• १२ मंसिर २०८१, बुधबार

‘असुरक्षित गर्भपतन गराउँदा ज्यान जोखिममा पर्न सक्छ’

blog

सांकेतिक तस्बिर

महेन्द्रनगर (कञ्चनपुर), मङ्सिर २८ गते । कञ्चनपुरमा पछिल्लो समय सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तोकिएका सरकारी स्वास्थ्य संस्थामा उक्त सेवा निः शुल्क र गर्भपतन गराउनेको परिचयसमेत गोप्य राखिन थालिएपछि यो सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । 

स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकृत खगेन्द्रसिंह कार्कीले गत आर्थिक वर्ष २०७९/८० मा कञ्चनपुरमा दुई हजार पाँच सय २२ जना महिलाले यो सेवा लिएको बताउनुभयो । कञ्चनपुर प्रहरीले पनि केही समयता अवैध गर्भपतनलगायत स्वास्थ्य क्षेत्रमा बिना अनुमति सञ्चालनमा रहेका मेडिकल बन्द गराउन थालेपछि सरकारी स्वास्थ्य संस्थामा सेवाग्राहीको वृद्धि भएको हो । 

स्वास्थ्य कार्यालय कञ्चनपुरमा अनुसार चालु आर्थिक वर्षको हालसम्म यहाँ आठ सय ९५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । “मासिक दुई सय २० भन्दा बढी सेवाग्राही यो सेवा लिन आएको देखिन्छ ।” सूचना अधिकृत कार्कीले भन्नुभयो “कञ्चनपुरमा पनि प्रादेशिक अस्पतालदेखि सरकारी केही स्वास्थ्य संस्थामा यो सेवा तोकिएको छ ।”

त्यसै गरी नेपाल परिवार नियोजन सङ्घ कञ्चनपुरका कार्यालय प्रमुख उद्धव भट्टले पनि पछिल्लो समय स्वास्थ्य संस्थामा सेवा पुगेसँगै सेवाग्राहीको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको बताउनुभयो । “पहिले निश्चित ठाउँमा भएका बेला परिवार नियोजन सङ्घमा मासिक एक सयभन्दा बढी सेवाग्राही पुग्थे ।” उहाँले भन्नुभयो“ हामी कहाँ औषधि र औजार विधिबाट यो सेवा प्रवाह गरिरहेका छौँ ।”

उहाँले मासिक ३५ देखि ४० सेवाग्राही सेवा लिन आउने गरेको जनाउँदै आउनेमध्ये अधिकांशले औषधिविधि रोज्ने गरेको जानकारी दिनुभयो । कञ्चनपुरमा सङ्घले सन् २००८ देखि यो सेवा दिँदै आएको कार्यालय प्रमुख भट्टको भनाइ छ । स्वास्थ्य कार्यालयले भने शत प्रतिशत सेवा ग्राही अझै सरकारी स्वास्थ्य संस्थामा आइनसकेको बताउनुभयो । “अझै पनि लुकिछिपी अवैधरुपमा मेडिकल र भारतमा गएर पनि गर्भपतन गराउने रहेको बुझिन्छ ।” सूचना अधिकृत कार्कीले भन्नुभयो,“अवैध तरिका अपनाउँदा ज्यान जोखिममा पर्न पनि सक्छ ।” रासस