• १५ मंसिर २०८१, शनिबार

लोप हुँदै ठाँटी, पौवा र धर्मशाला

blog

व्यास नगरपालिका–६ शिसाघाटमा रहेको ठाँटी । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, मङ्सिर २६ गते ।
पुण्य प्राप्त हुने विश्वासमा, सामाजिक काम गर्न पाटीपौवा, ठाँटी र धर्मशाला निर्माण गर्ने  र पिउनका लागि पानी राखिदिने परम्परा हाल हराउन थालेको छ । नयाँ नबनाउने र पुरानोका संरक्षण नगरिएकाले पाटीपौवा र धर्मशाला विरलै देखिने गरेको छ । संरक्षणको अभावले गर्दा तनहुँका सहरी तथा ग्रामीण क्षेत्रमा धार्मिक तथा वातावरणीय महत्त्वका पाटीपौवाको अस्तित्व सङ्कटमा परेको छ ।

वातावरणीय दृष्टिकोणले राम्रो, ढुङ्गाको छानो, ढुङ्गा र माटोको गारो तथा काठहरु प्रयोग गरिएका पाटीपौवा, ठाँटीहरू पछिल्लो समय संरक्षणको अभावमा लोप हुँदै गएका छन् । पहिले हरेक गाउँ र बस्तीका बाटोघाटोको छेउमा पाटीपौवा हुने गरेको भए पनि हाल सडक बिस्तारले समेत कतिपय पाटी पौवा भत्किने गरेका छन् । पुर्खाले बनाएका पाटीपौवा, ठाँटी र धर्मशाला पछिल्ला पुस्ताले भत्काउने गरेको कतिपयको भनाइ छ ।


ठाँटी बटुवाले बास बस्ने एवम् मेला भरेर आएका किसानहरूले समेत थकाइ मार्ने ठाउँ हो । असिना, पानी परेको बेला यात्रुलाई ओत लाग्न, धार्मिक तथा सामाजिक कार्यमा सहज होस् भन्ने उद्देश्यले यस्ता संरचनाहरूको निर्माण गरिन्थ्यो । सडक सञ्जाल नजोडिएको र होटल सुविधा नभएको समयमा बटुवा र तीर्थयात्रीका लागि पाटीपौवा र धर्मशाला अनिवार्य आवश्यकता हुने गरेकोमा बजार होटल र गाउँमा होमस्टे भएकोले लोप हुने अवस्थामा पुगेको भानु नगरपालिका–५ पुरनडिही निवसी भरत पोख्रेल बताउनुहुन्छ । पाटीपौवाको वातावरणीय तथा धार्मिक महत्त्व भएकाले यसको संरक्षण गर्नुपर्ने पोख्रेलले बताउनुभयो । पहिले हरेका गाउँ र बस्तीका बाटोघाटोको छेउमा पाटीपौवा हुने गरेको हाल भत्किएर कमै मात्रामा देखिने गरिएको पोख्रेलले बताउनुभयो ।

राति बास बस्न समेत प्रयोग गर्न मिल्ने गरी बाटोहरुको छेउमा तथा तनहुँको धार्मिक स्थलहरु देवघाट, व्यास तथा पराशर क्षेत्र, थानीमाई, छाब्दीवाराही, ढोरबाराही, विभिन्न ठाउँमा निर्माण गरिएका धर्मशाला र ठाँटीहरु संरक्षणको अभावमा सङ्कटमा पर्दै जान थालेको दमौलीस्थित व्यास गुफाका संरक्षक शान्तिस्वरुपानन्द दामोदर बाबा बताउनुहुन्छ । पार्टीपौवा तथा चौतारोको संरक्षण गरिनुपर्छ, आर्थिक अभावले होटलमा बस्न नसक्ने मानिसहरुले धर्मशालामा बस्न पाउनुपर्छ भन्ने उद्देश्यले विभिन्न व्यक्तिहरुबाट दान सङ्कलन गरेर व्यास गुफा परिसरमा धर्मशाला निर्माण गरेको उहाँले बताउनुभयो । नेपाली कला तथा पहिचान झल्काउने सालको काठमा बुट्टाहरु कुँदिएका, कलात्मक ठाँटीपौवाहरु समेत संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ ।


धार्मिक भावाना जागृत गर्न यस्ता सम्पदाको संरक्षण हुन जरुरी भानु नगरपालिका–१३ निवासी इन्द्रजङ्ग गुरुङ बताउनुहुन्छ । पानीको मुहान नसुकोस् बटुवा, विद्यार्थी, गोठालालाई चिसो हावा खान र थकाई मेटाउन सजिलो होस् भनेर आफ्नो गाउँमा रहेका अरनिको मावि अगाडि डेढ लाख रुपियाँ खर्च गरेर चौतारी निर्माण गरेको गुरुङले जानकारी दिनुभयो ।

कुनै वेला सञ्चारको विकास नहुदा ठाँटी र चौतारीमा बसेर मनको बह पोख्ने प्रचलन थियो  । साथी भेट्न र भलाकुसारी गर्न यही कुरेर वस्ने चलन थियो । सडकले गाउँ छोएपछि पदमार्ग र चौतारी तथा पोखरीसँगको मानव सम्बन्ध हराउँदै गएको छ । एक दशक अघिसम्म पनि ग्रामीण क्षेत्रमा धर्मशाला, पाटीपौवाको प्रयोग प्रचलनमा थियो तर, हाल धेरैजसो ठाउँमा निर्माण गरिएका पाटी पौवा र धर्मशाला जीर्ण बनेका छन् । त्यस्ता ऐतिहासिक महत्त्व बोकेका संरचनाको संरक्षणमा स्थानीय सरकार र सरोकारवालाको समेत ध्यान नपुगेको स्थानीयको गुनासो छ । बास बस्नका लागि पाटीपौवा, धर्मशाला, थकाइ मार्न र भारी बिसाउन चौतारी निर्माण गरिन्थ्यो भने प्यास मेटाउनका लागि धर्मशालामा माटोको घैटो निर्माण गरेर चिसो पिउने पानी राखिदिने चलन थियो । तर अहिले यो चलन हराएको प्रति बुढापाका चिन्तित छन् ।