तिमा सिक्दै कमाउन थालेका पराजुलीले भन्नुभयो, “हातमा अटोमोबाइल इन्जिनियरिङ गरेको प्रमाणपत्र हुनेबित्तिकै मासिक एक लाख रुपियाँसम्म कमाउन विदेश जानु पर्दैन ।”
उहाँहरू त प्रतिनिधि पात्र मात्रै हो । यस शिक्षालयले स्थापनादेखि हजारौँ सङ्ख्यामा दक्ष जनशक्ति उत्पादन गरिसकेको छ । शिक्षालयका उपप्रमुख मृगेन्द्र प्रधानका अनुसार नेपाल र विदेशको श्रम बजारलाई आवश्यक पर्ने आधारभूत तहको अटोमोबाइल इन्जिनियरिङ क्षेत्रमा जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रिडिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ र डिप्लोमा अटोमोबाइल इन्जिनियरिङ सञ्चालन भइरहेको छ । सिटिइभिटीको आङ्गिक पनौती प्राविधिक शिक्षालयले २०५५ सालदेखि प्रिडिप्लोमा अटोमोबाइल इन्जिनियरिङ कोर्स र
२०७८ सालदेखि डिप्लोमा अटोमोबाइल इन्जिनियरिङ कोर्सका कार्यक्रम सञ्चालन गर्दै आएको उपप्रमुख प्रधानले जानकारी दिनुभयो ।
सिक्दै कमाउँदै अवधारणा
प्राविधिक शिक्षालयमा अध्ययनरत प्रशिक्षार्थीलाई व्यावहारिक सिप सिकाई उद्यमशील बनाउने उद्देश्यले सिक्दै र कमाउँदै कार्यक्रम अन्तर्गत वसन्त र प्रमोद जस्ता युवाका लागि अवसर प्राप्त भएको छ । हालसम्म अटोमोबाइल इन्जिनियरिङ कोर्समा सिप परीक्षण प्रमाणपत्र प्राप्त गरेकामध्ये ७८ प्रतिशतले रोजगारी प्राप्त गरेको परिषद्को वार्षिक प्रतिवेदनमा उल्लेख छ । परिषद्ले प्राविधिक शिक्षामा अध्ययनरत प्रशिक्षार्थीलाई सिक्दै र कमाउँदै कार्यक्रममा सहभागी गराउँदा उनीहरूको सिपमा निखारता आउने र कार्यसम्पादनमा आत्मविश्वास बढ्ने मात्र नभई समुदायको आवश्यकता पहिचान, समस्या समाधान, आयआर्जन, सञ्चार सिप, बजारीकरण र व्यावसायिकताको विकास हुने गरेको जनाएको छ । परिषद्का अनुसार अध्ययनरत प्रशिक्षार्थी, पूर्वप्रशिक्षार्थी र उद्यमशीलतासम्बन्धी काम गर्न इच्छुक युवालाई उनीहरूको रुचि र क्षमताको पहिचान गरी व्यवसाय सञ्चालन गर्नका लागि शिक्षालयमा बिजिनेस इन्क्युवेसन सेन्टरको समेत स्थापना गरिएको छ ।
सिटिइभिटीमा विषय छनोटको अवसर
सिटिइभिटीले स्वास्थ्य, कृषि, हस्पिटालिटी र इन्जिनियरिङ गरी चार विधामा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । सिटिइभिटीले सञ्चालन गर्ने स्वास्थ्य, कृषि, हस्पिटालिटी र इन्जिनियरिङ गरी चार क्षेत्रमध्ये कुनै एउटा विषयमा भविष्य बनाउने योजना बनाएकालाई यी क्षेत्रका कुनै एउटा विषयको कोर्स उपयुक्त हुन सक्छ । देशका लागि आवश्यक र मागका आधारमा प्राविधिक तथा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ सिटिइभिटी स्थापना भएको हो ।
सिटिइभिटीका निर्देशक तैलेन्द्र आचार्यले श्रम बजारलाई उत्पादनसँग जोड्न सक्ने खालको शिक्षाको आवश्यकता रहेकाले सिटिइभिटीले बजारको माग अनुसार सिप भएका दक्ष जनशक्ति उत्पादन गर्दै आएको जानकारी गराउनुभयो । यहाँ सिकेको सिपबाट युवालाई स्वदेश र विदेशमा रोजगारी पाउन धेरै सहयोग भइरहेको उहाँको दाबी छ ।
प्राविधिक जनशक्तिको माग
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) द्वारा सन् २०२२ मा गरिएको श्रम बजार विश्लेषणमा आधारित प्रक्षेपण अनुसार सन् २०३० सम्म स्वास्थ्य, कृषि, निर्माण, पर्यटनलगायत क्षेत्रमा लाखौँ दक्ष जनशक्ति आवश्यकता पर्ने छ । विशेष गरी कृषिमा छ लाखभन्दा बढी, निर्माण क्षेत्रमा छ लाखभन्दा बढी, स्वास्थ्य क्षेत्रमा एक लाख र पर्यटन क्षेत्रमा दुई लाख जनशक्ति आवश्यक पर्ने देखाइएको छ । यसले स्पष्ट गराउँछ कि व्यावहारिक सिपयुक्त शिक्षामा आधारित प्राविधिक शिक्षा समयको माग हो । युवाले समयमै सही तालिम र दक्षता हासिल गरे भने उनीहरूले स्वदेशमै रोजगारीका भरपुर अवसर प्राप्त गर्न सक्ने छन् । साथै यो मागलाई सम्बोधन गर्न सरकारले प्राविधिक शिक्षाको पहुँच, गुणस्तर र सम्बन्धित तालिम कार्यक्रमको प्रभावकारिता बढाउन थप आवश्यक छ ।
