नवराज श्रेष्ठ
रामेछाप, पुस १ गते । रामेछापको मन्थली नगरपालिका–८, चिसापानीको वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । पुरानो कच्ची वडा कार्यालयलाई भत्काएर सोही स्थानमा सङ्घीय सरकारको लगानीमा पक्की भवन निर्माण गरिएको हो । सङ्घीय सरकारको लगानीमा सघन सहरी तथा भवन निर्माण आयोजना मन्थलीमार्फत निर्माण भएको भवनको शुक्रबार उद्घाटन गरिएको मन्थली नगरपालिका–८, चिसापानीका वडाध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सङ्घीय सरकारको लगभग दुई करोड रुपियाँ बजेटमा वडा कार्यालय निर्माण भएको हो । गत असोज मसान्तसम्म भवन निर्माण पूरा गर्ने लक्ष्य लिएको भए पनि केही महिना ढिला भयो । नयाँ भवन निर्माण भएसँगै अब वडाबाट प्रवाह हुने सेवालाई अझै व्यवस्थित गरी प्रभावकारी बनाउन सहज हुने छ ।”
वडा नं. ८ चिसापानीबाहेक अहिले जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाको विभिन्न पाँच वटा वडाको कार्यालय भवन निर्माणको काम भइरहेको छ । १४ वटा वडा रहेको मन्थली नगरपालिकामा अहिले वडा नं. १ मन्थली, वडा नं. ३ कठजोर, वडा नं. ७ भटौली, वडा नं. ११ गेलु र वडा नं. १३ फुलासीमा पक्की कार्यालय भवन निर्माणको काम भइरहेको छ ।
वडा नं. ८ चिसापानीको सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत निर्माण भएको हो । वडा नं. १ मा नगरको आफ्नै लगानी, वडा नं. ३ कठजोर, वडा नं. ७ भटौली, वडा नं. ११ र वडा नं. १३ फुलासीको वडा कार्यालय भवन मन्थली नगरपालिका र सङ्घीय सरकारको साझेदारीमा निर्माण भइरहेको छ ।
अहिले वडा नं. १ मन्थलीको वडा कार्यालय भवन निर्माण भइसकेको र वडा नं. ७ भटौलीको पुस महिनाभित्र सम्पन्न हुने गरी काम भइरहेको मन्थली नगरपालिका पूर्वाधार विकास तथा अनुगमन शाखाका इन्जिनियर डिल्लीबहादुर अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “वडा नं. ८ चिसापानीसँगै वडा नं. १ मन्थलीको पनि भवन निर्माण भइसकेको छ । वडा नं. ७ भटौलीको पुस महिनाभित्र, वडा नं. ११ र वडा नं. ३ कठजोरको वडा कार्यालय भवन चैत महिनाभित्र बनिसक्छ । वडा नं. १३ फुलासीमा भने ६० प्रतिशत काम सकिएकाले केही ढिला हुने देखिएको छ ।”
उहाँका अनुसार यी वडामा आगामी माघ ४ भित्र निर्माण सम्पन्न हुने गरी दुई÷दुई करोड रुपियाँ लगानीमा पक्की भवन निर्माण भइरहेको छ । अहिलेको प्रगति हेर्दा अधिकांश वडा कार्यालय भवन निर्माणको काम तोकिएको म्यादभित्र सकिने अवस्था छैन । १४ वटा वडा रहेको जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाको पाँच वटा वडा भवनविहीन अवस्थामा छन् । मन्थली नगरपालिकाको अझै वडा नं ४, ५, ६, ९ र १२ मा पक्की भवन निर्माण हुन बाँकी रहेको इन्जिनियर अधिकारीले बताउनुभयो ।