• १२ साउन २०८१, शनिबार

न्यु वेष्ट प्वाइन्टलाई जेसीज कप उपाधि

blog

जेसीज कपको उपाधि जितेपछि वेष्ट प्वाईन्टका खेलाडी । तस्बिर : गोरखापत्र

अमृतप्रसाद पौडेल

म्याग्दी, मङ्सिर २४ गते । म्याग्दीको बेनीमा सम्पन्न २१औँ जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालयस्तरीय जेसीज कप फुटबल प्रतियोगिताको उपाधि न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ ।

प्रतियोगिताको आइतबार सम्पन्न फाइनल खेलमा माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयलाई पराजित गर्दै न्यु वेष्ट प्वाइन्टलेले छैटौँ पटक उपाधिमाथि कब्जा जमाएको हो । फाइनल खेलको निर्धारित समयसम्म कुनै पक्षबाट पनि गोल हुन नसकेपछि खेल ट्राइब्रेकरबाट विजेता टोलीको टुङ्गो लगाइएको थियो ।

प्रतियोगिताको सेमिफाइनल खेलमा हेम माध्यमिक विद्यालय सिवाङलाई पराजित गर्दै माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालय बेनी फाइनलमा पुगेको थियो भने बेनी सामुदायिक माध्यमिक विद्यालयलाई पराजित गर्दै न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयले फाइनल यात्रा तय गरेको थियो ।

सेमिफाइनल खेलमा माउण्ट एभरेष्टले हेम माध्यमिक विद्यालयलाई ट्राइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश थियो । त्यसैगरी बेनी सामुदायिक माध्यमिक विद्यालयलाई २–० गोल अन्तरले पराजित गर्दै न्यु वेष्ट प्वाइन्टले माउण्ट एभरेष्टसँगको भेट पक्का गरेको थियो ।

म्याग्दी जेसीजको आयोजना र राम–विमला फाउण्डेशनको मुख्य प्रायोजनमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा जिल्ला भित्रका २३ वटा विद्यालयले सहभागिता जनाएका थिए । कोभिड–१९ को कारणले गर्दा केही संस्करण रोकिएको भए पनि अन्य अवस्थामा भने जेसीजकप फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

खेल सम्पन्न भई सकेको भए पनि पुरस्कार वितरण बाँकी छ । यसैबिच म्याग्दी जेसीज र बागलुङ जेसीजबिच भएको मैत्रीपूर्ण खेलमा म्याग्दी जेसीज विजयी भएको छ । निर्धाँरित समय २–२ गोलको बराबरीमा सकिएपछि भएको ट्राइब्रेकरमा ४–३ गोल अन्तरले बागलुङलाइ पराजित गर्दै म्याग्दी विजयी भएको हो ।