• १२ साउन २०८१, शनिबार

सांस्कृतिक डबली नगरपालिकालाई हस्तान्तरण

blog

डबली हस्तान्तरण कार्यक्रममा सहभागीहरू । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, मङ्सिर २५ गते । निर्माण सम्पन्न भएको डेढ वर्षपछि श्रीनगर सांस्कृतिक डबली तानसेन नगरपालिकालाई हस्तान्तरण गरिएको छ । निर्माण सकेर पनि डबली सञ्चालनमा नआउँदा संरचनामा झार उम्रिएका थिए । 

लुम्बिनी प्रदेश सरकारको छ करोड ८२ लाख ५६ हजारमा तानसेनको बतासेमा सांस्कृतिक डबली बनाइएको थियो । डबली लामो समयसम्म सञ्चालन हुन नसकेको भन्दै सर्वसाधारणले आलोचना गरेका थिए । 

जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिका कला संस्कृति डबलीभित्र देखाएर आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य अनुसार यसको निर्माण गरिएको थियो । निर्माण सम्पन्न भएको डबलीको साँचो मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तानसेनका नगरप्रमुख सन्तोषलाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । 

तानसेनको कला संस्कृति र पर्यटनको संरक्षण, प्रवर्धन गर्न स्थानीय सरकारलाई डबली हस्तान्तरण गरिएको मुख्यमन्त्री चौधरीले बताउनुभयो । नगरप्रमुख सन्तोषलाल श्रेष्ठले प्रदेश सरकारले दिएको जिम्मेवारीलाई स्थानीय सरकारले प्रथामिकताका साथ अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । प्रदेश सरकारका सभामुुख तुलाराम घर्ती (बसन्त)ले डबलीको अधिकतम प्रयोग गरी फाइदा लिन नगरपालिकालाई आग्रह गर्नुभयो । 

वि.सं. २०७६ असारदेखि सुरू भएको डबली चार वर्ष लगाएर सम्पन्न भएको थियो । स्थानीय कला संस्कृतिको संरक्षणसँगै स्वदेशी र विदेशी पर्यटकलाई डबलीमा मनोरन्जन दिलाउने उद्देश्यले राखिएको नगर उपप्रमुख प्रतीक्षा सिङ्जालीले बताउनुभयो ।