• १४ माघ २०८१, सोमबार

युवामैत्री नीति, कानुन र योजना बनाउनुपर्छ : सभामुख घिमिरे

blog

महाधिवेशनको उद्घाटन गर्नुहुँदै सभामुख देवराज घिमिरे । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, मंसिर २९ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले युवामैत्री नीति, कानुन र योजना निर्माण गर्नुपर्ने बताउनुभएको छ । युवाको पक्षमा कानुन बनाउन संसद प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

सभामुख घिमिरेले अहिले युवाहरुमा देखिएका निरासा अन्त्य गरेमात्र देशको विकास सम्भव हुने बताउनुभयो । नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशनको बुटवलमा आज उद्घाटन गर्दै सभामुख घिमिरेले जेसिजका कतिपय अभियानहरु राष्ट्रिय राजनीतिभन्दा पनि उत्तम रहेको चर्चा गर्नुभयो । 

उहाँले जेसिजको मुल्य मान्यता अझ बढी परिपालन गर्नुपर्ने आवश्यकता सबैमा रहेको बताउनुभयो । घिमिरेले जेसिजमा एक पटकमा एउटा पदमा मात्र नेतृत्व गर्न पाउने परिपाटी अन्य संघ संस्था र राजनीतिमा पनि अनुकरणीय रहेको उल्लेख गर्नुभयो । 

उहाँले १८ बर्षदेखि ४० बर्ष उमेर हद लागू गरिनु आफैमा राम्रो पक्ष भएको भन्दै नेपाली राजनीतिमा ६० बर्ष उमेर काटेपछि पनि युवा नेता भन्ने परिपाटीलाई जेसिजबाट पाठ सिक्नुपर्ने बताउनुभयो । 

पछिल्लो समय युवाहरुको राजनीतिप्रति आकर्षण बढ्दैगएको भन्दै उहाँले राजनीतिमा युवाहरुलाई लाग्न आग्रह गर्नुभयो । उहाँले उच्च शिक्षाका लागि, रोजगारका लागि युवा विदेशीने परिपाटी रहेको भन्दै यस्तो परिपाटी रोक्न सबैले पहल गर्नुपर्ने बताउनुभयो । 

युवाहरुको अन्तरनिहित प्रतिभालाई पहिचान गरी सरकारले स्वदेशमा नै युवा रहनेगरी व्यवस्था गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय युवापुस्तामा देशमा नै केही गर्नुपर्दछ भन्ने अभियानको विकास हुँदैगएको उहाँको भनाइ छ ।

बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलमा जेसिजको महाधिवेसनले राष्ट्रिय सन्देश दिएको बताउनुभयो । युवा वर्गले देश छाड्ने नभइ राजनीतिमा आउन उहाँले आग्रह गर्नुभयो । 

‘सक्षम युवा सुदृढ देश ः सुशासनका लागि समुन्नत परिवेश’ भन्ने नारासहित भएको  नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनले बुटवलबाट नयाँ सन्देश दिएको पूर्व राष्ट्रिय अध्यक्ष तथा अन्तर्राष्ट्रिय उपाध्यक्ष अनुपमान सैजुले बताउनुभयो । 

सो अबसरमा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष बिकास मानन्धर, प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, बिष्णु पन्थी, पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल, पत्रकार ऋषि धमला, बुटवल शाखा अध्यक्ष हरिबिक्रम कुवर, गोपाल अधिकारी, कल्पना कुसुमलगायतले बोल्नुभएको थियो ।  

सो अबसरमा बुटवल शाखाको स्मारिका,नेपाल जेसिजको डिजिटल स्मारिका, १० जना उत्कृष्ट युवालाई सम्मानपत्र, पदक तथा नगदसहित सम्मान तथा पत्रकार ऋषि धमलालाई उत्कृष्ट पत्रकारका रुपमा सम्मान गरेको प्रचार संयोजक राजीब गौतमले जानकारी दिनुभयो । महाधिवेशनमा नेपाल जेसीजका १७८ शाखाबाट १ हजार २४६ प्रतिनिधि  सहभागी छन् ।