• १५ मंसिर २०८१, शनिबार

राइजिङ नेपालको उत्तरदायित्व अरुभन्दा बढी छ : सञ्चार विज्ञ दाहाल

blog

कार्यक्रममा आफ्नो प्रस्तुति राख्नुहुँदै सञ्चार विज्ञ प्रोफेसर सुधांशु दाहाल । तस्बिर : मनोजरत्न शाही

गोरखापत्र अनलाइन

काठमाडौं, पुस १ गते । काठमाडौँ विश्वविद्यालयका एसोसियट प्रोफेसर तथा सञ्चार विज्ञ डा. सुधांशु दाहालले दि राइजिङ नेपाल सरकारी अङ्ग्रेजी दैनिक पत्रिका भएकाले यसको जिम्मेवारी र दायित्व अन्य मिडियाभन्दा अझ बढी रहेको बताउनुभएको छ । 

दि राइजिङ नेपालको ५८ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । दि राइजिङ नेपालको स्थापना र अहिलेको समयमा ठुलो परिवर्तन भएसँगै विद्युतीय सञ्चारमा ठुलो परिवर्तन आएकाले आफूलाई दि राइजिङ नेपालले पनि समयानुकूल प्रतिस्पर्धी तथा प्रविधिमय बनाउन आवश्यक रहेको चर्चा गर्नुभयो ।


अहिलेको अवस्थामा अङ्ग्रेजी दैनिक र अखबारले जनताको आवाज बोल्ने चुनौती रहेको बताउँदै उहाँले दि राइजिङ नेपालप्रति पाठकको अपेक्षा बढी रहेको बताउनुभयो ।  

अहिले मिडियाका पाठकका लागि भौगोलिक रूपले क्षेत्र विस्तार भएकाले पनि चुनौती थपिएको बताउनुहुँदै विज्ञ दाहालले समयअनुसार दि राइजिङलाई परिष्कृत बनाउनुपर्ने खाँचो औँल्याउनुभयो । प्रिन्ट मिडियाको टिकाउका लागि विज्ञापनमा पनि प्रतिस्पर्धा भइरहेकाले सरकारी मिडिया भए पनि अङ्ग्रेजी पत्रिकालाई त्यसको सामना गर्नुपर्ने बताउनुभयो । 


दि राइजिङ नेपाल राष्ट्रिय मिडिया भएकाले यसले राष्ट्रिय स्तरको विषयमा मिडिया डिस्कोर्सको काम गर्न आवश्यक रहेको उहाँले सुझाउनुभयो । सबै मिडियाको विशेषता नागरिकलाई सुसूचित गराउने भए पनि दि राइजिङ नेपालको उत्तरदायित्व अझ बढी रहेको उहाँले बताउनुभयो । सरकारी स्तरबाट प्रकाशित अङ्ग्रेजी दैनिक भएकाले पनि यसको पाठक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेको चर्चा गर्नुभयो ।  


दि राइजिङ नेपालका प्रधान सम्पादक भीमसेन थपलियाले अङ्ग्रेजी प्रकाशनको अहिलेसम्मको प्रगति र भावी योजनाबारे जानकारी गराउनुभयो । उहाँले अङ्ग्रेजी दैनिकको सम्भावना अझै प्रशस्त भएको र जनशक्तिले पाठकलाई गुणस्तरीय सामग्री पस्किने गरी काम गरिरहेको बताउनुभयो । अङ्ग्रेजी प्रकाशनको सम्पादकीय कक्ष फ्रेन्डली वातावरण रहेको उहाँले जानकारी गराउनुभयो ।

दि राइजिङ नेपालका पूर्व प्रधान सम्पादक गोपाल शर्माले समय प्रतिस्पर्धी भएकाले पत्रिकाको विषयवस्तुको गुणस्तरीयतामा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।  पत्रिकाको काम नै पाठकलाई गुणस्तरीय र पठनीय विषयवस्तु दिने भएकाले पाठकको चाहनामा सम्पादकले ध्यान दिनुपर्ने बताउनुभयो । दि राइजिङ नेपालका अङ्ग्रेजी पत्रिका भए पनि सरकारका औपचारिक कार्यक्रमको समाचार मात्र दिन नहुने उहाँले सुझाउनुभयो । पाठकले आम नागरिकको जनचासोको विषयलाई बढी महत्त्व दिने हुनाले त्यसमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । आफू ३० वर्षअघि दि राइजिङ नेपालको सम्पादक हुँदा पनि त्यही विषय चुनौतीको विषय रहेको उहाँले स्मरण गर्नुभयो । 


दि राइजिङ नेपालका पूर्व प्रधान सम्पादक जगदीश पोखरेलले म आफू केही गर्छु भन्ने प्रण लिएर सम्पादक, रिपोर्टरले काम गर्नुपर्ने सुझाव दिनुभयो । पत्रकारिता पेसा नागरिक र पाठकको सेवा गर्ने काम भएकाले हिजोभन्दा आज राम्रो गर्छु भन्ने प्रण लिन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा दि राइजिङ नेपालका प्रबन्धक सम्पादक परमेश्वर देवकोटाले उपस्थित सबैमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा फोटोग्राफी शाखाका प्रमुख राम हुमागाईँ, गोरखापत्रअनलाइन डट कमका नि. प्रधान सम्पादक नारदमुनि गौतम, राइजिङ नेपाल डट कमका संयोजक नन्दलाल तिवारी, दि राइजिङ नेपालका पत्रकार लीलाधर उपाध्याय, पत्रकार लक्की चौधरीलगायतले सुझाव दिनुभएको थियो ।