• २० असोज २०८१, आइतबार

२६४ वटा बस बिसौनी निर्माण गर्दै काठमाडौं महानगर

blog

काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीबिच समन्वय तथा सहकार्यसम्बन्धी आयोजित अन्तरक्रिया । तस्बिर : काठमाडौं महानगर

काठमाडौं, मङ्सिर २७ गते । काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना बनाएको छ ।यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ् लाइट विस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक सङ्केत र चिह्न व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारी गरेको छ ।

यससँगै दैनिक उपभोग्य बस्तुको ढुवानी, मालबाहक सवारी, विद्यालयका बसहरुको समय निर्धारण गर्ने, पार्किङ् व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणालीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुनेछन् । २९ औँ महानगर दिवस २०८० का अवसरमा आज महानगरपालिकामा आयोजना गरिएको महानगरपालिका र ट्राफिक प्रहरीबिच समन्वय तथा सहकार्यसम्बन्धी अन्तरक्रियामा यससम्बन्धी जानकारी दिइएको हो ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले, सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को पहिलो बैठक सम्पन्न भइसकेको जानकारी गराउँदै सम्बद्ध कार्यालयहरुसँग सहकार्य अगाडि बढाइएको बताउनुभयो । अहिले सानातिना सुधारका काम गर्दा प्रणालीमा सुधार आउँछ भने त्यहाँबाट सहकार्य थालौँ । अधिकारीको भनाइ थियो । काठमाडौंमा अटो रिक्सा, इरिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाउने उहाँको भनाइ छ ।

अन्तरक्रियामा प्रस्तुतीकरण गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक पोषराज पोखरेलले महानगरपालिकासँगको सहकार्यमा जनशक्तिमा प्रोत्साहन बढ्ने, प्रणालीमा सुधार हुने काम गर्न सकिने बताउनुभयो । बागमती, विष्णुमती, धोवीखोला र मनोहरा करिडोरलाई दुईतर्फी सञ्चालन गराउन पाए सवारी चाप गराउन सकिने बताउँदै पोखरेलले, यसका लागि महानगरपालिकाको भूमिका आवश्यक रहेको बताउनुभयो ।

यातायात प्रणाली सुधारका विषयमा प्रस्तुतिकरण गर्दै महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले सङ्केत चिह्नहरु मिलाउन तत्काल काम थाल्नुपर्ने बताउनुभयो । यस्ता चिह्नहरु आधिकारिक निकायले मात्र राख्नुपर्ने, अध्ययन गरेर मात्र राख्नुपर्ने भएकोले महानगरपालिकाले यसतर्फ काम गरिरहेको उहाँको भनाइ थियो ।

‘‘यस्ता चिह्नहरु देखिने हुनुपर्छ । स्पष्ट हुनुपर्छ । बुझ्न सजिलो हुनुपर्छ । प्रोत्साहन दिने खालका हुनुपर्छ ।,’’ श्रेष्ठले भन्नुभयो, ‘‘प्रणाली सुधार गर्न धेरै काम गर्नुपर्नेछ । यस वर्ष यातायात क्षेत्रको सुधारका लागि ४४ करोड रुपियाँ छुट्याएर काम भइरहेको छ ।’’

अन्तरक्रियामा विभिन्न ट्राफिक पोष्टमा बसेर काम गरिरहेका इञ्चार्जहरुले आफ्नो क्षेत्रको अवस्थामा विषयमा जानकारी गराउनुभएको थियो ।

अन्तरक्रियापछि प्रमुख प्रशासकीय अधिकृत अधिकारीले अतिरिक्त महानिरीक्षक पोखरेललाई ट्राफिक प्रहरीलाई प्रयोग गर्न ५०० वट्टा मास्क र ५०० वटा चस्मा प्रदान गर्नुभयो ।