• २३ वैशाख २०८१, आइतबार

बाख्रापालक किसानलाई बजारको समस्या

blog

फाइल तस्बिर ।

अमरराज नहर्की 

तनहुँ, मङ्सिर २७ गते । तनहुँ जिल्ला बाख्रा पालन व्यवसायको लागि उपयुक्त जिल्ला मानिन्छ । वन जङ्गल तथा प्रशस्त घाँसेमैदान भएकोले बाख्रा पालनको लागि राम्रो रहेको  कृषकको भनाइ छ तर यहाँका किसानले उत्पादन गरेको बाख्रा बिक्री हुन सकेको छैन । 

लगानी तथा मिहिनेत अनुसारको आम्दानी लिन नसकेको गुनासो यहाँका कृषकको छ । बजारीकरण, प्रोत्साहन तथा व्यावसायिक धारणाको अभावले गर्दा किसानहरू समस्यामा परेको नेपाल व्यावसायिक बाख्रापालक महासङ्घ केन्द्रीय सदस्य तथा तनहुँका अध्यक्ष कुशल अधिकारीले बताउनुभयो । किसानले मासु उत्पादनको लक्ष्य लिएर व्यावसायिक रूपमा पशुपालन गरिरहेको भएपनि भारतबाट लुकी छिपी ठुलो परिमाणमा बाख्रा आयात हुने गरेकाले बिक्रीको समस्या परेको अधिकारी बताउनुहुन्छ । 

ग्रामीण भेगमा प्रशस्त मात्रामा बाख्रा पालन गर्न सकिने भएपनि बजारमा उत्पादन लागतभन्दा कममा बिक्री गर्नुपर्दा कृषकहरू मर्कामा परेको बाख्रा पालक महासङ्घ तनहुँका पूर्व अध्यक्ष मानबहादुर भण्डारीले बताउनुभयो । भारतका किसानले अनुदान धेरै पाउने, बैङ्कको व्याज कम तिर्नुपर्ने, आहारा पनि सर्वसुलभ पाइने भएकोले त्यहाँ सस्तोमा पाइने भएकोले नेपाली किसानले प्रतिस्पर्धा गर्न नसकेको भण्डारीले बताउनुभयो । तनहुँमा प्रतिकिलो जिउँदो पाँच सय ५० रुपियाँमा बिक्री गर्नुपर्ने भएकोले लागत मूल्य नपाउने हुँदा किसान मर्कामा परको गुनासो भण्डारीले गर्नुभयो । नेपालमा दाना, मकै तथा चोकरको मूल्य वृद्धि हुने तर मासुको मूल्य घटाएर बेच्नु पर्दा बाख्रा पालन गर्ने कृषकहरू पेसाबाट पलायन हुँदै जानु पर्ने अवस्था आएको भण्डारीले बताउनुभयो । 

सरकारले उपयुक्त वातावरण मिलाई बजारको सुनिश्चित गर्नुपर्ने बाख्रा पालक महासङ्घ केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रकाश मल्ल टाईसनले बताउनुभयो । राष्ट्रपति कृषक पुरस्कार प्राप्त गर्नुभएका मल्लले एक हजार पाँच सयमा प्रतिकिलो बोयर माउ बेच्दै आएकोमा हाल ६ सय रुपियाँमा बिक्री गर्नुपर्ने बाध्यता भएपछि व्यवसाय छाड्ने निष्कर्षमा पुगेको बताउनुभयो । दुई करोड भन्दा बढी लगानी गर्नुभएका मल्लले माउ बाख्रा बेच्न भन्दा पनि खसीको सुकुटी र अचार बनाएर बिक्री गर्ने सोचाई रहेको बताउनुभयो । तारे होटलमा खसीको सुकुटी र अचार माग धेरै हुनेभएको बाख्रा खरिद गरी व्यवसाय सञ्चालन गर्ने सोचाई रहेको बताउनुभयो । भारतबाट खसी बोका रोक्ने हो भने बजारीकरणका लागि सहजता हुने महासङ्घले जनाएको छ । 

बाख्रा पालक कृषकका समस्या समाधानको लागि गण्डकी प्रदेशका व्यावसायिक बाख्रा पालक किसानहरूको भेला बुधबार पोखरामा गरिएको छ । भेलाले नाफाको सुनिश्चित हुने खरी किसानको हरेक उत्पादन सरकारले किन्ने र उपभोक्तालाई सहुलियत केन्द्र खोली विक्री वितरण गर्नुपर्ने भेलाका प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष मल्लको भनाइ थियो । भेलामा सहभागी अधिकांश किसानले खसी तथा बोका सहज रूपमा बिक्री नहुने र उपयुक्त मूल्य पनि पाउन नसक्दा व्यवसाय सञ्चालन गर्न नसकिने अवस्था आएकोले आन्दोलनमा जानुपर्ने माग धारणा राखेका थिए । सरकारले अनुदानको कार्यक्रम सञ्चालन गर्दा अनुगमन तथा प्राथमिकतालाई कडाइका साथ पालन गराउनु पर्ने आवश्यक रहेको कृषकहरूको ठहर छ ।