• १६ असार २०८१, आइतबार

खेलकुद पर्यटनको सुरुआत गर्दै चौबिसे

blog

फाइल तस्बिर

धनकुटा, मङ्सिर २७ गते । धनकुटाको चौबिसे गाउँपालिकाले खेलकुद र कृषिलाई समेटेर ‘खेलकुद पर्यटन’को सुरुआत गर्ने भएको छ । आठ वडा रहेको यस गाउँपालिकामा प्रत्येक वडामा सात-एघार क्षेत्रफलका एकदेखि तीनवटासम्म फुटबल मैदान छन् । 

खेल क्षेत्र र कृषिका माध्यमबाट पालिकाको प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय रारा फुटबल क्लबसँगको समन्वयमा खेलकुद पर्यटनको विकास थालिएको पालिकाले जनाएको छ । पालिकामा रहेका एक दर्जनभन्दा बढी खेलमैदान निर्माणका लागि १० देखि २५ लाखसम्म खर्च गरिएको पालिका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाकै धेरै फुटबल खेलाडी भएको पालिका चौबिसे हो । 

यस क्षेत्रमा राष्ट्रियस्तरको रारा गोल्डकपसहित वर्षमा ५० देखि ६० फुटबल सञ्चालन हुँदै आएको राजारानी (रारा) फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ भलिबल, ब्याटमिन्टन तथा पुरानो पारम्परिक ढुङ्गाको छेलो हान्ने (सटपुट) लगायत खेलहरू हुने गरेका छन् । स्थानीय चाडपर्व, विभिन्न मेला तथा महोत्सवका साथै राष्ट्रिय चाडपर्वका अवसरमा खेल सञ्चालन हुने गरेको उहाँले जानकारी दिनुभयो ।

खेलप्रतिको आकर्षणकै कारण हाल धनकुटाबाट नेपालको ‘एकेडेमी’, ‘ए डिभिजन’ र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने आठजना खेलाडी चौबिसेबाट रहेका धनकुटा फुटबल सङ्घले जनाएको छ । धनकुटा फुटबल सङ्घका अध्यक्षसमेत रहनुभएका रारा क्लबका अध्यक्ष चेम्जोङले जिल्लाबाट गोलरक्षक किरण चेम्जोङ, खेलाडीहरू बुद्ध चेम्जोङ, सुजल श्रेष्ठ, अनुप सुब्बा, पदम भट्टराई, सिर्जना चेम्जोङ र राजु योगी नेपालका ‘ए’ डिभिजन क्लबबाट खेल्ने खेलाडी रहेका जानकारी दिनुभयो ।

“गोलरक्षक चेम्जोङले नेपालका सबै ‘ए’ डिभिजन खेलिसकेर हाल भारतको इन्डियन सुपर लिगमा खेलिरहेका छन् । बुद्ध चेम्जोङ मच्छिन्द्र क्लबको प्रतिनिधित्व गर्दै हाल फ्रेन्च क्लबमा खेलिरहेका छन् भने सिर्जना चेम्जोङ एपिएफबाट खेल्दै हाल अस्टे«लियाको एक फुटबल क्लबबाट खेलिरहेका छन्”, उहाँले भन्नुभयो । सुजल श्रेष्ठले अष्टे«लियाको एक फुटबल क्लबबाट, अनुप सुब्बा पुलिस क्लब, पदम भट्टराई खुमलटार फुटबल क्लब र राजु योगी एपिएफबाट खेलिरहेका अध्यक्ष चेम्जोङले बताउनुभयो । 

उहाँका अनुसार एन्फा रेफ्रीका रूपमा कार्यरत मिलन लिम्बू, तुफान चेम्जोङ, रुसी चेम्जोङ र मयस मल्लिकले धनकुटाबाट राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गरिरहेका छन् । “१६ वर्ष उमेर समूहबाट दिलेन लिम्बू सङ्कटा क्लबको एकेडेमीमा र धिरज बिक १७ वर्ष उमेर समूहबाट फुटबल खेलिसकेका खेलाडी हुन्”, अध्यक्ष चेम्जोङले भन्नुभयो । उहाँका अनुसार जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडीमध्ये श्रेष्ठ, भट्टराई, लिम्बू, योगी र मल्लिकबाहेक अन्य सबै चौबिसे गाउँपालिकाबाट प्रतिनिधित्व गर्दछन् । 

फुटबलबाट राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्ने खेलाडीका कारण यस क्षेत्रको खेलकुद पूर्वाधार निर्माण तथा खेलप्रति आकर्षण बढेको उहाँको भनाइ थियो । वि.सं.२०५१ देखि गाउँपालिकामा जिल्लाकै ठुलो क्लबका रूपमा स्थापना भई रारा फुटबल क्लबले प्रतियोगिता गर्दै आएको छ । यस पटक पालिकासँग समन्वय गरी खेलकुदसँगै पर्यटन क्षेत्रको पनि प्रवर्द्धन गर्ने उद्देश्यले खेलकुद पर्यटनको सुरुआत गरिएको बताइएको छ ।

