काठमाडौं, मङ्सिर २८ गते । केन्याले जनवरीदेखि सबै विदेशी आगन्तुकहरूका लागि भिसा आवश्यकता खारेज गर्ने भएको छ । केन्या जाने विदेशी आगन्तुकहरूले जनवरी २०२४ देखि भिसा लिनु नपर्ने भएको हो ।
राष्ट्रपति विलियम रुटोले मङ्गलबार राजधानी नैरोबीमा आयोजित जम्हुरी दिवस वा स्वतन्त्रता दिवसको उत्सवमा यस्तो घोषणा गर्नुभयो । रुटोले आगामी जनवरीदेखि सबै विदेशी नागरिक भिसा बिना नै देशमा प्रवेश गर्ने बताउनुभयो । यस कदमले पर्यटन प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।
केन्याली नेताले भिसामुक्त नीति लागू गर्न सरकारले देशमा आउने सबै यात्रुलाई इलेक्ट्रोनिक प्लेटफर्ममार्फत पहिल्यै पहिचान गर्न डिजिटल प्लेटफर्म अपनाएको बताउनु भयो । केन्याले यसअघि इण्डोनेसिया, सेनेगल र कङ्गोका नागरिकहरूका लागि भिसा बिनै प्रवेश दिएको थियो ।
राष्ट्रपति रुटोले सेप्टेम्बर २०२२ मा सत्ता लिएपछि महाद्वीपको एकीकरण एजेण्डालाई साकार पार्न केन्या भ्रमण गर्ने अफ्रिकीहरूका लागि भिसा उन्मूलन गर्न वकालत गर्दै आउनुभएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाले