काठमाडौँ, पुस १ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विवाहपञ्चमीले देशमा धार्मिक, सांस्कृतिक र सामाजिक एकता तथा भाइचारा कायम गर्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । उहाँले विवाहपञ्चमीका अवसरमा शुभकामना सन्देश दिँदै सो कामना गर्नुभएको हो। हरेक वर्षको मङ्सिर शुक्ल पक्ष पञ्चमी तिथिमा विवाहपञ्चमी मनाइने गरिन्छ । चाडपर्वको नाममा पछिल्लो समय हुने गरेका आडम्बर, तडकभडक, देखासिखी, विकृति र विसङ्गतिलाई परित्याग गर्न आग्रह गर्दै उहाँले आआफ्नो आस्था र विश्वास अनुसार धर्म, संस्कृति, रीतिरिवाज र परम्परा मनाउनुपर्ने बताउनुभएको छ ।
लाखौँ खर्चेर बनाइने महँगा पण्डाल र देखासिखी जस्ता महँगा संस्कृतिले विवाहपञ्चमीको मौलिकता ओझेलमा पर्न सक्ने बताउँदै उहाँले विवाहपञ्चमीको दिन वैवाहिक सम्बन्ध कायम गर्न नहुने भाष्यले नकारात्मक सन्देश जान सक्ने भएकाले यसप्रति सचेत रहन सबैसँग आग्रह गर्नुभएको छ। सन्देशमा उहाँले भन्नुभएको छ, “विवाहपञ्चमी वैवाहिक–धार्मिक महोत्सव पनि हो । जीवनपद्धतिमा पारिवारिक र सामाजिक जीवनलाई सहज र सुव्यवस्थित बनाउनका लागि विवाह संस्कार अत्यन्तै महत्वपूर्ण र सर्वश्रेष्ठ मानिन्छ । जीवनमा महत्वपूर्ण परिवर्तन ल्याउने यो संस्कार दुई परिवारलाई जोडेर एक नया“ परिवार प्रारम्भ गराउने संस्कार पनि हो ।