एक हजार १८२ संस्थामा सिटिइभिटीका कोर्स
सिटिइभिटीमा प्रिडिप्लोमा तह (१८ महिने) र दुईबर्से इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसन तथा सेक्रेटरियल म्यानेजमेन्टको पढाइ हुन्छ । त्यसै गरी डिप्लोमा तह (तीनबर्से) मा अटोमोबाइल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इन्फर्मेसन टेक्नोलोजी (आइटी) पढाइ हुन्छ । देशभर रहेका आङ्गिक शिक्षालय ६६, परिषद्सँगको साझेदारीमा सञ्चालित ५५, प्राविधिक शिक्षालय सञ्चालन गर्ने सामुदायिक विद्यालय (टेक्स विद्यालय) ६३९ र निजीस्तरमा सम्बन्धन प्राप्त गरेका शिक्षालय ४२२ गरी देशभर कुल एक हजार १८२ वटा शैक्षिक संस्थामा सिटिइभिटीका ती कोर्स सञ्चालन भइरहेका छन् ।
क्षमताको ५२ प्रतिशत मात्रै भर्ना
सिटिइभिटीले वार्षिक भर्ना क्षमताको ५२ प्रतिशत मात्रै विद्यार्थी भर्ना गर्न सफल भएको छ । सिटिइभिटीको वार्षिक प्रतिवेदन अनुसार डिप्लोमा र प्रिडिप्लोमा वार्षिक भर्ना क्षमता ६९ हजार ४९३ रहेकामा ३६ हजार ३१ जना मात्रै भर्ना भएका छन् । यस अवधिमा डिप्लोमातर्फ ४२ हजार ६७१ भर्ना क्षमता भएकोमा २७ हजार ३९० जना भर्ना भएका छन् भने प्रिडिप्लोमामा २६ हजार ८२२ जना भर्ना गर्ने क्षमता भएकोमा जम्मा आठ हजार ६४१ जना मात्रै भर्ना भएको सिटिइभिटीले जनाएको छ ।
छात्रवृत्ति र शुल्क
प्रिडिप्लोमा तह तथा डिप्लोमा तहका लागि सिटिइभिटीले प्रत्येक वर्ष विभिन्न शैक्षिक कार्यक्रममा विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिँदै आएको छ । यो वर्ष पनि २९ वटा शैक्षिक कार्यक्रमका लागि डिप्लोमा तहमा तीन हजार ४७ जना र प्रिडिप्लोमा तहमा ६५१ जना गरी कुल तीन हजार ६९७ विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिइँदै छ । परिषद्का अनुसार सामान्यतः सिटिइभिटीको कोर्स गर्न चाहनेका लागि न्यूनतम १५ हजारदेखि बढीमा पाँच लाख रुपियाँसम्म खर्च हुने गरेको छ ।
प्रिडिप्लोमा र डिप्लोमामा फरक
प्रिडिप्लोमा तह १८ महिने कोर्स हो । यसमा १५ महिना पाठ्यक्रमको पढाइ र तीन महिना प्रयोगात्मक हुन्छ । प्रिडिप्लोमा पढ्न एसइईमा जति प्राप्ताङ्क आए पनि फरक पर्दैन तर डिप्लोमा तह भने तीन वर्षको (छ सेमेस्टर) कोर्स हो । यसमा भएका कोर्स अध्ययन गर्न भने एसइईमा न्यूनतम दुई जिपिए ल्याएको हुनु पर्छ । स्वास्थ्यतर्फका विषय पढ्न गणित, विज्ञान र अङ्ग्रेजी विषयमा कम्तीमा ‘सी’ ग्रेड प्राप्त गरी न्यूनतम दुई जिपिए चाहिन्छ । त्यस्तै इन्जिनियरिङतर्फका विषय पढ्न गणित र विज्ञानमा कम्तीमा ‘सी’ ग्रेड र अङ्ग्रेजीमा कम्तीमा ‘डी प्लस’ ग्रेड प्राप्त गरी न्यूनतम दुई जिपिए ल्याएको हुनु पर्छ । कृषि तथा हस्पिटालिटीका विषय पढ्न गणित, विज्ञान र अङ्ग्रेजीमध्ये कुनै दुई विषयमा कम्तीमा ‘सी’ ग्रेड र एउटामा कम्तीमा ‘डी प्लस’ ग्रेड प्राप्त गरी न्यूनतम दुई जिपिए ल्याउनु पर्छ । प्रिडिप्लोमा तह उत्तीर्ण गरेपछि स्नातक पढ्न पाइँदैन । त्यसका लागि प्रिडिप्लोमा पढ्दै गर्दा +२ मा पनि भर्ना हुनु पर्छ तर डिप्लोमाका कोर्स अध्ययन गरेपछि भने स्नातकमा सजिलै भर्ना पाइन्छ ।
स्वास्थ्य तथा प्राविधिक मञ्चका महासचिव निर्मलप्रसाद सापकोटाले प्राविधिक विषय उत्तीर्ण गरेका अधिकांश विद्यार्थीले रोजगारी पाएको बताउनुभयो । श्रम बजारमा सिपयुक्त जनशक्तिको माग भएको भन्दै उहाँले सिटिइभिटीका कोर्समा बजारमा माग भएकै सिप सिकाउने भएकाले अध्ययनपश्चात् बेरोजगार भएर बस्नु नपर्ने बताउनुभयो ।