• १७ असार २०८१, सोमबार

एक करोड ६२ लाख रुपियाँ खर्चेको सिँचाइ योजना १५ वर्षदेखि अलपत्र

blog

निर्माणाधीन पक्की पिलरसहित जडान पाइप । तस्बिर: गोरखापत्र

दोलखा, पुस ४ गते । दोलखाको सैलुङ गाउँपालिका–८ मा करिब डेढ दशक अघि करोडौँको लगानीमा निर्माण सुरु भएको झोर खोला सिँचाइ योजना कागजी रूपमा सम्पन्न भनिए पनि सामान्य वादविवाद र प्राविधिक कमजोरीले सञ्चालनमा आउन सकेको छैन । 

गत २०६५ सालदेखि निर्माण सुरु भएको एक करोड ६२ लाख रुपियाँ खर्च भएको यो योजना सञ्चालनमा आउन नसक्दा स्थानीय मर्कामा परेका स्थानीय एवं समाजसेवी मोहनसिंह तामाङले दुखेसो पोख्नु भयो । 

साढे तीन हजार किसानहरू लाभान्वित हुने यो योजना यति लामो समयमा पनि सम्पन्न हुन नसक्नु सारै दुःखको कुरा हो । उहाँले भन्नु भयो, के कारणले लम्बिएको हो ? किसानलाई थाहा छैन । सिँचाइ आएपछि खेतीपाती गरेर लाभान्वित हुन्छौँ भनेर पलाएको आशा मुर्झाएको छ । लोकतन्त्र गणतन्त्रमा त सबैले थाहा पाउनु पर्ने होइन र ? पारदर्शी हुनुपर्ने होइन र ? घर आँगनको सरकारले समेत खासै चासो लिएको देखिँदैन । 

कागजी कामले सम्पन्न भए तापनि सानो गल्तीले यो योजना सञ्चालन हुन नसकेको हो । केही उपभोक्ताले प्राविधिकलाई समेत बाध्यमा पारेर पाइप गाड्नै नसकिने पहरोबाट पाइप लगिँदा अहिले पानीको भार थेग्न नसकेर पाइप झोलिएर पानी जान नसक्ने भएपछि  निर्माण सुरु भएको १५ वर्षपछि केही तलबाट पक्की पिलरबाट पानी लान काम सुरु भएको छ  । 

अरू सबै काम सम्पन्न भई पाइप फिटिङ भइसकेको हो । चुचे पहरोको पाइप अहिले श्राप सावित भएपछि पक्की पिलरको विधि अपनाउनु परेको हो । उपभोक्ता समिति अध्यक्ष विजय तामाङले भन्नु भयो, गाउँको रडाकोले उपभोक्ता समिति निर्माण गर्ने काम असार महिनामा मात्र हुन सक्यो । असार महिनामा बजेट २५ लाखमध्ये सात लाख रुपियाँको मात्र काम हुन सक्यो । बाँकी बजेट फिर्ता गयो । काम अधुरै छ । 

१८ फुट अग्ला नौ वटा पिलर निर्माण गरी पाइप पनि जडान गरिएको छ । अब नौ वटा पिलर निर्माण गरेपछि काम सम्पन्न हुन्छ । पानी पनि सञ्चालन हुन्छ । यी कामका लागि अब करिब ३२ लाख रुपियाँ लाग्छ । बजेट नआए पुनः काम रोकिने सम्भावना टड्कारो रहेको उहाँले बताउनु भयो । 

सम्झौताअनुसार ठेकेदारको काम सकिएको छ । पुरानो उपभोक्ता समितिको पाइप लाइन खन्ने पुर्ने काम पनि सकिएको छ । सानो प्राविधिक समस्याले सञ्चालनमा आउन नसक्दा योजना अल्झेर बसेको हो । 

चुचे पहरोको सानो कारण तर ठुलो समस्या उत्पन्न हुने हुँदा सरकारको लगानीको सदुपयोग नहुँदा अहिलेसम्म किसानले सिँचाइ गर्न नपाएका हुन् । यो योजनामा पहिले देखि नै भत्कोस लागेको छ । गत २०६५ सालतिर योजना छनौट भई सर्वे भएर १० लाख रुपियाँ आयो । यसको पाइप किनियो । काम नभएको भनी अख्तियारमा उजुरी पर्यो ।आएको रकमको पाइप खरिद भएकाले योजना सम्पन्न भनेर कार्यालयले लेखिदियो । भनसुन र धेरै लडभिडपछि मात्र पुनः योजना सुरु भएको बताइन्छ । 

जिल्ला स्थितको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयकारअनुसार यो योजना गत २०७३ सालमा पुनः सुरु भएको हो । एक वर्षमा सम्पन्न हुनुपर्ने ,योजना २०७४, ०७५, ०७७ गरी तीन पटक म्याद थपिएको छ । समय लम्बिँदै जाँदा योजनामा निर्माण भएको झोलुङगेपुल बिग्रनुका साथै ठाउँ ठाउँमा पाइप छुटिएका छन् । भएका कामको मूल्याङ्कन गर्दै सम्झौता भएको एक करोड २३ लाख १८ हजार २५१ मध्ये  एक करोड २० लाख २३२ रुपियाँ ठेकेदारले भुक्तानी पाइसकेको छ । साँढेको जुधाइ बाछाको मिचाइ हुँदा असली किसान मारमा परेका छन् । सरकारी लगानी बालुवामा पानी हाले झैँ भएको देखिन्छ । 

भरखरै कार्यालय प्रमुख हुनु भएका रुपेश महतले भन्नु भयो, गत आर्थिक वर्षमा २५ लाख रुपियाँ बजेटले चुचे पहराको तलबाट पाइप लगेर आयोजना सञ्चालन गर्न लागिएकोमा उपभोक्ता समिति बन्न सम लाग्यो र भने जति काम हुन सकेन । यो वर्ष बजेट परेन । योजना जे जस्तो परिस्थितिबाट गुज्रेको भए पनि अकौ वर्षको बजेटबाट  सम्पन्न तथा सञ्चालनमा आउनेछ । अब भने यो योजना सञ्चालनमा आउने दाबी उहाँले गर्नु भयो । 

Author

बाबुराम शर्मा