• १८ असार २०८१, मङ्गलबार

इनरुवामा सीताराम रथ यात्रा निकालियो

blog

सुनसरीको इनरुवामा निकालिएको रामसिता रथयात्रा तथा डोलामा सहभागीहरू । तस्बिर : जयकृष्ण यादव ।

जयकृष्ण यादव 

इनरुवा, पुस १ गते । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रमा आइतबार विवाह पञ्चमीको दिन डोला तथा रथयात्रा निकालिएको छ । स्थानीयहरूको उत्साहजनक सहभागितामा विवाह पञ्चमीको अवसरमा डोला तथा रथयात्रा निकालिएको हो । 

त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा रामसीताको पूजाआराधना गरी यो पर्व मनाएको र भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रथारोहण सहित रथयात्रा निकालिएको छ । रामजानकी विवाह महोत्सव आयोजक समितिको अगुवाइमा इनरुवा ४ को रामजानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी इनरुवा १ लोकतान्त्रिक चौक, जिल्ला समन्वय समिति, कुसुम गाछी सहित, शिक्षा विकास तथा समन्वय इकाई हुँदै इनरुवा ९ बबिया हुँदै इनरुवा २ पुर्‍याएको छ । 

सिताको डोला इनरुवा २ को लक्ष्मीनारायण मन्दिरमा पुर्याउदै रथयात्रा सकिन्छ । सोही सेरोफेरोमा आइतबार इनरुवा नगरपालिकाले स्थानीय तहमा सार्वजनिक बिदा दिएको छ । बिदाको व्यवस्था मिलाई दिन र समग्र इनरुवाबासीको माग र आस्थालाई सम्मान गर्न आग्रह सहित चार दिनअघि बजरङ्ग दलले ज्ञापन पत्र बुझाएपछि नगर प्रमुख केदार भण्डारीले हिन्दुहरूको आस्थाको पर्व र ऐतिहासिक रूपमा बर्सेनि निकालिँदै आएको डोला तथा रथयात्रालाई ध्यानमा राखेर आइतबार बिदा दिनुभएको हो । नगर प्रमुख भण्डारी र इनरुवाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीलाई ज्ञापन पत्र बुझाएपछि बिदाको घोषणा भएकाले आफूहरूको सम्मान भएको बजरङ्ग दलका दीपेन्द्र साहले बताउनुभयो । 

जिल्लाको सदरमुकाम इनरुवामा भगवान् श्री रामचन्द्रको ‘राम राज्य रथ यात्रा’ नगर परिक्रमा गरिएको जनाएको छ । सहभागीहरूले राम सीताको सम्बन्ध र अनुशासनले सधैँ रामसीताको आदर्श अपनाएर जीवन व्यतीत गर्नु–गराउनु पर्ने उद्देश्यका साथ रथ यात्रा निकालिएको छ । 

राष्ट्रिय बजरङ्ग दलका नगर अध्यक्ष त्रिलोकचन गुप्ता सहितको टोलीले इनरुवा नगरपालिकामा बिदाको माग गरिएकोमा सार्थक भएको हो । श्रीरामचन्द्र र सीताको पूजा आराधना सहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर र रथयात्रा समेत निकालिएको बताउनुभयो ।