पालिकाको सहयोगमा यस वर्षदेखि खेल पर्यटनका गतिविधि गर्न थालिएको जनाउँदै अध्यक्ष चेम्जोङले मङ्सिरमा तीनदिने खाना महोत्सवसहित प्रथम चौबिसे अन्तर्राष्ट्रिय आमन्त्रण रारा भेट्रान फुटबल कप सम्पन्न गरिसकिएको जानकारी दिनुभयो । खेलकुद पर्यटनको विकासका लागि पालिका क्षेत्रमा खेल भएको समयमा क्लबले देशभरिका विभिन्न संस्थालाई आमन्त्रण गर्ने गरेको उहाँले बताउनुभयो । 

चेम्जोङका अनुसार उहाँका अनुसार यहाँ विभिन्न पर्व र मेलाहरूमा हुने फुटबल खेलमा कृषि मेला तथा महोत्सवको आयोजन गर्ने गरिएको छ । आगन्तुक खेलाडी तथा खेलप्रेमी पाहुनालाई स्थानीय कृषि उत्पादनबाट बनेका खाने परिकारहरू खुवाउने गरिएको उहाँको भनाइ थियो । आगामी दिनमा पर्यटन प्रवर्द्धनका लागि थप योजनाहरू ल्याइने भन्दै चेम्जोङले भन्नुभयो, “हामी जति सक्छौँ आगन्तुक पाहुनाहरूलाई स-शुल्क वा निः शुल्क बसोबास तथा खानपानमा सहयोग गर्नेछौँ ।” 

यहाँको खेल क्षेत्रको विकासका लागि सबै स्थानीय तहले सहयोग गरिरहेका जनाउँदै नौबिसेले सबैभन्दा बढी आर्थिक सहयोग गरेको बताउनुभयो । “यहाँ हुने अधिकांश खेलमा आधाभन्दा बढी रकम गाउँपालिकाले दिँदै आएको छ । जिल्ला र पालिकास्तरीय खेललाई निरन्तरता दिँदै क्लबले खेल तालिकाअनुसार सबै उमेर समूहको फुटबल, ब्याटमिन्टन, भलिबललगायत प्रतियोगितालाई निरन्तरता दिनेछ”, चेम्जोङले भन्नुभयो । 

पालिकाले यस वर्ष क्लबका लागि २५ लाख बराबरको अक्षयकोष निर्माणका लागि अनुदान दिएको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०८०/८१ मा ५३ करोड ९० लाख ५७ हजार कूल बजेट रहेकामा १६ करोड ३२ लाख ३६ हजार पुँजीगत बजेटबाट खेलकुद क्षेत्रका लागि ५७ लाख २० हजार विनियोजन गरेको पालिकाका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार यो रकम जिल्लाका अन्य सात स्थानीय तहले खेल क्षेत्रका लागि छुट्याएको रकममध्ये सबैभन्दा धेरै हो ।

खेल पर्यटन विकासका लागि यहाँ खेलाइने खेललाई प्रत्येक वडामा पालैपालो सञ्चालन गरेर स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तुका साथै स्थानीय खानाको प्रवर्द्धन गरिने अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । “खेलकुद र खानालाई जोडेर खेलकुद पर्यटनको विकास गर्ने हाम्रो मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो । हाल अनौपचारिक रूपमा खेल पर्यटनको कार्यक्रम सुरु भए पनि आगामी वर्षदेखि गाउँपालिकाको आफ्नो नीति तथा कार्यक्रममा नै समावेश गरेर अघि बढ्ने अध्यक्ष लिम्बूको भनाइ थियो । 

उहाँले राष्ट्रपति कप, अध्यक्ष कप तथा यस क्षेत्रका विभिन्न पर्व र अवसरमा आयोजना हुने खेलकुद कार्यक्रमलाई क्रमशः फरक पालिकामा सञ्चालन गरिने बताउनुभयो । फुटबल तथा अन्य खेलका अवसरमा यहाँ आउने पाहुनालाई स्थानीयस्तरमा उत्पादित फलफूल, तरकारी, खानका परिकार खुवाउनुका साथै स्थानीय कला संस्कृतिका बारेमा जानकारी दिने गाउँपालिकाका अध्यक्ष लिम्बूले बताउनुभयो । 

यसले चौबिसे क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नाका साथै खेल क्षेत्रको विकासमा राज्यलाई सहयोगसमेत पुग्ने उहाँको भनाइ थियो । खेल पर्यटनमा जोडिएर यहाँ आउने पर्यटकले सेनकालीन शासन कालका विभिन्न राजा-रजौटा र लिम्बू जातिका ऐतिहासिक स्थलको अवलोकन गर्नुका साथै सदाबहार हरियाली वातावरणको आनन्द लिन पाउनेछन् । तालैतालको आधारशिला रहेको यस पालिकामा ताल, झरना, नदी र यहाँको चुरे पहाडबाट हिमाल, पहाड र तराईका दृश्यावलोकन गर्न पाउने अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । रासस