गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रयोग गरी तेस्रो मुलुक जाने भारतीय यात्रुका लागि यात्रा अनुमतिपत्र (एनओसी) अनिवार्य गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यसचिव एकनारायण अर्यालसहित गृह मन्त्रालय, अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग, राहदानी विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सूचना प्रविधि मन्त्रालयलगायतका उच्च अधिकारीको बैठकले एनओसी अनिवार्य गर्ने निर्णय गरेको थियो ।
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले भारतीय नागरिकका लागि एनओसी अनिवार्य गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अध्यागमन प्रयोग गर्ने दोस्रो मुलुकका नागरिकका हकमा विगतमा एनओसी अनिवार्य थिएन । अहिले अनिवार्य गरी त्यसको पूर्ण विवरण सुरक्षित राख्ने निर्णय भएको छ ।”
भिजिट भिसाको आवरणमा नेपालीसँगै ठुलो सङ्ख्यामा भारतीय नागरिकसमेत बाहिरिएका विवरण सार्वजनिक भएपछि काठमाडौँस्थित भारतीय दूतावासले पनि चासो देखाएको थियो । भिजिट भिसाको आवरणमा विमानस्थलबाट हुने गरेको मानव तस्करीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।
भारतीय नागरिक तेस्रो देशको भ्रमण अनुमति दिँदा एनओसी अनिवार्य गरी अन्य आवश्यक कागजको डिजिटल प्रतिलिपि सुरक्षित राख्न थालिएको छ । अध्यागमन विभागको तथ्याङ्कमा पछिल्लो आठ वर्षमा ७५ हजारभन्दा बढी भारतीय नागरिक त्रिवि अध्यागमन प्रयोग गरी तेस्रो मुलुक पुगेको पाइएको हो ।
विश्वका हरेक देशको अध्यागमन प्रयोग गरी दोस्रो देशका नागरिक तेस्रो मुलुक आउजाउ गर्नु सामान्य रहे पनि सम्बन्धित देशको अनुमतिबिनै एनओसी तथा ‘ट्राभल एड्भाइजरी’ बिनै भ्रमण अनुमति दिँदा राष्ट्रिय सुरक्षामै असर पर्न सक्ने भन्दै विज्ञबाट चिन्ता व्यक्त भइरहेको थियो ।