टोपलाल अर्याल
रेसुङ्गा, असार २२ गते । सत्यवति गाउँपालिका–८ भार्सेका ५२ वर्षीय हरिप्रसाद बुढाथोकीले साउदी, कतार र मलेसिया गरेर २०/२२ वर्ष काम गर्नुभयो । सपनाका कारण उमेर खाडीमा बित्यो । गाउँमा आमा र बुढोघर । श्रीमती र छोराछोरी सहर झरे । सुगर, प्रेसर, अल्सर र निमोनियासँगै बर्सौदेखि लडिरहनुभएका बुढाथोकीलाई मिर्गौला रोगले दुई वर्षदेखि च्याँपिरहेको छ ।
मिर्गौलामा समस्या आएपछि बुढाथोकीले लुम्बिनी प्रादेशिक अस्पतालमा वैशाखदेखि सातामा दुई पटक डाइलासिस गरिरहनुभएको छ । उहाँसँग तत्काल मिर्गौला ट्रान्सप्लान्टको योजना छैन । किनकी परिवारका सबै दाजुभाई बिरामी हुनुहुन्छ ।
श्रीमती मधु बुढाथोकीको पनि दुई पटक अप्रेशन गरेकाले मिर्गौला ट्रान्सप्लान्ट सम्भव छैन ।’’ उहाँले भन्नुभयो, ‘‘आफुसँगै अरुलाई किन जोखिममा पार्ने भनेर ट्रान्सप्लान्ट सोचेकै छैन । घरपरिवार सबै बिरामी रहेका छन् ।’’
गाउँको बुढो घर र रुखो बारी बाहेक सम्पत्तिको नाममा अरु केही नभएकाले सहयोग उठे त्यसपछि ट्रान्सप्लान्टको सोँच बनाउने बुढाथोकीले बताउनुभयो । सहयोग गर्नेहरुका लागि हरि प्रसाद बुढाथोकीको नाममा ग्लोवल आइएमई बैंकको खाता न ०४७०७०१०१३४१८७ र मोवाइल न ९७४५९२३५२६ रहेको छ ।
भार्सेली समाज हङकङद्वारा करिव दुई लाख सहयोग
भार्सेली समाज हङकङले मिर्गौलापीडित बुढाथोकीलाई एक लाख ९५ हजार रुपियाँभन्दा बढि सहयोग गरेको छ । भार्सेली समाज हङकङका अध्यक्ष कुल बहादुर बुढाथोकीको अगुवाईमा कार्यसमिति पदाधिकारी, सदस्य र अन्य केहि गरेर ३० जनाले बुढाथोकीको उपचारका लागि सहयोग गरेका छन् । समाजका अध्यक्ष बुढाथोकीले आफुहरु परदेशमा भए पनि मन गाउँमै भएकाले हरेक समस्या र पीडाहरु आफ्नै जस्तै लाग्ने भएकाले सहयोग गर्दै आएको बताउनुभयो । ‘‘परदेशमा शरीर भए पनि मन गाउँघरमा छ । हरेक हङकङमा बस्नेहरुले सक्दो सहयोग उठाएर विभिन्न समस्यामा सहजीकरण गरेका छौँ ।’’
भार्सेबाट रोजगारीका लागि हङकङमा थुप्रै छन् । उनीहरुले गाउँको सामाजिक काममा उदाहरणीय काम गरिरहेका छन् । गम्भीर रोग लागेका बिरामी, विपदमा सहयोग, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा काम गर्दै आएको गरेको भार्सेका युवा समाजसेवी नरबहादुर बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार भार्सेली समाज युके, काठमाण्डौ र तराईमा समेत सहयोग सङ्कलन भइरहेको छ ।