राधा लुइँटेल
फिदिम, मङ्सिर २९ गते । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य वसन्तकुमार नेम्वाङले मध्यपहाडी राजमार्ग बन्द र हड्तालका कार्यक्रम फिर्ता लिएर छलफलमा जुट्न प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिलाई आग्रह गर्नुभएको छ ।
एमालेले मङ्सिर १४ गते बैतडीको झुलाघाटदेखि सुरुवात गरेको समृद्धिका लागि सङ्कल्प यात्रा कोशी प्रदेशमा प्रवेश गरेपछि पहिचान पक्षधर आन्दोलनकारीले बन्द र हड्ताल आह्वान गर्दा समाज विखण्डनतिर अग्रसर भएको भन्दै यस्तो आग्रह गर्नुभएको हो ।
"झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा कुनै दल, सङ्गठन र संस्थाका विरुद्ध छैन, मेची महाकालीका नागरिकसँग प्रत्यक्ष रुपमा छलफल गर्दै समस्याको पहिचान र समाधानको उपाध खोज्न तय गरिएको यो यात्रामा अवरोध नपुर्याइदिन आग्रह गर्छु," प्रतिनिधि सभा सदस्य नेम्वाङले भन्नुभयो ।
एमाले अध्यक्ष ओलीले पटकपटक प्रक्रियामा आएर प्रदेशका् पुनः नामाङ्कन गर्न आग्रह गर्नुभएको प्रसङ्ग कोट्याउँदै नेम्वाङदे यात्राकै क्रममा छलफल गर्न पार्टी तयार भएकाले बन्द र हड्तालका कार्यक्रम फिर्ता लिएर संवादमा जुट्न पनि आग्रह गर्नुभयो ।
शुक्रवार फिदिममा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले बन्द हड्ताल र अवरोधका बाबजुद पनि सङ्कल्प यात्रा सफलताको नजिक पुगेको दाबीगर्नुभयो । सङ्कल्प यात्रा विभिन्न प्रदेश र जिल्ला पार गर्दै तेह्रथुम आइपुगेको छ । मङ्सिर ३० गते पाँचथर आइपुगेर पुस १ गते चिवाभञ्ज्याङ पुगेपछि समापन गर्ने एमालेकाे तालिका छ ।