• १२ मंसिर २०८१, बुधबार

कार्यकर्ताले बनाए अस्थायी आवास

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, पुस १ गते । रुकुमपश्चिममा तीन हजार ७५० वटा अस्थायी निजी आवास निर्माण गरिएको छ । विभिन्न राजनीतिक दलले परिचालन गरेका स्वयंसेवकले जिल्लाभर भूकम्पपीडितका लागि तीन हजार ७२० वटा अस्थायी आवास निर्माण गरेका हुन् । 

पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्माका अनुसार नेकपा (माओवादी केन्द्र) ले तीन हजार स्वयंसेवक परिचालन गरेर तीन हजार १६८ वटा अस्थायी आवास बनाएको छ । माओवादी केन्द्रले आठबिसकोट नगरपालिकामा एक हजार ३०५, सानीभेरी गाउँपालिकामा ८५४, चौरजहारी नगरपालिकामा ६०७, त्रिवेणी गाउँपालिकामा ३०७, मुसीकोट नगरपालिकामा २४ र बाँफीकोट गाउँपालिकामा ७१ अस्थायी आवास निर्माण गरेको छ ।  

नेकपा (एमाले) ले रुकुमपश्चिममा ३४५ वटा अस्थायी आवास निर्माण गरेको छ । नेकपा (एमाले) ले तीन सय स्वयंसेवक परिचालन गरेर आवास निर्माण गरेको पार्टीका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले जानकारी दिनुभयो । हालसम्म आठबिसकोट नगरपालिकामा १८९, सानीभेरी गाउँपालिकामा ५८, चौरजहारी नगरपालिकामा ८६ र बाँफीकोट गाउँपालिकामा १२ वटा अस्थायी आवास निर्माण गरेको जनाइएको छ । त्यस्तै २६ वटा अस्थायी सिकाइ केन्द्र र आठ वटा अस्थायी शौचालय निर्माण गरिएकोे नेकपा (एमाले) रुकुमपश्चिमले जनाएको छ । 

नेपाली कांग्रेसले हालसम्म ७५ वटा अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गरेको जनाएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीका अनुसार सानीभेरी गाउँपालिकामा २५ र आठबिसकोट नगरपालिकामा ५० वटा अस्थायी आवास बनाइएको छ । सो पार्टीले तीन सय स्वयंसेवक परिचालन गरेर अस्थायी आवास निर्माण गरिरहेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले हालसम्म ६५ वटा अस्थायी आवास निर्माण सम्पन्न गरेको जनाएको छ । पार्टीका केन्द्रीय सदस्य चन्द्र बुढाले आठबिसकोट नगरपालिकाको विभिन्न वडामा ६५ वटा आवास निर्माण सम्पन्न गरेर पीडित परिवारलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश उपाध्यक्ष ठगेन्द्रप्रकाश पुरीको नेतृत्वमा प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम जारी राखेको छ । आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा ५० भन्दा बढी अस्थायी आवास निर्माण गरिसकिएको पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले ३० जना स्वयंसेवक परिचालन गरेर अस्थायी आवास निर्माणको काम गरिरहेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लामा १७ वटा अस्थायी आवास निर्माण गरेर पीडित परिवारलाई हस्तान्तरण गरेको जनाएको छ । आठबिसकोट नगरपालिकाका मृतक १० परिवारलाई र सानीभेरीमा गाउँपालिकामा एकल तथा अस्थायी आवास बनाउन नसक्ने अवस्थाका सात घरपरिवारका लागि अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गरिएको पार्टीका कर्णाली प्रदेश नीति तथा योजना विभाग प्रमुख मानबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले ३० जना स्वयंसेवक परिचालन गरेको छ । 

अस्थायी आवास निर्माणका लागि भने जिल्ला प्रशासन कार्यालयले धमाधम पहिलो किस्ताको रकम पठाइरहेको छ । हालसम्म १९ हजार १३४ लाभग्राहीलाई पहिलो किस्ताबापतको २५ हजारका दरले ४७ करोड ८३ लाख ५० हजार रकम स्थानीय विपत् जोखिम न्यूनीकरण कोषमा पठाएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिनुभयो ।